Breaking News

पेट्रोल र डिजेलका सवारीसाधनमा लगानी नगरौं, सरकारको निर्णय बुझयौ

नेपालमा पेट्रोल र डिजेलबाट सञ्चालित सवारीसाधन २०८८ सालभित्र विस्थापित गर्ने सरकारको रणनीति छ । ०७८ सालमा सरकारले उक्त निर्णय गरी राजपत्रमा समेत प्रकाशन गरेको हो । यद्यपि, अहिले पनि अटो शोरुमहरुले पेट्रोल र डिजेलबाट चल्ने नयाँ तथा पुराना सवारीसाधन बेचबिखन गरिरहेका छन् । बैंक तथा वित्तिय संस्थाहरुले पनि यस्ता सवारीसाधनलाई मूल्यांकनको ८० प्रतिशतसम्म कर्जा प्रवाह गरेका छन् । भारतबाट एक लाखमा पेट्रोल तथा डिजेलवाला गाडी किनेर ल्याएर यहाँका अटो शोरुमले सर्वसाधारणलाई पाँच लाखदेखि करोडसम्ममा बेचबिखन गरेका छन् ।

अनि अटो शोरुमसँग कमिशन खाएर बैंक, वित्तिय संस्थाका सञ्चालक तथा कर्मचारीहरुले यी गाडीमा कर्जा प्रवाह गरिरहेका छन् । सरकारले ०८८ सालभित्र पेट्रोल र डिजेलबाट चल्ने सवारीसाधन विस्थापन गर्ने निर्णय गरेको अहिले पनि अधिकांश नागरिकलाई थाहा छैन । यसैको फाइदा उठाएर अटो शोरुमहरुले सर्वसाधारण ठगीरहेका छन् ।
उनीहरु गाडी किन्न आउने ग्राहकलाई सरकारको नयाँबारे बताउँदैनन् । अनि महँगोमा गाडी भिडाएर फसाउँछन् । नेपालमा पछिल्लाा केही वर्षयता वायु प्रदूषण ह्वात्तै बढेको छ । वायु प्रदूषण हुनुको मुख्य कारण पेट्रोल, डिजेलका गाडी पनि छन् । यी गाडीले धुँवाको मुस्लो फाल्छन् । अनि वायु प्रदूषण हुनु कुनै नौलो भएन ।

अर्कोतिर मुलुकको व्यापार घाटा बढ्दो छ । त्यसमाथि यस्ता गाडी खरिदले झ्नै विदेशी मुद्राको सञ्चितिमा समेत ह्रास आएको छ । बैंक, वित्तिय संस्थामा भएको रकम आम सर्वसाधारणको हो । दिनरात नभनी रगतपसिना बगाएर उनीहरुले कमाएको रकम हो । तर, बैंक, वित्तिय संस्थाका सञ्चालक, अध्यक्ष, कर्मचारीहरुले घुसको आडमा यस्ता सवारीसाधनलाई कर्जा प्रवाह गर्दा जनताको रकम जोखिममा परेको छ । जथाभावी लगानीले बैंक डुब्ने त निश्चित नै छ सँगै जनताको रकम समेत डुब्ने देखिएको छ । हिजो सहकारी किन डुब्यो ? लघुवित्त, फाइनान्स कसरी डुबे ?

यीनीहरु पनि घरजग्गा, गाडी र सेयरमै लगानी गर्दा डुबेका हुन् । बैंकले सय रुपैयाँ कित्तामा निष्काशन गरेको सेयर दलालीहरुले चार हजार पुर्याए । रोपनीको दश हजारमा बिक्री नहुने खेतीयोग्य जमिन दलालीहरुले खण्डीकरण गरेर आनाकै लाखौंमा बेचिदिए । यता, गाडीमा पनि यस्तै भयो । अनि छिट्टै नाफा कमाउने आशमा आँखा चिम्लेर सहकारी, लघुवित्त र फाइनान्सले यी तीन क्षेत्रमा लगानी गरेका थिए । तर, यसमा मन्दी आउनासाथ सहकारी, लघुवित्त र फाइनान्सहरु रातारात भाग्नुपर्यो ।

अहिले देशभर ५५ लाखबढी पेट्रोल, डिजेलबाट सञ्चालित सवारीसाधन सञ्चालनमा छन् । यसमा सबै बैंकको लगानी छ । सबैलाई विभिन्न बैंकले कर्जा प्रवाह गरेका छन् । यता, घरजग्गा र सेयरमा पनि बैंकले नै कर्जा लगानी गरेको छ । तीन वर्षअघि तीन करोडमा किनेको घरजग्गा अहिले त्यसको आधा मूल्यमा बिक्री हुन्न ।

