Breaking News

हमासले आफ्ना मारिएका नेता इस्माइल हानियाको अन्त्येष्टिमा आज कतारमा ‘उग्र क्रोध दिवसको’ आह्वान

दोहा । प्यालेस्टिनी लडाकू समूह हमासले आफ्ना मारिएका नेता इस्माइल हानियाको अन्त्येष्टिमा शुक्रबार आज कतारमा ‘उग्र क्रोध दिवसको’ आह्वान गरेको छ ।

हमासले बिहीबार विज्ञप्तिमा तेहरानमा हानियाको हत्यापछि इजरायलमाथि आक्रमणको आरोप लगाउँदै सार्वजनिक आक्रोश फैलाउन प्रोत्साहन गर्नुका साथै गाजा पट्टीमा जारी युद्धको पनि विरोध गरेको छ । ‘शुक्रबार नमाजपछि प्रत्येक मस्जिदबाट क्रोध मार्च सुरु गरौँ’, हमासले भनेको छ ।

हमासको राजनीतिक नेतृत्वका अन्य सदस्यहरूसँगै कतारमा निर्वासनमा रहनुभएका हानियाको इरानी राजधानी तेहरानमा बिहीबार आयोजित सार्वजनिक अन्तिम संस्कारपछि शुक्रबार खाडी राज्यमा अन्त्येष्टि गरिने भएको छ ।

इरानको रिभोल्युसनरी गार्डले हानिया र एक अङ्गरक्षक तेहरानमा उहाँहरूको आवासमा बुधबार बिहानै भएको आक्रमणमा मारिएको बताएको छ । उक्त आक्रमणले व्यापक क्षेत्रीय द्वन्द्वको डर उत्पन्न गरेको छ ।

हमासले ‘कब्जा गरिएको पश्चिम किनारमा हाम्रा क्रान्तिकारी मानिसहरूको समुदाय’ लाई गाजामा प्यालेस्टिनीहरूका लागि आफ्नो समर्थन देखाउन तथा ‘हाम्रो भूमि र राष्ट्रिय अधिकारहरूप्रति हाम्रो प्रतिबद्धता पुष्टि गर्न र (इजरायली) कब्जाको योजनाहरूको सामना गर्न’ आह्वान गरेको छ ।

हमास नेताको अन्तिम संस्कारका क्रममा बिहीबार तेहरानमा शोक मनाउनेहरूको भीड जम्मा भयो र इरानका सर्वोच्च नेता आयातुल्लाह अली खमेनीले प्रार्थनाको नेतृत्व गरेका छन् ।