Breaking News

स्वास्थ्य बीमाको दायरा बढाएर ५ लाख रुपैयाँ पुर्‍याउने

स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले स्वास्थ्य क्षेत्र सुधारमा आफ्नो योजना प्रस्तुत गरेका छन् । मन्त्री पौडेलले पत्रकार सम्मेलन गर्दै बीमाको दायरा बढाएर ५ लाख रुपैयाँ पुर्‍याउने प्रस्ताव गरेका छन् ।

स्वास्थ्य बीमामा सबै नागरिक नसमेटिएका, उपचार लिन जाँदा सास्ती ब्यहोर्नुपरेको उल्लेख गर्दै मन्त्री पौडेलले स्वास्थ्य बीमालाई परिमार्जन गर्ने बताएका हुन् । हाल स्वास्थ्य बीमा मार्फत बीमितले १ लाख रुपैयाँसम्मको उपचार सुविधा पाउँदै आएका छन् ।

यसलाई बढाएर ५ लाख पुर्‍याउने योजना मन्त्री पौडेलले सुनाएका हुन् । स्वास्थ्य बीमामा आवद्धता बढाउन औपचारिक र अनौपचारिक क्षेत्रलाई समेत अनिवार्य गर्ने तयारी रहेको उनले बताए ।

‘आम्दानीको आधारमा प्रिमियम र सहभुक्तानीको प्रणालीलाई व्यवस्थित र वैज्ञानिक बनाउन बीमाको नीतिगत र कानुनी व्यवस्थामा आवश्यक पुनरावलोकन गरिनेछ’, मन्त्री पौडेलले भने ।

बीमा प्रभावकारी ढंगबाट सञ्चालन गर्नका लागि ४० अर्ब रुपैयाँ लाग्ने भन्दै उनले स्रोत सुनिश्चितताका केही योजना प्रस्तुत गरे ।

मन्त्री पौडेलका अनुसार स्वास्थ्य करकोष थप गर्ने, चिनीजन्य पदार्थमा प्रयोग हुने खाद्य तथा पेय पदार्थमा अनिवार्य कर लगाउने, विभिन्न संगठित संस्थाका उपचार कोषलाई स्वास्थ्य बीमा कोषसँग आवद्ध गर्दै लगिनेछ ।

आकस्मिक बाहेक निःशुल्क उपचारका सबै कार्यक्रमलाई बीमामा आबद्ध गरी निःशुल्क उपचारका लागि स्वास्थ्य संस्थालाई उपलब्ध गराउने अनुदान बीमा मार्फत दिने योजना उनले सुनाए ।