Breaking News

जताततै मन्दी, ओली सरकारले फेरि सर्वसाधारण र देश डुबाउने पीर !

आइतबार बिहान ११ बजेतिर काठमाडौंको अनामनगरस्थित एक होटलमा दुई व्यक्ति चिया खान गए । होटल राम्रै थियो । त्यहाँको फर्निचर, सरसफाई र सजाटवट सबैलाई आकर्षित गर्ने खालको थियो । होटलमा गएका ती दुई ग्राहकले लेमन टिई खाए । र, दुईटा लेमन टिईको ७० रुपैयाँ भनियो ।

ग्राहकले सय रुपैयाँको नोट दियो । तर, ३० रुपैयाँ पनि नभएपछि होटल सञ्चालक बाहिर पैसा लिन गए । उनले करिब १५ मिनेट लगाएर पैसा ल्याए । अर्कोतर्फ, होटलमा ती दुई ग्राहकबाहेक अरु कोही पनि थिएन । होटल सुनसान थियो । मानौं कि दिनभर कोही आउँदैन । ग्राहक नआएपछि घर भाडा कसरी तिर्ने ? कसरी दैनिक खर्च धान्ने ? कसरी राज्यलाई कर तिर्ने ?

हामी मानिस भोक लागेपछि केही खान होटल जान्छौं । तर, खाने ठाउँमा त व्यापार छैन भने अन्य व्यापारव्यवसायको हालत के होला ? व्यापारीहरुको भनाइअनुसार बजार पूरै मन्दीमा छ । कोहीसँग पनि पैसा छैन । पैसा हुनेले पनि लुकाएका छन् । नहुनेसँग त हिजो पनि थिएन र आज पनि छैन । यहाँका ठुल्ठुल्ला व्यापारी, कर्मचारी, नेताहरुले विदेशी बैंकमा पैसा राखेको बताइन्छ ।

नेकपा एमालेका अध्यक्ष केपीशर्मा ओली प्रधानमन्त्री नियुक्त भइसकेका छन् । उनको दुईवटै मिर्गौला फेरिएको छ । यसअघि प्रधानमन्त्री हुँदा उनी मिर्गौला फेर्न कहिले विदेशी अस्पताल त कहिले स्वदेशी अस्पतालमा धाएको अवगत नै
छ । ओली ०४८ सालपछि विभिन्न मन्त्री हुँदै प्रधानमन्त्री भइसकेका व्यक्ति हुन् । उनी प्रधानमन्त्री हुँदा बालुवाटारमा बाँसुरी बजाएर बस्थे ।

पार्टी र मन्त्रिपरिषद्को बैठक समेत बालुवाटारमै राख्थे उनी । बालुवाटारमा तिजको कार्यक्रम राखेर नाचगान गर्नुका साथै उनले आफ्नो जन्मभूमिमा देशकै नक्सा केक बनाएर काटेर समेत खाए । जनतासँग आँखा र दिमाग दुवै छ । त्यसैले, ओलीले विगतमा प्रधानमन्त्री हुँदा गरेको कामको जनताले मूल्यांकन गरिसकेका छन् ।

अहिले मुलुकको अर्थ व्यवस्था नाजुक अवस्थामा पुगेको छ । बैंक तथा वित्तिय संस्था टाट पल्टिने अवस्थामा पुगेका छन् । लघुवित्त, सहकारी, फाइनान्स त डुबिपनि सकेका छन् । सहकारीले मात्र करोडौं बचतकर्ताको खर्बौ रकम खाएको छ । बचतकर्ताहरुलाई घर न घाटको बनाएको छ सहकारीले । जनता निराश हुँदै गएका छन् ।

नेपाली काँग्रेस र नेकपा एमाले आआफ्नो स्वार्थका लागि जोडिएको छरपष्ट भइसकेको छ । झापाको गिरिबन्धु टु स्टेटको सरकारी जग्गा दुरुपयोग गरेको आरोप लागिरहँदा ओलीले काँग्रेससँग हत्तपत्त सहमति गरे । यता, आफ्नी पत्नी आरजु राणालाई नक्कली भुटानी शरणाथी प्रकरणमा बचाउन सभापति शेरबहादुर देउवाले पनि काँग्रेसको सिद्धान्त, विचार र धारणा नै बिर्सिएर ओलीसँग सम्झौता गरे ।

