Breaking News

विभिन्न काण्ड लुकाउन मिलेका काँग्रेस–एमालेले आगामी निर्वाचनमा जनतालाई कुन मुख देखाउँछन् ?

२०७८ असारमा तत्कालिन नेकपा एमालेका अध्यक्ष केपीशर्मा ओली नेतृत्वको सरकार खारेज गरी पाऊँ भनी नेपाली काँग्रेससहित साना दलहरुले सर्वोच्च अदालतमा रिट दर्ता गराएका थिए । सर्वोच्चका तत्कालिन प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले ०७८ असार २८ गते उक्त रिटउपर फैसला सुनाउँदै ओली नेतृत्वको सरकारलाई बर्खास्त वा खारेज गरिदिए ।

त्योसँगै ओलीको प्रधानमन्त्री पद गयो । सोही वर्षको असार २९ गते नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री पदको शपथ खाए । पछि काँग्रेसनेतृत्वकै सरकारले तत्कालिन प्रधानान्यायाधीश जबरालाई महाअभियोग लगाए र उनलाई नजरबन्दमा राखियो । आफ्नो स्वार्थका लागि त्यतिखेरको सरकारले प्रधानान्यायाधीशलाई नै नजरबन्दमा राख्यो ।

किनकि भ्रष्टाचार र सार्वजनिक–सरकारी सम्पत्तिको दुरुपयोगमा विभिन्न दलका नेताहरु मुछिएका थिए । उनीहरुले आफु जेल जानुपर्ने भएपछि प्रधानन्यायाधीश जबरालाई महाअभियोग लगाए । अहिले पनि शेरबहादुर देउवाकी पत्नी आरजु राणा नक्कली भुटानी शरणार्थी प्रकरणमा जेल जाने भएपछि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार ढाल्न तयार भए ।

यता, ओली पनि आफुलाई झापास्थित गिरिबन्धु टु स्टेटको जग्गा प्रकरणमा जोगाउन प्रचण्ड सरकार ढाल्न तयार भएका हुन् । अहिले काँग्रेस ओलीलाई प्रधानमन्त्री बनाउन तयार छ । आफुले गरेका काण्ड वा भ्रष्टाचार लुकाउन कहिल्यै न्यायाधीशलाई नै नन्जरबन्दमा राख्ने त कहिल्यै संविधान, ऐन, कानून नै नमानी जस्तोसुकै सम्झौता गरिहाल्ने ।

०७९ मंसिर ४ गते प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन भयो । कोहीले काँग्रेसलाई भोट हाले, कोहीले एमाले त कोहीले माओवादी, एकीकृत समाजवादी, रास्वपा, राप्रपालगायतलाई मतदान गरे । जनताले फरक फरक पार्टीलाई भोट हालेका थिए । तर, अहिले यी पार्टी आफ्नो स्वार्थका लागि गाँसिएका छन् । अहिले सर्वसाधारण भन्छन्, ‘आरजुलाई बचाउन काँग्रेस एमालेको अगाडि लम्पसार पर्यो र गिरिबन्धुमा बच्न ओलीले यो चाल खेले ।’

बिडम्वना, ओलीलाई प्रधानमन्त्री बनाउनुहुन्न भनेर काँग्रेसभित्र विरोध गर्ने एक जना पनि छैनन् । आरजुलाई पनि कानूनको दायरमा ल्याउनुपर्छ भनेर काँग्रेसमा कोही बोल्न सक्दैनन् । ओलीनेतृत्वको ०७८ वैशाख ७ र १३ गतेको मन्त्रिपरिषद् बैठकले गिरिबन्धुको सरकारी जग्गा व्यक्तिको नाममा पास गर्ने निर्णय गरेको थियो । यो कानूनकै दुरुपयोग हो । कानूनमा सरकारी÷सार्वजनिक जग्गा व्यक्तिको नाममा पास गर्न वा दुरुपयोग गर्न नपाइने व्यवस्था छ ।

