कुनै पनि वस्तु तथा सेवा खरिद गरेपश्चात् त्यसको वर्षैपिच्छे मूल्यमा गिरावट आउँछ । हाम्रो कानूनअनुसार जुनसुकै सवारीसाधन, घर, विमान (प्लेन) किनेर सम्बन्धित निकायमा दर्ता गरेपछि सोको मूल्य वार्षिक २५ प्रतिशतको दरले घट्ने व्यवस्था नै छ । सरकारले जन्मिएको मितिले १६ वर्ष पुगेपछि आफ्ना नागरिकलाई नागरिकता दिन्छ भने ६८ वर्ष पुगेपश्चात् ज्येष्ठ नागरिक भत्ता प्रदान गर्दछ ।
मानिस जन्मिएपछि मर्नुपर्ने स्वभाविक प्रक्रिया नै हो । तर, उसले त्यसबीचको अवधिमा के–कस्ता काम गर्छ, त्यो महत्त्वपूर्ण हुन्छ । किनकि राम्रो काम गरेपछि मरेपश्चात् समेत त्यो व्यक्तिको याद गरिन्छ । यद्यपि, त्यसतर्फ प्रवेश नगरौं । अहिले बजारमा सुनको मूल्य निरन्तर उकालो लागिरहेको छ । झण्डै पाँच दशकअघि अर्थात् २०३२÷०३३ मा तोलाको १८ सय रहेको सुन अहिले बढेर डेढ लाख पुगेको छ ।
सुनको मूल्य बढाउनुमा सीमित व्यापारी तथा दलालीहरुको हात छ । अहिले डेढ लाखमा सुन किन्नेहरु भोलि मूल्य घट्नासाथ डुब्नेछन् । सुनको मूल्य सधैं बढिरहने मात्र छैन । कुनै दिन त घटि नै हाल्छ । किनकि पाँच दशकअघि सुनको मूल्य तोलाको १८ सय थियो । भोलि फेरि यही मूल्यमा नझर्ला भनेर भन्न सकिँदैन । कुनै पनि वस्तुको मूल्य बढ्नासाथ त्यसमा आँखा चिम्लेर लगानी गर्ने हाम्रो प्रवृत्ति छ ।
उदाहरणकै लागि दुई वर्षअघि पनि सेयरको मूल्य ह्वात्तै बढेको थियो । त्यतिबेला एक कित्ता सेयरकै ३२ सय रुपैयाँ पुग्यो । हामी सर्वसाधारण सेयरमा त नाफा पो हुने रहेछ भनेर दलालीको लहैंलहैंमा लागेर आफ्नो भएभरको पैसा यही क्षेत्रमा लगानी गरियौं । अनि शुरु भयो सेयरको मूल्य घट्न । एकाएक ३२ सय पुगेको सेयर गएको दुई वर्षको बीचमै सय रुपैयाँमा बिक्री नहुने अवस्था सिर्जना भयो ।
किनकि सेयरमा लगानी गरेका ठुला लगानीकर्ता (दलाली) हरुले त आफ्नो सेयर महँगोमा बेचिसकेका थिए । जब महँगोमा बेच्ने पालो साना लगानीकर्ता (सर्वसाधारण) को आयो तब उनीहरुको ह्वात्तै मूल्य घटाइदिए । अनि मूल्य घटेको समयमा किनेर अहिले ती दलालीहरु आफैंले सेयरको मूल्य बढाई बेचिरहेका छन् अथवा सर्वसाधारण फसाइरहेका छन् ।
