Breaking News

खोला र एयरपोर्ट छेउछाउ घना बस्ती, जुनसुकै बेला सखाप हुने डर !

मानिसलाई राम्रो लुगा लगाउँदैमा, चिल्लो गाडी चढ्दैमा, महलजस्तो घरमा बस्दैमा र मिठो खानेकुरा खाँदैमा आनन्द हुन्छ भन्ने हुँदैन । केही वर्षयता प्राकृतिकको दोहन गरी घर तथा भवनहरु निर्माण गर्ने क्रम बढ्दो छ । अहिले खोला, नदी किनारकै छेउछाउमा अग्ला अग्ला ठुला घर देखिन्छन् । कतिपयले त खोलामाथि नै घर बनाएका छन् ।

खोलाको बायाँदायाँ वा टुकुचामाथि घर बनाएका घरधनीहरुलाई अहिले रातभर निन्द्रा लाग्दैन । खोलाको बहाव जुनसुकै बेला पनि बढ्न सक्ने हुँदा त्यहाँस्थित घरधनीहरु रातभर निदाउँदैनन् । यता, पेट्रोल पम्प, ग्याँस डिपो, वर्कशप, कबाडी गोदाम छेउछाउमा घर बनाएका घरधनीहरुको पनि यही नै पीडा छ । किनकि यसमा आगलागी हुनासाथ समग्र बस्ती नै सखाप हुन्छ ।
पछिल्लो समय ग्याँस लिक भएर वा विद्युत सर्ट भई आगलागी भएको थुप्रा घटना छन् ।
आगलागीमा परी ठुलो जनधनको क्षति हुँदै आएको छ । तर, बस्ती छेउछाउ पेट्रोल पम्प, वर्कशप, ग्याँस डिपो, कबाडी गोदम, पार्टी प्यालेन्स सञ्चालन गर्न नदिने निर्णय सरकार गर्दैन । ०६५ मंसिर १ गतेको मन्त्रिपरिषद् बैठकले खोलाको २० मिटर दुरीमा मात्र घर बनाउन पाउने निर्णय गरेको थियो ।

केही समयअघि सर्वोच्च अदालतले समेत परमादेश जारी गरी खोलाको ४० मिटर दुरीमा मात्र घर बनाउन पाउने भनेको छ । अहिले काठमाडौंको लाम्जिपाट उत्तर ढोकादेखि जयनेपाल हल हुँँदै कमलादी, बागबजार वा टुकुचा हुँदै थापाथलीमा निस्किने खोलामाथि घर घरै बनेको छ । यद्यपि, ती घरहरु काठमाडौं महानगरपालिकाले भत्काउन सकेको छैन ।

यसले खोलाको बहाव बढ्दा त्यसमाथि बनेका घरहरु जुनसुकै बेला पनि भत्किएर ठुलो धनजनको क्षति हुने देखिएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विभिन्न मितिमा पटकपटक गरी विमान दुर्घटना भइसकेको छ । दुर्घटनामा परी थुप्रै यात्रु र पाइलटले ज्यान गुमाइसकेका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल राजधानीमै छ ।

तर, बस्तीको बीचमा । यहाँबाट विभिन्न ठाउँ वा देश जाने वा विभिन्न देश वा ठाउँबाट आउने प्लेन यँही अवतरण हुने गरेको छ । फेरि आयल निगमले इन्धन भण्डारण पनि यँही गरेको छ । सिनामंगल, एयरपोर्ट, गैरीगाउँ, शान्तिनगर, तिनकुने, कोटेश्वर, इमाटोल, टिकाथली, जडीबुटी, नरेफाँट, लोकन्थली, काँडाघारी, पेप्सीकोला, मुलपानी, जोरपाटी, बौद्ध, नयाँबस्ती, गौरीघाटलगायत हुँदै विमान उड्ने हुँदा यो ठाउँका मानिसहरुलाई अहिले न रातमा निन्द्रा लाग्छ न दिनमा भोक ।

