इटहरी । नेकपा एमालेका केन्द्रीय सदस्य तथा पूर्व मन्त्री भगबती चौधरीले नेकपा एमालेको सारा पङ्क्ति मिसन ८४ मा केन्द्रित हुनुपर्ने बताएकी छिन् । नेकपा एमाले दुहबी नगर कमिटिको प्रथम बैठकलाई सम्बोधन गर्दै उनले त्यस्तो बताएकी हुन् ।
दुहबी नगर कमिटीका अध्यक्ष ताजिब हुनेसको अध्यक्षता तथा पूर्व मन्त्री भगबती चौधरीको प्रमुख आतिथ्यमा भएको बैठकमा मिसन ८४ लाई ध्यानमा राखेर गर्नुपर्ने कुराहरूलाई ध्यान दिनुपर्ने उनको भनाई थियो । उनले भनिन्, ‘हामीभित्रको द्वेषहरूलाई अन्त्य गरेर सम्पूर्ण ध्यान बाह्य प्रतिस्पर्धामा लगाउनुस् । हामी बाह्य व्यक्तिहरूसँग प्रतिस्पर्धा गर्न जाँदै छौँ भने हामीभित्रको आन्तरिक कुरालाई अन्त्य गरेर जानुपर्छ । सङ्गठनात्मक अवसरवाद र दक्षिणपन्थी अराजकतालाई ध्यान दिन आवश्यक छ ।’
पछि पार्टीमा जोडिएका नयाँ पुस्तालाई फरक व्यवहार गर्नु नहुने बताउँदै उनले अन्य पार्टीबाट प्रवेश गरेर एमाले बनेकाहरूलाई पनि पार्टीले सम्मानजनक व्यवहार गर्नुपर्ने बताए । नव प्रवेशीहरूले पनि इमान्दारिकताका साथ जनताका निम्ति काम गर्न उनले आग्रह गरिन् ।
‘जसले अनुशासित भएर जनताका निम्ति काम गर्छ उ नै भोली गएर नेता हुने हो । जनताको बिचमा जो पपुलर हुन्छ त्यो व्यक्ति नै नेता बन्छ । तर हामीले बाह्य प्रतिस्पर्धा हुँदा आन्तरिक कुरालाई बिर्सेर एक भएर लाग्नुपर्छ’, उनले भने ।
समाजवादको आधार बनाउँदै जानुपर्ने भन्दै उनले नेकपा एमाले नेतृत्वको राष्ट्रिय सरकार बनेकाले यसले केही स्थायित्व पाउने विश्वास व्यक्त गरे । ‘नेपालभित्र धेरै कम्युनिस्ट पार्टीमध्ये राष्ट्रियताको मुद्दा बोकेर राष्ट्र बनाउने दिशामा जाने पार्टी नेकपा एमाले नै हो । एमालेले समाजवादको आधार तय गर्छ । त्यसका निम्ति कम्तीमा पनि सरकारले स्थायित्व पाउनुपर्छ’, उनी भन्छन् । कार्यक्रममा कोशी प्रदेश सभा सदस्य रोहित कार्की, राम देव यादवको विशिष्ट आतिथ्यमा बैठक सम्पन्न भएको थियो ।