Breaking News

टुँडिखेल घटना त सानो झलक मात्र हो, श्रीलंका र बंगलादेशपछिको उदाहरण बन्न सक्छ नेपाल !

पाँच–छ दशकअघि सत्तामा बसेकाहरु आफ्नो वेश बदलेर वा पहिचान परिवर्तन गरेर जनताको घरमा पुग्थे । उनीहरु आफैं बजारमा पुगेर त्यहाँ के भइरहेको छ ? महँगी कस्तो छ ? सर्वसाधारणको घरमा चुलो बलेको छ कि छैन ? भनेर अनुगमन गर्थे । त्यतिबेला नेपाललाई दुई ढुंगाबीचको तरुल भनिन्थ्यो । किनकि एकतर्फ चीन त अर्कोतर्फ भारत छ ।

सो समयमा पनि खेतीयोग्य जमिन मास्न नहुने बताइन्थ्यो । खेतीयुक्त जमिनमा घर तथा बाटो बनाउन नहुने त्यतिखेरका सत्ता सञ्चालकहरुको भनाइ थियो । त्यसैले, उक्त समयमा घर डाँडाकाँडा वा उब्जनी नहुने जमिनमा मात्र बनाइन्थ्यो । यता, घुस लिने र दिने दुवै देशका शुत्र हुन् भनिन्थ्यो । र, यस्तो कसुर गरेको पाइएमा दुवैलाई कारबाही गरिन्थ्यो ।

दशकअघि नेपालमा राणाशासन वा राजतन्त्र थियो । यद्यपि, सो समयमा राज्य चलाउनेहरुले भारत र चीनलाई नेपालको एक इन्च पनि भूभाग मिच्न दिएका थिएनन् । आफ्नो राष्ट्रको सुरक्षा र रक्षा गर्न उनीहरु आफ्नो ज्यानै फ्याल्न समेत तयार हुन्थे । अर्कोतर्फ, विदेशी ऋण नेपालको एक सुको पनि थिएन । नेपालीहरु अन्य मुलुकमा श्रम गर्न पनि जान्न थिए ।

देशमा विभिन्न मितिमा राजनीतिक परिवर्तन भयो । त्यो पनि जनआन्दोलनले नै । वर्तमान सरकारमा मुलुकको प्रधानमन्त्रीमा नेकपा एमालेका अध्यक्ष केपीशर्मा ओली छन् । नेपाली काँग्रेसकी नेतृ एंव पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा पत्नी डा.आरजु राणा परराष्ट्रमन्त्री छिन् । त्यस्तै, विष्णु पौडेल अर्थमन्त्री र रमेश लेखक गृहमन्त्री छन् । अहिले सत्तामा बसेकाहरु कँही हिड्नुपरेमा झण्डावाला गाडीमा हिँड्छन् ।

अगाडि पछाडि सुरक्षाकर्मीको तीन–चार वटा गाडी हुन्छ । अनि एम्बुलेन्स जसरी साइरज बजाइन्छ । अहिले उच्च पदस्थको सुरक्षामा खटिएका नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाले जनताले तिरेको करबाट तलबभत्ता खान्छन् । उनीहरुले लगाउने पोशाक पनि जनताले नै तिरेको करबाट आएको हो । अर्कोतफृ, उनीहरुले जागिर खाने समयमा नेताको होइन, देश र जनताको सुरक्षा गर्छु भनेर कसम खाएका हुन्छन् ।

अहिले मुलुककै प्रधानमन्त्रीमाथि निकै गम्भीर आरोप छ । झापाको गिरीबन्धु टु स्टेटको सरकारी जग्गा उनीसहितले व्यकितको नाममा पास गरेको आरोप छ । राज्यको सम्पत्तिको दोहनको आरोप लागेका व्यक्ति नै देशको प्रधानमन्त्री भएपछि कसरी सरकारी, सार्वजनिक सम्पत्तिको सुरक्षा हुन्छ भनेर हामी सर्वसाधारणले विश्वास गर्ने ?