अहिले सेयर दलालीहरु विष्णु पौडेल अर्थमन्त्री हुनासाथ बजार पहिलाकै अवस्थामा फर्किने भन्दै सर्वसाधारण फसाइरहेका छन् । यसअघि पौडेल अर्थमन्त्री हुँदा यसरी नै हल्ला फिँजाएर बैंकले सय रुपैयाँमा निष्काशन गरेको सेयर ३२ सय रुपैयाँ पुर्याइएको थियो । ३२ सयमा किनेको सेयर सय रुपैयाँमा बिक्री नहुने अवस्था निम्तिएपछि ६५ लाख जनता चुलुम्मै भए ।

यसअघि अर्थमन्त्री हुँदा पौडेलले ६५ लाख जनतालाई सेयरमा लगानी गर्न लगाई सडक छाप बनाइदिएका थिए । र, यस पटक अर्थमन्त्री हुँदा कति लाखलाई बनाउनेछन् । पौडेल अर्थमन्त्रीबाट हटेपछि जर्नादन शर्मा, डा.प्रकाशशरण महत अनि वर्षमान पुन पनि अर्थमन्त्री बने । तर, तीन जनाको पालामा सेयरको मूल्य बढेन । अहिले जनता भन्छन्, ‘ओली नेतृत्वको सरकार सय दिन पनि टिक्दैन ।’

अर्को रोचक कुरा सेयरमा पनि एमालेकै लगानी रहेको स्पष्ट भइसकेको छ । एमालेका विष्णु पौडेल अर्थमन्त्री हुनासाथ सेयरको मूल्य बढ्छ । र, अन्य पार्टीका नेताहरु अर्थमन्त्री हुँदा सेयरको मूल्य बढ्दैन । फेरि विष्णु पौडेल पनि कतिञ्जेल चाहि अर्थमन्त्रीमा टिक्ने होला र । एक दिन त उनले पनि कुर्सी छोड्नै पर्छ । अनि त्यतिखेर अहिले फेरि पोडैल अर्थमन्त्री हुँदा महँगोमा सेयर किनेकाहरु चुलुम्मै डुब्नेछन् ।

सर्वसाधारणको आँकडाअनुसार ओली सरकार सय दिन पनि टिक्दैन । सय दिनपछि ओली सरकार ढलेसगँै पौडेलको पनि अर्थमन्त्री पद गुम्छ । अनि सय रुपैयाँको सेयर ३२ सय हालेर किन्ने सर्वसाधारण पहिलाका लगानीकर्ता डुबेर सडकछाप भएको अवस्थामा पुग्नेछन् । इतिहास हेरौं पहिला गार्भेट, गलैँचा अनि फिल्म हलमा लगानी गर्नेहरु थुप्रा थिए ।

तर, सबै डुबे । यसपछि जग्गा प्लटिङ गर्नेहरुको पनि डुब्ने दिन आयो । सहकारीमा नाफा देखेपछि च्याउ उम्रिएझैं सहकारी खोलिन थाल्यो । यद्यपि, सहकारी पनि डुब्यो । होइन सहकारी मात्र डुबेन, करोडौं बचतकर्ता पनि डुबे । अहिले अटो शोरुमहरु समेत डुबेका छन् । यहाँ दलालीहरु नयाँ पोलिसी ल्याउँछन् अनि सर्वसाधारणलाई लगानी गर्न लगाई डुबाउँछन् । दलालीहरुले के सम्म गरेका छैनन् र । हिजो पाँच हजार आनामा बिक्री नहुने खेतीयोग्य जमिन खण्डीकरण गरी आनाकै ६०–७० लाखमा बेचिदिए । त्यति महँगोमा जग्गा किन्नेहर अहिले मर्नु कि बाँच्नु अवस्थामा पुगेका छन् । बेचौं मूल्य छैन, बैंकको ऋण तिरौं पैसा छैन । गाडीमा लगानी गर्ने सर्वसाधारण पनि यसरी नै डुबेका छन् ।

हिजो दुई लाखको सवारीसाधन ३०–३५ लाखमा किन्ने सर्वसाधारणा आज चुलुम्मै भएका छन् । अहिले पैसा हुनेका छोराछोरी अमेरिका, अस्ट्रेलिया, क्यानडालगायत विकसित मुलुक गएका छन् भने पैसा नहुनेका छोराछोरी खाडी पुगेका छन् । गाउँदेखि सहरै रित्तिएको छ । शेरबहादुर देउवाका छोरा अमेरिकामा पढेर नेपाल आए ।

