१७ साउन, काठमाडौं । इजरायलले हमास र हिजबुल्लाहका शीर्ष कमाण्डर माथि आक्रमण गरेपछि मध्यपूर्वमा तनाव झन् बढ्न सक्ने भन्दै संयुक्त राष्ट्रसंघले चिन्ता व्यक्त गरेको छ ।
इजरायल र हमासबीच युद्धविरामको प्रयास भइरहेका बेला इरानमा हमासका शीर्ष कमाण्डर स्माइल हानिया र लेबनानमा हिज्बुल्लाहका शीर्ष कमाण्डर फुआद शुक्रमाथि हमला भएको थियो । मिडिया रिपोर्टका अनुसार ती दुबै शीर्ष कमाण्डहरुको मृत्यु भइसकेको छ ।
संयुक्त राष्ट्रसंघका प्रवक्ता स्टेफान दुजेरिकले बुधबार न्यूयोर्क मुख्यालयमा नियमित पत्रकार सम्मेलनमा मध्यपूर्वमा तनावको अवस्था खतरनाक हुन सक्ने बताएका छन् ।
इजरायलले गत मंगलबार लेबनानको राजधानी बेरुतको एक घना बस्ती भएको क्षेत्रमा हमला गरेको थियो । सो हमला हिजबुल्लाहका शीर्ष कमाण्डर फुआद शुक्रप्रति लक्षित थियो । यसैगरी बुधबार बिहान इरानको राजधानी तेहरानमा हमासका राजनीतिक नेता इस्माइल हानियामाथि आक्रमण भएको थियो ।
संयुक्त राष्ट्रसंघका प्रवक्ता दुजरिकका अनुसार महासचिव एन्टोनियो गुटेरेसले सबै पक्षलाई अधिकतम संयमता अपनाउन आह्वान गरेका छन् । तर स्थिति अत्यन्त संवेदनशील रहेकाले केवल संयमता मात्रै पर्याप्त छैन । उनका अनुसार महासचिव गुटेरेसले मध्यपूर्वमा दीर्घकालीन शान्ति र स्थीरताका लागि तनाव अन्त्यका लागि काम गर्न आह्वान गरेका छन् ।