अन्य मुलुकमा भ्रष्टाचारको आरोप लागेका व्यक्तिलाई मन्त्री बनाएको भन्दै प्रधानमन्त्रीलाई समेत पदबाटै बर्खास्त गरेको उदाहरण छ । तर, हाम्रो देशमा त काण्डै काण्डमा मुछिएका व्यक्तिहरु मात्र मन्त्री, प्रधानमन्त्री बनेका छन् । विडम्बना, हामी सर्वसाधारण जनता केही गर्न सक्दैनौं । अर्थमन्त्री विष्णु पौडेलमाथि बालुवाटारको आठ आना सरकारी जग्गा आफ्नो छोराको नाममा पास गरेको आरोप छ ।

परराष्ट्रमन्त्री आरजुलाई नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिकामा तस्करी गरेको आरोप लागेको छ । देशभरीका सरकारी, सार्वजनिक र गुठीका जग्गा दर्ता गरेर खाने यीनीहरु नै हुन् । नेपालको भूभाग छिमेकी देशहरुलाई बेच्ने पनि यीनीहरु नै हुन् । ६५ अर्बका लागि नेपाल अमेरिकालाई बेच्न एनसीसी पारित गर्ने पनि यीनीहरु नै हुन् ।

जनताले तिरेको कर झवाम बनाउने पनि यीनीहरु नै हुन् । विदेशमा रगत पसिना बगाएर हाम्रा नेपाली दाजुभाई, दिदीबहिनी, आमाबुबाले पठाउनुभएको रेमिट्यान्स पचाउने पनि यीनीहरु नै हुन् । नेपाल धितो राखेर विदेशीसँग २७ खर्ब ऋण ल्याएर मोजमस्ती गर्ने पनि यीनै हुन् । अहिले प्रत्येक नेपालीको टाउकोमा लाखौं रुपैयाँ विदेशी ऋण छ । जबकी हामी जनताले भने कहिले एक छाक मिठो पनि खान पाएनौं ।

देशमा रोजगारी नभएपछि नेपाली युवाहरु विदेशिन बाध्य भएका छन् । वर्षेनी लाखौंको संख्यामा नेपालीहरु विदेशिन्छन् । तर, मुलुकमा रोजगारी सिर्जना गर्नुको साटो सत्तामा बसेकाहरु अब कुन देशसँग श्रम सम्झौता गरेर युवा पठाउने ? भनेर सोचिरहेका भेटिन्छन् । नेपालीलाई भेडाझैं विदेशमा बेचिरहेका छन्, यीनीहरु ।

मीटरब्याजका कारण हजारौं सर्वसाधारणको उठीबास भयो । फेरि पर्दाभित्र बसेर मीटरब्याजमा पैसा लगाउने पनि राजनीतिक दलका नेता तथा कर्मचारीहरु नै हुन् । यता, सहकारी खोलेर सर्वसाधारणको पैसा लिएर भाग्ने पनि यीनकै कार्यकर्ता हुन् । यतिसम्म कि बैंकदेखि दलालीसम्ममा यीनीहरुकै लगानी छ । अनि आफ्नो काम नभएको अवस्थामा गुण्डा लगाएर धाकधम्की दिने पनि दल र तिनका नेता, कार्यकर्ता नै हुन् ।