तर, उनको नाममा सयौं रोपनी जग्गा रहेको बताइन्छ । जबकी उनी कुनै पनि व्यापार व्यवसायमा सलंग्न छैनन् । अमेरिकामा पनि उनले पढे मात्र । काम गरेनन् । शेरबहादुर देउवा पटकपटक प्रधानमन्त्री भइसके र अहिलेपनि प्रधानमन्त्री हुन पल्किरहेका छन् । यता, उनकी पत्नीमाथि नेपालीलाई भुटार्नी शरणार्थी बनाएर अमेरिकामा बेचेको आरोप छ ।
यसरी कमाएको अवैध रकमले भने छोराको नाममा सम्पत्ति राख्ने गरिएको छ । अहिले काँग्रेसभित्र देउवा दम्पतीको विरोध गर्ने कोही छैन । विगतमा गिरिजाप्रसाद कोइराला पार्टीको सभापति थिए । तर, देउवाले पार्टी नै फुटाएर आफु प्रधानमन्त्री हुन ५२ वटा मन्त्रालय नै खडा गरे । काँग्रेसमा गगन थापा, डा.शेखर कोइराला बाहिर पनि कराउने हो ।
उनीहरु देउवा दम्पतीको अगाडि आत्मसमर्पण गर्छन् । एमालेमा पनि ओलीको विरोध कोही गर्न सक्दैन । यसअघि पनि पटकपटक प्रधानमन्त्री भइसकेका र भ्रष्टाचारको आरोप लागेका व्यक्तिहरु फेरि पनि प्रधानमन्त्री हुँदा देशमा के परिवर्तन हुन्छ ? जनताले कसरी सुख पाउँछन् ? यीनीहरुले आफुले गरेका काण्ड लुकाउन मात्र प्रधानमन्त्री बनेका हुन् ।

जनतालाई पनि यीनीहरु केही आशा छैन । जनता निराश छन् अनि काँग्रेस–एमालेका कार्यकर्ता खुशी छन् । आफ्नो सरकार आयो र फेरि भ्रष्टाचार गर्न पाइयो भनेर उनीहरु मख्ख छन् । अहिले सरकारी कर्मचारीहरु पनि खुशी छन् । किनकि आफ्नो पार्टीको सरकार आएसँगै भनेजस्तो ठाउँमा सरुवा, बढुवा हुन पाइयो नि त ।

काँग्रेस–एमालेका कार्यकर्ताले यो सरकारबाट थुप्रै चिज पाउलान् । तर, जनताले के पाउँछन् ? देशले के पाउँछ ? अहिले नेपालको विदेशी ऋण २७ खर्ब छ । तर, ओलीले केही महिनामै यसको दोब्बर–तेब्बर बनाइदिने छन् । यो सरकारले मुलुकको अर्थतन्त्रमा सुधार ल्याउँछ र बजार चलायमान हुन्छ भनेर जनतामा कुनै पनि आशा छैन । ओलीले पहिला पनि प्रधानमन्त्री हुँदा उखानटुक्का भनेरै जनतालाई अल्मल्याए । र, यसपटक पनि यही गर्ने छन् ।

अहिले साना दलहरु समेत सरकारमा सामेल हुँदैछन् । एउटा मन्त्रालय पाएपनि भ्रष्टाचार गर्न पाइने भएपछि आँखा चिम्लेर ओली सरकारलाई उनीहरु समर्थन गर्दैछन् । एमाले–माओवादीसहितको सरकार हुँदा केही महिनाअघि काँग्रेसले सहकारी प्रकरणमा संसदीय विशेष छानबिन समिति गठन गर्नुपर्ने माग गर्दै सदन अवरोध गर्यो ।

सो क्रममा काँग्रेसका नेता धनराज गुरुङ र ओलीबीच सदनमै भनाभन समेत परेको थियो । त्यतिबेला एकअर्कालाई देखी नसकेका यीनी आज मिलेका छन् । यो जनता र सञ्चारकर्मीको आँखामा छारो हालिएको हो । बाहिर झगडा गर्ने अनि भित्र मिल्ने । राजनीतिक दलहरुमा देश र जनताभन्दा पनि सत्ता नै ठुलो भयो । जनता मरेपनि बाँचेपनि कसैलाई मतलब छैन ।

देशमा रोजगारी नभएपछि दिनहुँ हजारौंको संख्यामा नेपाली युवाहरु खाडी विदेशिएका छन् । ती जनताले रगतपसिना बगाएर पठाएको रेमिट्यान्सका यहाँ नेताहरु मोजमस्ती गर्छन् । अनि कसरी लाग्छ देश उभो ? कसरी पाउँछन् जनताले सुख ?