Breaking News

लोकगायिका शान्तीश्री परियारले आफूले गाएको तीज गीत विवादमा परेपछि माफी मागिन

काठमाडौं । लोकगायिका शान्तीश्री परियारले आफूले गाएको तीज गीत विवादमा परेपछि माफी मागेकी छन् । हालै मात्र सार्वजनिक भएको ‘बिस्ताराले पोल्यो’ बोलको तीज गीतबारे चर्को आलोचना भएपछि उनले विज्ञप्ति जारी गर्दै माफी मागेकी हुन् ।

गायिका शान्तिश्रीले भनेकी छन्, ‘गीत गायनकै क्रममा हरि गिरी विमर्शी युट्युब च्यानलबाट मिति २०८१ श्रावण ११ गते प्रशारित ‘बिस्ताराले पोल्यो’ भन्ने गीतमा मेरो आवाज छ । सो गीत तीज विशेष, लोक वा दोहोरी कुनै पनि विधा अन्तर्गतको नभए तापनि उक्त गीतको भिडिओका केही दृश्यका कारण दर्शक, स्रोताको मनोभावना तथा सामाजिक परिप्रेक्ष्यमा नकारात्मक असर परेको र सोही कारण सामाजिक सञ्जालहरूमा धेरै नकारात्मक टिकाटिप्पणी आइरहेको हुँदा म लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको केन्द्रीय सदस्यको नाताले मसँग सम्बन्धित गीतले प्रतिष्ठानको प्रतिष्ठाप्रति र आदरणीय शुभचिन्तकहरूप्रति आँच पुग्न गएको आभास भएको हुँदा क्षमाप्रार्थी छु ।’

साथै, शान्तिश्रीले आगामी दिनमा शब्दसंगीत छनोट गरी गाउने वाचासमेत गरेकी छन् । उनले गायनको १४ वर्षे यात्रामा करिब दुई हजारभन्दा बढी गीत गाइसकेकी छन् । तर, ‘बिस्ताराले पोल्या’ गीत गाएपछि शान्तिश्रीबारे युट्युबदेखि सामाजिक सञ्जालमा टिकाटिप्पणी भइरहेको छ ।