यसले सेयर होस् या सुन जुनसुकैको मूल्यबढ्दा पनि सर्वसाधारणलाई होइन सीमित दलाली वा व्यापारीलाई फाइदा हुने हो । यसतर्फ लगानी गर्नुपूर्व सोचविचार गर्न निकै जरुरी छ । अर्कोतर्फ, दशकअघि नेपालमा खेतबारी नै खेतबारी थियो । घर निकै कम थियो । घर भएपनि कच्ची माटोको हुन्थ्यो । तर, अहिले सबै सिमेण्टको बनेका पक्की घर छन् । काठमाडौं उपत्यकासहित देशभरका जिल्ला घरले भरिएका छन् । खाली जग्गा कमै देख्न पाइन्छ । देशभर एकाएक घर निर्माण हुनुको पनि छुट्टै कारण छ । २०२१ र २०३२ सालमा दुई पटक गरी सरकारले जग्गाको नाप जाँच गयो । २०२१ सालअघि कोहीसँग पनि जग्गाको लालपूर्जा थिएन ।
यद्यपि, सरकारले जग्गाको नापजाँच गरी व्यक्तिको जग्गा व्यक्तिलाई नै दियो अथवा लालपूर्जा दियो । २०२१ सालमा जग्गाको नापजाँच गरी लालपूर्जा दिइएकोमा कतिपय व्यक्तिले आफ्नो जग्गा नापजाँच गर्न छुटेको पुनः गर्न माग गरेपछि ०३२ सालमा पनि जग्गाको नापजग्गा गरिएको हो । अनि ०३२ सालमा गरिएको नापजग्गामा अधिकांश व्यक्तिले सरकारी कर्मचारी, कानून व्यवसायीको आडमा सरकारी÷सार्वजनिक जग्गा समेत आफ्नो नाममा दर्ता गराए ।
यता, २०३९ सालसम्म नेपाल खाद्यान्नमा पूर्ण आत्मनिर्भर थियो । त्यतिबेला अन्य मुलुकलाई अनुदानस्वरुप खाद्यान्न दिने हाम्रो देश आज त्यही खाद्यान्नका लागि विदेशीको गुलामी गर्नुपर्ने अवस्थामा पुगेका छौं । छिमेकी राष्ट्र भारत वा अन्य देशले खाद्यान्न नपठाए हामी नेपाली भोकभोकै मर्नुपर्ने परिस्थित सिर्जना भएको छ । २०४१ सालअघि जग्गाको खण्डीकरण वा प्लाटिङ गरिदैंन्थ्यो ।
०४१ सालमा भूमाफिया, जग्गा दलालीहरुले खेतीयोग्य जमिन समेत प्लाटिङ गर्ने पोलिसी ल्याए । र, सोहीअनुरुप अघि बढे । गरिब कृषकसँग रोपनीको पाँच÷दश हजारमा जग्गा खरिद गरे । अनि त्यो जग्गामा डोजर चलाई खण्डीकरण गरी आनाकै ६० देखि ७० लाखमा बेचबिखन गरे । अटो शोरुमहरुले पनि भारतमा एक लाखमा पाइने सवारीसाधन नेपलमा पाँच लाखदेखि २५ करोडसम्ममा बेचे ।
०४० सालअघि नेपालको एक रुपैयाँ पनि विदेशी ऋण थिएन । तर, चार दशकको बीचमा नेपाल सरकारले विदेशीसग २७ खर्ब ऋण लिइसकेको छ । अहिले प्रत्येक नेपाली जनताको टाउकोमा लाखौं रुपैयाँ विदेशी ऋण छ । साढे चार दशकअघि मुलुकमा सरकारी बैंकबाहेक प्राइभेट बैंक तथा वित्तिय संस्था थिएनन् । सरकारी बैंकहरु कृषि विकास बैंक, नेपाल राष्ट्रिय वाणिज्य बैंक र नेपाल बैंक लिमिटेड मात्रै थिए ।
त्यतिबेला कमै जनता बैंकका ऋणी थिए अथवा कोही पनि ऋणी नै थिएनन् भन्दा पनि हुन्छ । भनिन्थ्यो, ऋण भनेको घिन हो । तर, अहिले हरेक जनता ऋणी छन् । कोही बैंकको ऋणी छन् त कोही लघुवित्त, सहकारी, फाइनान्सको । त्यस्तै, अधिकाश व्यक्तिका पनि ऋणी छन् । घरजग्गा, गाडी, सेयरजस्ता वस्तुमा लगानी गर्न बैंक, वित्तिय संस्थाबाट समेत सर्वसाधारणले कर्जा लिएका छन् । अहिले त्यँही कर्जा तिर्न नसकेर उनीहरुको उठीबास लागेको छ । चार दशकको बीचमा नेपालमा थुप्रै विदेशी लगानी भित्रिएको छ ।