तर, यसविरुद्ध एमाले वा अन्य राजनीतिक दलका नेताहरु केही बोल्न सक्ँदैनन् । अहिले काँग्रेस र एमाले मिलेर नयाँ सरकार गठन गर्न लागिएको छ । काँग्रेसले भ्रष्टाचार वा विभिन्न काण्डमा मुछिएकालाई नै मन्त्री बनाउने तयारी गरेको छ । आरजु, रमेश लेखकहरु मन्त्री बन्ने तयारीमा छन् । रमेश लेखक यसअघि पनि पटकपटक मन्त्री भइसकेका छन् । मन्त्री हुँदा उनले देश र जनताका लागि केही गरेनन् ।

नेपालको राजनीतिक परिवर्तनमा आरजुको कुनै योगदान छैन । उनी जनताले चुनेर पठाएको जनप्रतिनिधि पनि होइन । तर, काँग्रेसका महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मा यसको विरोध गर्न सक्दैनन् । यता, काँग्रेसका लोकप्रिय नेता डा.शेखर कोइराला र शंशक कोइराला पनि केही बोल्दैनन् । बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा लैजानेमा माधव नेपाल र बाबुराम भट्टराई हुन् भनेर जनतालाई स्पष्ट थाहा छ ।

ललिता निवासको आठ आना जग्गा सेटिङ्ग मिलाएर एमाले नेता विष्णु पौडेलले आफ्नो छोराको नाममा पास गरेको पनि प्रष्टै छ । अहिले एमालेबाट मन्त्री हुनेमा विष्णु पौडेल र योगेश भट्टराईको नाम आइरहेको छ । भट्टराईले यसअघि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री हुँदा धेरै भ्रष्टाचार गरेको बताइन्छ । उनको काठमाडौंमा मात्र चार–पाँच वटा आलिशान घर रहेको सुनिएको छ ।

नेताले कसरी झुक्याउँछन् भनेर जनताले पनि बुझ्नुपर्छ । ०७९ सालको निर्वाचनमा गगन थापाले काठमाडौं क्षेत्रनम्बर ४ बाट उम्मेदवारी दिएपछि जनताको घरदैलोमा भोट माग्न जाँदा भने, ‘मलाई मतदान गर्नुस् । यो क्षेत्रले प्रधानमन्त्री पाउँछ ।’ उनी ०७० सालदेखि लगातार यही क्षेत्रबाट चुनाव जित्दै आएका थिए । थापाको क्षेत्र कपन वा सरस्वती नगर बर्खामा पानी पर्नासाथ डुबानमा पने गथ्र्यो ।

घरघरमा पानी पस्थ्र्यो । गएको साउनमा काठमाडौं महनगरपालिकाका मेयर बालेन्द्र शाह –बालेन) ले त्यहाँ खोलामाथि बनाइएको घर भत्काइदिए र खोलालाई बग्न दिइयो । यो पटक सबैभन्दा धेरै वर्षा भएको छ । र, हुने क्रम जारी नै छ । तर, यस पटककपन डुबेन । यत्रो पानी पर्दा देशभरका विभिन्न जिल्लाका विभिन्न ठाउँ डुबानमा पर्दा सानो पानी आउँदा समेत डुब्ने कपन यो पटक डुबेन ।

गगन थापाले आफ्नो क्षेत्रमा खोलामाथि बनाइएको घर हटाउन सकेनन् तर देशको प्रधानमन्त्री हुन्छु भन्दै भाषण गर्न
भ्याए । उनी ०७० सालमै त्यस क्षेत्रको सांसदमा निर्वाचित भएका थिए । बर्खामा कपनबासीलाई निकै सास्ती हुँदै आएको थियो । यदि उनले सांसद हुनासाथ त्यहाँ खोला अतिक्रमण गरेर बनाएको संरचना हटाएको भए आज उनको चारैतिर वाहवाह हुन्थ्यो ।

