Breaking News

विश्व सम्पदा सूचीमा सूचिकृत स्वयम्भूमा जापानिज प्रविधिबाट करिब एक हजार बिरुवा रोपियो 

काठमाडौँ, ९ साउन । विश्व सम्पदा सूचीमा सूचिकृत स्वयम्भू परिसरमा करिब एक हजार बिरुवा रोपिएको छ।

स्वयम्भू व्यवस्थापन तथा संरक्षण महासमितिद्वारा आज आयोजित बृक्षारोपण कार्यक्रममा धुपी, चाँप लगायत १२ प्रजातिका मौलिक बिरुवा रोपिएको हो।

काठमाडौँ–१५ मा पर्ने उक्त विश्व सम्पदा स्थलमा गरिएको बृक्षारोपणमा जापानी प्रविधि (मेवाकी) प्रयोग गरिएको थियो।

जिल्ला बन डिभिजन कार्यालय काठमाडौँ, यामाहा बी फार्म एण्ड योकोहामा सिटी युनिभर्सिटी अफ जापानको समन्वयमा भएको कार्यक्रममा नेपाली सेना, प्रहरी, महासमितिका पदाधिकारी र कर्मचारीको सहभागिता थियो।

काठमाडौँ–१५ का वडाध्यक्ष ईश्वरमान डंगोलले बृक्षारोपणले त्यस क्षेत्रको हरियालीमा सहयोग पुग्ने विश्वास व्यक्त गर्दै विश्व शान्ति तथा मानव कल्याणको विभिन्न धार्मिक गतिविधि हुने स्वयम्भूको संरक्षणमा महासमितिले महत्वपूर्ण भूमिका निर्वाह गरेको बताउनुभयो।
महासमिति अध्यक्ष भिक्षु धर्ममूर्तिले विश्व शान्तिका लागि सन्देश प्रवाह गर्ने स्वयम्भूलाई पवित्र तीर्थस्थलका रुपमा विकास गर्न आवश्यक पूर्वाधार निमार्णमा स्थानीय तहको सहयोगको अपेक्षा गर्नुभयो।
महासचिव अशोक बुद्धाचार्यले विश्व सम्पदा सूचीमा अवस्थित स्वयम्भू चैत्यको करिब ५० लाखको लागतमा जीर्णोद्वार सम्पन्न गरिएको जानकारी गराउँदै आगामी दिनमा जंगलमा बार लागाउने, थप सिसि क्यामेरा जडान गर्ने, परम्परागत मेला पर्वलाई थप व्यवस्थित रूपमा संचालन गर्ने योजना रहेको बताउनुभयो।
महासमितिले पुरातत्त्व विभाग, काठमाडौँ महानगरपालिका, जिल्ला प्रशासन कार्यालय, गुठी संस्थानसँग समन्वय गरी संरक्षण कार्य गर्दै आएको जनाएको छ ।यहाँ स्वदेशी तथा विदेशी पर्यटक घुम्न आउने गर्दछन् ।
संस्कृतमा स्वयम्भूको अर्थ आफैँ उत्पन्न भएको भूमि हो । यहाँ विपश्वी बुद्धले आएर पूजा गरेको धर्मावलम्बीको विश्वास छ।
विशेषगरी बौद्ध अनुयायीले विभिन्न धार्मिक गतिविधि गर्ने उक्त स्थलमा हिनयान, महायान लगायत सबै सम्प्रदायका बौद्ध अनुयायीले आस्था प्रकट गर्दछन । यस आसपासमा रहेको अनन्तपुर र प्रतापपुर पनि केही वर्षअघि जीर्णोद्धार सम्पन्न गरिएको थियो ।