यहाँ भाडामा बस्ने मानिस तथा व्यापारीहरुले समेत धमाधम कोठा, फ्ल्याट र सटर छोडिरहेका छन् । यी स्थानमा ७७ वटै जिल्लाका मानिसहरु भाडामा बस्छन् । सटर भाडामा लिएर व्यापारव्यवसाय गर्छन् । तर, लगातारको विमान दुर्घटनापश्चात् यहाँ बस्नेहरु त्रसित भएका छन् । बस्तीमै प्लेन दुर्घटना हुने जोखिम बढ्दै गएकोले यहाँ बस्नेहरु अहिले धमाधम सरिरहेका छन् ।
त्यसैले, अब सरकारले कि त विमानस्थल नै सार्नुपर्छ होइन भने एयरपोर्ट छेउछाउ घना बस्ती बस्न दिनुहुन्न । बजारमा यस्ता जोखिमपूर्ण ठाउँ वरपरका घरजग्गा किन्नुहुन्न भनेर सर्वसाधारणमा बहस शुरु भइसकेको छ । एयरपोर्ट, पेट्रोल पम्प, ग्याँस डिपो, वर्कशप, पार्टी प्यालेन्स वरपर अब घर बनाउन रोक लगाउनुपर्छ । सरकारले यस्ता क्षेत्र छेउछाउ घरजग्गा नकिन्न पनि जनतालाई सचेत गराउनुपर्छ ।

२०४४ सालतिर सिंहदरबारमा धेरै घोडा हुन्थे । सरकारले नै त्यतिबेला घोडा पालेको थियो । घोडा जात्रामा देखाउनदेखि हरेक कार्यका लागि सरकारले त्यो समयमा घोडाकै प्रयोग गर्दथ्यो । त्यसैबीच, सिंहदरबार छेउको अनामनगर, घट्टेखोला, बिल्लीबजार, धोवीखोलाको जग्गामा सरकारले घोडा चराउन वा पाल्ने व्यापक हल्ला चल्यो । यो जग्गा कतिपय सरकारकै थियो त कतिपय व्यक्तिको पनि थियो ।

तर, त्यो व्यक्तिको जग्गा किनबेच हुँदैन्थ्यो । सरकारले घोडा पाल्ने सम्भावना भएपछि कोही पनि त्यो जग्गा किन्न चाहदैंनन् थिए । ०४४ सालअघि यी ठाउँमा एउटै पनि घर थिएनन् । सबै खेतबारी थिए । ०४६ सालमा पञ्चायती व्यवस्था हटेर बहुदलीय व्यवस्था आयो । कृष्णप्रसाद भट्टराई पहिलो पटक प्रधानमन्त्री बने । त्यसपछि उनले सिंहदरबारपछाडिको अनामनगरको बाटो खोलिदिए ।

बाटो खुल्नेबित्तिकै सरकारले त्यो जग्गामा घोडा पाल्न सम्भावना पनि मर्यो । अनि मानिसहरुले धमाधम त्यो जग्गामा घर बनाउन थाले । अहिले सिंहदरबारभित्र नयाँ भवन बनाउने जग्गा नै छैन । यता, बाहिर सबैले ठुल्ठुला बिल्डिङ बनाएका छन् । सरकारको सानो गल्तीका कारण सिंहदरकार वरपरको धेरै सरकारी जग्गा व्यक्तिको नाममा गएको छ ।

चार दशकअघि गैरीगाउँ, शान्तिनगर, तिनकुने, कोटेश्वर, इमाटोल, टिकाथली, जडीबुटी, नरेफाँट, लोकन्थली, काँडाघारी, पेप्सीकोला, मुलपानी, जोरपाटी, बौद्ध, नयाँबस्ती, गौरीघाट, बानेश्वर, सिनामंगलमा बस्ती नै थिएन । सबै खेतै खेत थियो । घर भएपनि कच्ची माटोको मात्र थियो । त्यतिबेला नै सरकारले यो ठाउँको जग्गा अतिक्रमण गरेको भए आज एयरपोर्ट बस्तीको बीचमा हुदैन्थ्यो ।

