Breaking News

संविधानको प्रतिगामी संशोधन विरुद्ध तमलोपाको संघर्षको तैयारी

जनकपुरधामः १ गते भाद्र, तराई-मधेश लोकतान्त्रिक पार्टीले नेपाली काँग्रेस र नेकपा एमालेको गठबन्धनद्वारा षडयन्त्रपूर्वक गर्न खोजिएको संविधान संशोधनले समावेशी लोकतन्त्रलाई समाप्त गर्न खोजिएको भन्दै आफ्ना कार्यकर्ताहरुलाई सम्भावित संघर्षको निमित्त तैयार रह्न निर्देशन दिएको छ । आज तमलोपा केन्द्रिय कार्यालयको सभा कक्षमा आयोजित प्रशिक्षण कार्यक्रममा तमलोपाका नेताहरुले यस्तो निर्देशन दिए ।

तमलोपाद्वारा आयोजित प्रशिक्षण कार्यक्रमलाई सम्वोधनको क्रममा तमलोपा अध्यक्ष पूर्व राष्ट्रिय सभा सदस्य वृषेशचन्द्र लालले, -“नेपाली काँग्रेस र नेकपा एमालेको गठबन्धनद्वारा उल्लेखित संविधान संशोधनको अन्तर्य अग्रगामी परिवर्तनतिर र जनताले संविधानमा खोजेको संशोधन हुनु नभई समावेशी लोकतन्त्रको अहिले रहेको जे जस्तो स्थितिलाई पनि पछाडि ढकेल्न र प्रतिनिधिसभामा समानुपातिक प्रतिनिधित्वको माध्यमबाट सिमान्तिकरणमा रहेका मधेशी, थारु, आदिवासी-जनजाति, दलित आदिको सहभागिता समाप्त गर्न लक्षित रहेको” ठोकुवा गर्दै यस पश्चगामी षडयन्त्र विरुद्धको संघर्षको निमित्त तयार रहन आग्रह गर्नु भयो । “नेपाली काँग्रेस र नेकपा एमालेको गठबन्धन संविधानको कस्तो संशोधन चाहेको हो प्रष्टसंग आधिकारिक रुपमा अक्षरमा किन राख्दैन किनभने तिनको भित्री मनसुबा संविधानको प्रतिगामी संशोधन हो । बडो सुनियोजित तरीकाबाट जनतामा भ्रम छरिंदै छ र त्यसको निमित्त जनताको आँखामा छारो हाल्ने वातावरण बनाउन विदूषकहरु खटाइएको” अध्यक्ष लालको आरोप थियो ।

तमलोपाको बरिष्ठ नेता संविधान सभा सदस्य डा. विजयकुमार सिंहले प्रतिनिधि सभाको निर्वाचन पूर्ण समानुपातिक पद्धतिबाट हुनु पर्ने र निर्वाचन क्षेत्र प्रदेशहरुलाई तोक्नु पर्ने बताउँदै काँग्रेस-एमाले गठबन्धन प्रतिनिधिसभाबाट समानुपातिक प्रतिनिधित्व नै हटाउन खोजेको, संघीय संसदमा प्रदेश र स्थानीय तहको प्रतिनिधि सदन राष्ट्रिय सभाको मूल भूमिका नै समाप्त गर्न चाहेको र स्थायित्वको नाममा काँग्रेस र एमालेको ओलीगार्की अल्पतन्त्र कायम गर्न खोजेको बताउनु भयो । तमलोपाको वरिष्ठ नेता सिंहले संसदमा प्रतिनिधित्व गर्ने मधेश केन्द्रित भनिने दलहरु यस महत्वपूर्ण विषयमा चुप्पीका साथ सत्ता भोग गर्नुमा लागेको देख्दा दुख लागेको भन्दै तराई-मधेश लोकतान्त्रिक पार्टी यसको विरुद्ध खबरदारी र आवश्यक परे संघर्ष गर्नुबाट पछि नहट्ने भन्नु भयो ।

वर्चस्ववादीहरु स्थायित्वको कुरा गरे पनि उनीहरु अन्यहरुको सहभागिताले आत्तिएको वहाँहरूको भनाई थियो ।