चार हजार कित्तामा किनिएको सेयर अहिले सय रुपैयाँमा बिक्री नहुने अवस्था छ । २०–३० लाख हालेर किनेको गाडी पनि पाँच लाखमा बिक्दैन । बजारमा घरजग्गा, गाडी र सेयर किन्न चाहने धेरै छन् । तर, किन्ने कोही छैन । बजार पूरै मन्दीमा
छ । अहिले काठमाडौं उपत्यकासहित देशभर कोठा, सटर र फ्ल्याट खाली भएका छन् । घरधनीहरु चिन्तित हुन थालेका छन् । बैंकले ऋणीबाट तानेको गाडी किन्ने कोही छैन । न त बैंकले लिलाम गरेको घरजग्गा र सेयर नै बिक्री भइरहेको छ । अर्थमन्त्री विष्णु पौडेल र राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी अब अर्थतन्त्र लयमा फर्किने दाबी गर्छन् । तर, कसरी अर्थतन्त्र लयमा फर्किन्छ ? यही पाराले त अर्थतन्त्र लयमा होइन, श्रींलकाको अवस्थामा पुग्ने देखिन्छ त ? कि कसो ।

बैंकको कर्जा लगानी यही घरजग्गा, गाडी र सेयरमा छ । बैंकले बचतकर्ताको रकम सबै यीनै तीन क्षेत्रमा लगानी गरेका छन् । अहिले अटो व्यवसायीहरु नै भन्छन्, ‘हाम्रो ७० प्रतिशत लगानी डुबिसक्यो ।’ यसको अर्थ त एक लाखमा किनेको गाडी तीस हजारमा समेत बिक्री नहुनु हो । यता, गर्भनर महाप्रसाद अधिकारी भन्छन्, ‘बैंकमा पैसा थुप्रियो । कोही कर्जा माग्न आएन ।’ जनतले बुझिसके कि बैंकबाट ऋण लिएर उभो लाग्दैन । बैंक ठग, चोर हो भनेर जनताले राम्ररी बुझिसकेका छन् । अहिले भाडाका गाडीमा कर्जा लगानी गरेका बैंकहरुले साँवाब्याज पाइरहेका छन् । किनकि भाडाका गाडीले त दिनहुँ कमाउँछ र किस्ता तिर्छ ।

सार्वजनिक यातायातमा दशकदेखि सिण्डिकेट छ । अनि आपतविपतमा गाडी नपाउने भएपछि आम नागरिकले बैंक, वित्तिय संस्थाबाटै महँगो ब्याजमा कर्जा लिएर दुई तथा चार पाङ्ग्रे सवारीसाधन किने । अहिले सबैको गाडी देखिन्छ । तर, त्यो सबै बैंकबाट कर्जा लिएर किनिएको हो । अनि किस्ता तिर्न नसक्ने भएपछि अहिले बैंकले गाडी तान्न लागेको छ । फेरि बैंकले गाडी तानेर पनि के गरोस् ? किन कित्यो गाडी अब बिक्री हुन्न । एकातिर विद्युतीय सवारीसाधनको जवना, अर्कोतिर बजारमा मन्दी भएकाले बैंकको लगानी सिधैं डुब्ने देखिन्छ ।

गाडीमा मात्र होइन अहिले घरजग्गाा, सेयरमा पनि बैंकले गरेको लगानी डुब्ने देखिन्छ । बैंकले हिजो घुसको आडमा जथाभावी घरजग्गा, सेयरलाई कर्जा प्रवाह गर्यो । अहिले घरजग्गाको किनबेचमा मन्दी छ । करोडको घरजग्गा त्यसको आधा मूल्यमा बिक्री हुन्न । सेयर त जुवा नै भइगयो । कहिले बढ्ने त कहिले ह्वात्तै घट्ने । सेयरमा लगानी गर्दा सीमित दलालीलाई मात्र फाइदा छ ।

बैंकमा पैसा राखेका जनता आफ्नो पैसा सुरक्षित छ भनेर घरमा ढुक्क साथ बसेका छन् । तर, उनीहरुले हिजो सहकारी, लघुवित्त र फाइनान्सका बचतकर्ताहरुको भएको हालत बिर्सिए सायद । बैंकको पनिलगानी त्यँही क्षेत्रमा हो, जसमा लगानी गर्दा सहकारी, लघुवित्त र फाइनान्स रातारात भाग्नुपरेको थियो । त्यसैले, अब बैंकका बचतकर्ता ढुक्क भएर घरमा बस्नुहुन्न । आफ्नो पैसा सुरक्षित छ वा छैन भनेर बेलाबेलामा जानकारी लिइरहनुपर्छ । साथै, आफुले पैसा राखेको बैंकको लगानी कुन–कुन क्षेत्रमा छ भनेर खोजतलास गर्नुपर्छ । योसँगै सरकारका निर्णय पनि सर्वसाधारण बुझिरहनुपर्छ । सरकारले ०८८ सालभित्र पेट्रोल, डिजेलबाट चल्ने सवारीसाधन विस्थापित गर्ने निर्णय गरिसक्यो ।

बैंकले पेट्रोल, डिजेलका सवारीसाधनलाई अहिले पनि कर्जा प्रवाह गरिरहेको छ । भोलि ऋणीले ऋण नतिरेपछि बैंकले त्यस्ता गाडी तान्छ । तर, सरकारले त्यो गाडी नै चल्न नदिने भएपछि बैंकको लगानी त ठाडै डुब्नेछ । त्यसैले, अब सर्वसाधारण सचेत हौं । सरकारको हरेक निर्णय बुझैं, पेट्रोल र डिजेलका सवारीसाधन नकिनौं । भोलि टाउकोमा हात लगाउनु नपरोस् । डुब्नुअघि नै बुझ्औं ।

रुषा थापा