विमानस्थल बन्ने भएपछि पनि सरकारले यो ठाउँको जग्गा न त अतिक्रमण नै गर्यो न त घर बनाउनमा नै प्रतिबन्ध लगायो । यसैको फाइदा उठाएर जग्गा दलालीहरुले किसानसँग रोपनीको एक लाखमा जग्गा किने । अनि डोजर चलाई खण्डीकरण गरेर आनाकै ८०–९० लाखमा बेचेका छन् । यति महगोमा जग्गा किनेर घर बनाउनेहरु अहिले नराम्ररी डुबेका छन् ।

जोखिमको बीचमै घर भएकाले बेच्न खोज्दाखोज्दै पनि उनीहरुले सकेका छैनन् । यहाँका घरधनीहरुलाई रातभर निन्द्रा लाग्दैन । दिनमा समेत शान्ति छैन । कुन बेला के दुर्घटना हुन्छ भनेर उनीहरु त्रसित भइरहन्छन् । हाम्रो कानूनमा एयरपोर्ट छेउछाउ वा विमान उड्ने ठाउँको तल समेत घर बनाउन नपाइने व्यवस्था छ । अन्तर्राष्ट्रिय मापदण्डमा समेत यो व्यवस्था छ ।
केही गरी प्लेन दुर्घटना भएमा समग्र बस्ती नै सखाप हुने हुँदा यस्तो प्रावधान गरिएको हो । तर, हाम्रोमा त एयरपोर्टमै टाँसिएर घर तथा ठुला भवन बनाइएको छ । यसले विमान दुर्घटना हुँदा बस्तीमा समेत ठुलो धनजनको क्षति हुने जोखिम बढेको छ । कानूनमा त सरकारी कार्यालय वरपर वा विश्व सम्पदा सूचीमा परेका मठमन्दिर वरपर समेत घर बनाउन नपाइने व्यवस्था छ ।

यद्यपि, अहिले विश्व सम्पदा सूचीमा परेका मठमन्दिर वा सरकारी कार्यालय वरपर मन्दिर वा भवनभन्दा ठुलो घर बनेको पाइन्छ । सरकारमा बस्नेहरु कानून त बनाउँछन् तर कार्यान्वयनमा जोड नदिँदा यस्तै हुँदै गएको हो । नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारी पनि यस्ता ठाउँ वरपर घर बनाउन हुन्न र बस्ती नै सार्नुपर्छ भनेर सम्बन्धित मन्त्रालयमा प्रस्ताव लग्दैनन् ।

संघीय संसदको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिले समेत यस्ता ठाउँ वरपरका बस्ती हटाउनुपर्छ वा एयरपोर्ट नै सार्नुपर्छ भनेर निर्णय गरेको छैन । संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री बद्रीप्रसाद पाण्डे पनि यस्तो कुनै निर्णय गर्दैनन् । अहिले देश विदेशबाट आउने र जाने प्लेनको संख्या बढेको छ ।

प्लेनमा यात्रा गर्नेहरुको पनि संख्या बढेको छ । तर, एयरपोर्टको भूभाग भने ज्युँको त्युँ छ । त्यसैले, अब सरकारले एयरपोर्ट छेउछाउको सबै जग्गा अतिक्रमण गगर्नुपर्छ होइन भने एयरपोर्ट नै सार्नुपर्छ । अहिले सरकारमा बस्नेहरु विमान दुर्घटना हुनासाथ घटनास्थलतर्फ दौडिन्छन् । अनि सार्वजनिक बिदा दिने, राष्ट्रिय झण्डा झुकाउने र छानबिन समिति गठन गर्ने निर्णय गर्छ ।
तर, कतिञ्जेल यँही प्रक्रिया चलिरहनेछ ? सरकार आफैं विमान दुर्घटना गराउँछ अनि गोहीको आँसु झार्छ । त्यसैले, दुर्घटना हुनुअघि नै सतर्कता अपनाऔं । दुर्घटनापश्चात् छानबिन समिति गठन गर्ने र सार्वजनिक बिदा दिने होइन, एयरपोर्ट छेउछाउको बस्ती हटाउनुपर्छ । नत्र कुनै विमान दुर्घटना भएमा बस्ती नै सखाप हुने छ । अनि त्यतिबेला के गर्छ सरकारले ?