केपी ओली, शेरबहादुर देउवा, माधवकुमार नेपाल, पुष्पकमल दाहाल प्रचण्ड, रवि लामिछानेलगायतले सोचेका थिए कि नेपालमा जनता नै छैनन् । त्यसैले, यहाँ हाम्रो विरोध गर्ने कोही छैन । तर, हालसालै टुँडिखेलमा गौरा पर्व मनाउन पुगेका प्रधानमन्त्री ओली र काँग्रेस सभापति देउवाविरुद्ध चर्को नाराबाजी भयो । त्यहाँ उपस्थित सर्वसाधारणले उनीहरुलाई बोल्न समेत दिएनन् ।
यसले यो बुझिन्छ कि नेपालमा अझै जनता छन् । र, अब जनत जाग्दैछन् । हिजोसम्म यीनीहरुले सर्वसाधारणलाई ढाँटेर वा छलेर लुट्दै आएका थिए । तर, अहिले जनताले राजनीतिक दल र तिनका नेताहरुको असली रुप देखिसके । त्यसैले, अब हरेक सार्वजनिक कार्यक्रममा यीनीहरुविरुद्ध नाराबाजी हुनेछ । विरोधको आवाज उठ्ने छ ।

बंगलादेश र श्रीलंकामा जनता सडकमा उत्रिएपछि त्यहाँको सेनाले समेत जनताकै साथ दियो । अहिले हामी नेपालीहरु कामको लागि विदेशमा बेचिनुपरेको छ । विदेश गएका अधिकांश बाकसमा फर्किन्छन् । कामका लागि विदेश पुगेको आफ्नो छोराछोरा बाकसमा फर्किदा आमाबुबाको अवस्था के होला ? यो हामी कल्पना समेत गर्न सक्दैनौं ।

यतिमात्र नभई महँगी, बेरोजगारी अनि ऋणको बोझका कारण दिनानु दिन आत्महत्या गर्ने संख्या पनि बढिरहेको छ । खान नपाएकै कारण कतिपयले आफुसँगै आफ्नो परिवार पनि सिध्याएका छन् । तर, जनताले तिरेको करबाट तलबभत्ता खाएर सुरक्षाकर्मीहरु देश बेच्ने दलालीहरुकै अघिपछि हिँडिरहेका छन् । यसले समग्र नेपालीकै शीर निहुरिएको छ ।
यता, सुरक्षाकर्मीहरु भारत र चीनले कब्जा गरेको नेपालको भूभाग पनि फिर्ता ल्याउन सक्दैनन् । केही वर्षअघि धादिङमा कक्षा १० मा अध्ययनरत एक विद्यार्थीले जाँच दिन फिस तिर्न नसकेपछि आत्महत्या गर्यो । यो त एक मात्र उदाहरण हो । अहिले गरिबी, बेरोजगारीका कारण हरेक घरमा यस्ता घटना घटिरहेको पाइन्छ । कतै छोराछोरीले आत्महत्या गर्छन् त कतै आमाबुबाले ।

पछिल्लो समय बाटो, मठमन्दिरमा माग्ने पनि यत्तिकै भेटिन्छन् । अहिले घरघरमा माग्न आउन पनि धेरै छन् । तर, राज्य यीनीहरुलाई देख्दैन । यीनीहरुलाई शिक्षा, स्वास्थ्य, रोजगारीलगायतको व्यवस्था गरिदिदैँन । शिक्षक राम्रो भएमा विद्यार्थी पनि असल हुन्छ । एउटा मानिसको राम्रो र नराम्रो दुवै भविष्य निर्माणमा शिक्षकको भूमिका महत्त्वपूर्ण हुन्छ ।
त्यसैले, शिक्षक धैर्य र असल हुनुपर्छ । तर, शिक्षक आफु नपढाउने अनि विद्यार्थीलाई कुट्ने गरेमा त्यो विद्यार्थीको ज्यानै समेत जान सक्छ । अनि अन्य विद्यार्थीले त्यो शिक्षकबाट के सिक्ने ? त्यसरी नै अब राज्यको चौथों अंगको उपाधि पाएको सञ्चार माध्यम वा पत्रकारले पनि जनताले भागेका पीडा र राजनीतिक दलका कर्तृत बाहिर ल्याउनुपर्छ । सञ्चारकर्मीले दलको सदस्यता लिने होइन र देश र जनताको लागि कलम चलाउने हो ।

रुषा थापा