तर, उनले त्यस्तो केही काम गरेनन् । उल्टै देशको प्रधानमन्त्री बन्छु भन्दै सर्वसाधारणलाई भ्रममा पारे । अहिले कपनबासी निकै खुशी छन् । बालेनको कामको तारिफ गरेर उनीहरुलाई भ्याइनभ्याइ छ । ओली ०७४ फागुल्न ३ गते प्रधानमन्त्री बने । त्यतिखेर नेपालको विदेशी ऋण सात खर्ब थियो । ०७८ असार २८ गतेसम्म प्रधानमन्त्री भएका उनले त्यतिखेरसम्म विदेशी ऋण १९ खर्ब पुर्याइदिए ।

उनले विदेशीसँग ऋण लिँदै आफ्नो र महेश बस्नेतको क्षेत्रमा मात्र अर्बौ बजेट खन्याए । प्रधानमन्त्री हुँदा ओली पटकपटक बिरामी भए । उनलाई कहिले उपचारका लागि विदेश पुर्याइन्थ्यो त कहिले मुलुककै महँगा अस्पताल । ओलीको उपचारमा मात्र जनताले तिरेको खर्बौ कर सकिएको छ । ओलीले प्रधानमन्त्री हुँदा एमालेबाटै चुनाव जितेर आएका अन्य संसदलाई समेत बजेट दिएनन् ।

यता, एमाले–माओवादी गठबन्धनबाट माओवादीबाट निर्वाचित जुम्लाका सांसद गजेन्द्रबहादुर महत त आफ्नो क्षेत्रमा बजेट नदिइएको भन्दै सदनमै रोए पनि । अहिले पनि एमालेमा ओलीको विरोधमा बोल्न सक्ने कोही छैन । अहिले देशको अलिअलि बाँकी भएको सरकारी–सार्वजनिक जग्गा पनि काँग्रेस र एमालेले मिलेर बेच्ने भएका छन् । सरकारी–सार्वजनिक जग्गा मात्र होइन यीनीहरुले कुनै दिन आफ्नै देश पनि बेच्ने छन् ।

यता, कोही पनि काँग्रेस–एमालेको विरोधमा बोल्न पनि नहुने । भ्रष्टाचार फाइल पनि खोल्न नदिने । गृहमन्त्री रवि लामिछानेले भ्रष्टाचार २५ वटा फाइल खोल्ने बताएसँगै रातारात सरकार परिवर्तन भयो । जेलमा बस्नुपर्ने आरजु र ओली फेरि पनि मन्त्री, प्रधानमन्त्री बन्ने भएका छन् । त्यसैले, अब सर्वसाधारण पनि निहुरिएर हिँड्नुपर्ने भएको छ ।

हिजो यस्ता भ्रष्टाचारी, सामान्तीहरुलाई लखेट्न प्रचण्डले जनयुद्धको शुरुवात गरेका थिए अब जनताले जनयुद्ध शुरु गर्नुपर्छ । नभएसम्म यस्ता व्यक्तिहरुले जनता त लुट्ने नै छन् सँगै राज्यलाई समेत सकाउने छन् । अहिले जनता दलका कार्यकर्ता भएका छन् । त्यसैले, यीनीहरु भ्रष्टाचारी हुन् भनेर जनता पनि खुलेर बोल्न सक्दैनन् । अब सर्वसाधारण दलको कार्यकर्ता होइन आफ्नो मातृभूमिको रक्षक बन्नुपर्छ । राज्य र जनताको सम्पत्तिमाथि मोजमस्ती गर्ने यीनीहरुलाई देशबाटै खेद्नुपर्छ ।

हिजो हामी मिल्दै मिल्दैनौं भन्ने काँग्रेस–एमाले आगामी चुनावमा कुन मुख लिएर जनताको घरमा भोट माग्न जान्छन् । अनि जनताले पनि किन यीनीहरुलाई भोट दिने ? अहिले भ्रष्टाचारका काण्ड लुकाउन मिलेका काँग्रेस–एमालेको यसको परिणाम आगामी निर्वाचनमा देख्नेछन् ।

रुषा थापा