Breaking News

शासन प्रणाली र नियामक संरचनाहरूका बीचमा परिमार्जन गर्नुपर्ने

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले शासन प्रणाली र नियामक संरचनाहरूका बीचमा परिमार्जन गर्नुपर्ने विषय धेरै रहेको बताएका छन्।

भ्रष्टाचार निवारण ऐन, २०५९ लाई संशोधन गर्न बनेको विधेयकका सम्बन्धमा बिहीबार राज्य व्यवस्था तथा सुशासन समिति बैठकमा बोल्दै उनले शासन प्रणाली र नियामक संरचनाहरूका बीचमा आवश्यक विषय सुधार गरी अघि बढ्न जरूरी रहेको बताए।

सरकारी निर्णय गर्ने विषयमा कर्मचारीतन्त्र र अख्तियार अनुसन्धानसँग सम्बन्धित विषयमा निकै जटिलता र पेचिलो महसुश हुने गरेको उनले बताए।

राज्य संरचनाका विभिन्न निकायका बीचमा आपसी तादात्म्य, तालमेल, एक अर्काको सहयोगको पूरक हुने गरी अघि बढ्ने वातावरण बनाउन आवश्यक रहेको उनले बताए।

भ्रष्टाचार निवारणको कुरा कानूनी वा प्राविधिक विषय मात्रै नभएको भन्दै सामाजिक, सांस्कृतिक चेतनासँग सम्बन्धित रहेको उनको भनाइ छ।

‘हाम्रो शासन प्रणाली र हाम्रा नियामक संरचनाहरूका बीचमा परिमार्जन गर्नुपर्ने, सुधार गर्नुपर्ने धेरै विषय छन्। यो हामी सबैले महशुस गरेका छौँ। मैले पनि कहीँ न कहीँ हाम्रो कर्मचारीतन्त्र, हाम्रो नियामक निकायहरू, अझ मुख्यतः अख्तियार अनुसन्धानसँग सम्बन्धित विषयमा निकै जटिलता र पेचिलो महशुस हुन्छ। मैले कार्यकारी प्रमुखको रुपमा काम गर्दै गर्दा हाम्रो अख्तियार प्रमुखसँग मैले धेरै छलफल गरेको छु। यसका समस्या र सुधारका बारेमा पनि छलफल गरेको छु,’ उनले भने।

उनले भ्रष्टाचार हदम्यादबारे पर्याप्त छलफल गरेर टुंगो लगाउनुपर्ने बताए।

‘एउटा हदम्याद भ्रष्टाचारसँग सम्बन्धित, कति समय राख्ने, वा समय नराख्ने भन्ने छलफल चलिरहेको छ। यसलाई पहिलाको प्रचलन भन्दा बढाउने, घटाउने वा नराख्ने विषयमा हामीले पर्याप्त छलफल गरेर टुंग्याउनु पर्छ। आयोगले मुद्दा दर्ता गर्नेबित्तिकै पदबाट निलम्वन हुने कुरा ठिक छ कि छैन, अदालतले अन्तिम कसुरदार हो भन्ने फैसलासम्म त्यो विषय टुंगिएको हुँदैन,’ उनले भने।

अध्यक्ष दाहालले भ्रष्टाचारसँग सम्बन्धित हदम्यादको समय कति राख्ने वा राख्दै नराख्ने भन्ने कुरालाई गहन रुपमा छलफल गरेर टुंग्याउनुपर्ने बताए।

(न्युज एजेन्सी नेपाल)

अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’