अमेरिकामा रङ्गभेदी आन्दोलन, ओमाबाद्धारा दुःख व्यक्त

एजेन्सी

१८ जेठ, काठमाडौं । गोरा जातिका प्रहरीले काला जातिका एक व्यक्तिको हत्या गरेपछि अमेरिकाको मिनेपोलिस लगायतका सहरहरूमा रङ्गभेदी आन्दोलन भड्किएको छ ।

मानिसहरुले सडकमा आएर आक्रोश व्यक्त गरिरहेका छन् । भाइरल भएको एक भिडियोमा एक गोरा प्रहरीले जर्ज फ्लोयड नाम गरेको कालाजातिका व्यक्तिको गर्धनमा घुँडाले थिचिरहेको देखिन्छ । त्यसको केही मिनेटमा नै ४६ वर्षीय जर्ज फ्लोयडको मृत्यु हुन्छ ।

भिडियोमा देखिएअनुसार फ्लोयड र वरीपरी रहेका अन्य प्रहरी अधिकारीले उनलाई छाड्नका लागि अनुरोध गरेका थिए । घाँटीमा घुँडाले थिचिएका फ्लोयडले भनिरहेका थिए, ‘मैले सास फेर्न सकिरहेको छैन, प्लिज’ । यो उनको अन्तिम शब्द बन्न पुग्यो ।

यो घटनाको विषयमा अनुसन्धान भइरहेको छ । अहिलेसम्म यो घटनाको विषयमा विस्तृत जानकारी पनि पत्ता लागेको छैन । फ्लोयडको घाँटीमा घुँडाले थिच्ने प्रहरी अधिकारी डेरेक शाविनलाई गिरफ्तार गरी उनीमाथि हत्याको आरोप लगाइएको छ । यो भिडियो आएपछि मानिसहरुले यसबारे आक्रोश व्यक्त गरिरहेका छन् । मिनेसोटालगायतका सहरहरुमा यसबारे ठूलो प्रदर्शन भइरहेको छ ।

प्रदर्शनकारीले दर्जनौं गाडीहरुमा आगजनी गरेका छन् । सुरक्षाकर्मीलाई प्रदर्शन नियन्त्रण गर्न हम्मे हम्मे परेको छ ।

अहिले भइरहेको प्रदर्शनको विषयमा मिनेसोटाका गभर्नरले आन्दोलन हिंसात्मक बन्दै गइरहेको भन्दै आपत्ति प्रकट गरेका छन् । उनले आन्दोलन नियन्त्रणमा लिनका लागि सैन्य प्रहरी परिचालन गर्न सकिने चेतावनी दिएका छन् ।

घटना दुःखद : पूर्वराष्ट्रपति ओबामा

अमेरिकाका पूर्वराष्ट्रपति बाराक ओबामाले उक्त घटना दुःखद रहेको बताएका छन् । यसले आफूलाई क्षतविक्षत बनाएको उनको भनाइ छ । अहिलेको अवस्थामा पनि यो कुनै पनि हिसाबमा सामान्य घटना नभएको उनको भनाइ छ ।

यो घटनाले अमेरिकी समाजमा हुने गरेको नस्लीय भेदभावलाई उजागर गरेको छ । अमेरिकामा प्रहरी अधिकारीको हातबाट कसैको ज्यान जाँदा सधैँ नै ठूलो मुद्दा बन्ने गर्छ । त्यसमा पनि कुनै जातिलाई लक्षित गरी भएको घटना भने झन् ठूलो हुनु स्वाभाविक हो । अमेरिकामा जातीय भेदभावको मुद्दा पनि अहिलेदेखिको होइन । निकै लामो समयदेखि चल्दै आएको यो मुद्दाको विषयमा बेलाबेलामा अमेरिकामा चर्चा हुने गरेको छ ।