अहिले मुलुकमा सञ्चालित प्राइभेट बैंकहरुमा सबै विदेशी व्यक्तिको लगानी छ । हामी सर्वसाधारणा कर्जा लिएर विदेशीलाई ब्याज तिरिसकेका छौं । यता, सरकार पनि विदेशीसँग ऋण लिई ब्याज तिरिरहेको छ, त्यो पनि जनताले तिरेको करबाट । रोचक त के छ भने जनता र सरकार दुवै विदेशीलाई नै ब्याज तिरिरहेका छन् । अनि कसरी हाम्रो देश उभो लाग्छ । हामी यहाँ कर्जा लिएर घर बनाइरहेका छौं तर फाइदा विदेशीलाई भएको छ ।
किनकि त्यो घर बनाउँदा त नेपालमा सञ्चालित विदेशीको बैंकले कर्जा प्रवाह गरेको हुन्छ नि त । हामी नेपाली विदेशीलाई धनी बनाउने काम गरिरहेका छौं तर अहिले पनि हामीले यो कुरा बुझ्न सकेका छैनौं । अहिले सहकारीका बचतकर्ताहरु आन्दोलित छन् । सहकारीले पैसा खाइदिएपछि घर न घाटका बनेका उनीहरु आन्दोलन गरिरहेका छन् । कहिले माइतीघरमा अन्सन बस्छन् त कहिले साङ्लो बनाएर आन्दोलन गर्छन् ।
समय एउटा चक्र हो । भनिन्छ कि समय फर्केर आउँदैन । समय निकै महत्त्वपूर्ण हुन्छ । समयानुसार चल्न नसक्ने व्यक्तिले भविष्यमा प्रगति गर्न नसक्ने बताइन्छ । यता, बिहान भएपछि घाम लाग्छ त बेलुका भएपछि अध्याँरो वा रात
पर्छ । कुनै बेला रजगज चलेको बैंक, वित्तिय संस्था आज टाट पल्टिने अवस्थामा पुगेका छन् । हिजो यीनीहरुले सीधासाधी जनतालाई ठग्नु ठगे । करोडौंको धितो लाख रुपैयाँ ऋणमा पचाएर ऋणीलाई सडकछाप बनाइदिए ।
बचतकर्ताको समेत पैसा खाइदिएका छन् । बैंक, वित्तिय संस्थाबाट नठगिएको सायदै कोही होला । तर, पर्दाभित्र बसेर बैंक, वित्तिय संस्थाबाट सर्वसाधारण ठग्न लगाउने प्रधानमन्त्री केपीशर्मा ओलीसहित शेरबहादुर देउवा, पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल नै हुन् । किनकि यीनीहरुकै कार्यकर्ताले बैंक, वित्तिय संस्था खोलेका छन् । बीमा कम्पनी खोलेका छन् । घरजग्गा, गाडी र सेयर दलाली पनि यीनैका कार्यकर्ता हुन् ।
राजनीतिक दलहरुकै कारण सर्वसाधारण ठगिएका छन् । देश कंगाल भएको छ । दलहरुले देशको विकास होइन, विनाश गरेका छन् । अहिले देश र जनता नै ऋण भएका छन् । पहिला काल आएर मानिसको ज्यान जान्थ्यो भने अहिले बैंक, वित्तिय संस्थाको ऋण तिर्न नसकेर, बचत खाइदिए वा खान नपाएर जनताले आत्महत्या गरिरहेका छन् ।