Breaking News

युरो २०२४ को उपाधि स्पेनलाई

आज बिहान सम्पन्न युरो २०२४ को फाइनलमा स्पेनले इंग्ल्यान्डलाई २–१ गालले हराउँदै चौथोपटक युरोपियन च्याम्पियन बनेको छ । निर्धारित समयको खेल सकिन ४ मिनेट बाँकी छँदा मिकेल ओयार्जाबालले निर्णायक गोल गर्दै स्पेनलाई जित दिलाए । मार्क कुकुरेलाले उनलाई गोलको अवसर सिर्जना गरेका थिए ।

यसअघि पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । तर दोस्रो हाफको सुरुवातमा नै लामिन यामालको पासमा निको विलियम्सले स्पेनलाई अग्रता दिलाए । ७३ औँ मिनेटमा जुड बेलिङह्यामको पासमा कोल पाल्मरले गोल गर्दै खेल १(१ को बराबरीमा ल्याएका थिए ।
स्पेनले युरोकपको उपाधि जितेको यो कीर्तिमानी चौथोपटक हो । स्पेनले सन् १९६४ मा आफ्नो पहिलो सहभागितामै युरोकपको उपाधि जितेको थियो । त्यतिबेला स्पेनले फाइनलमा तत्कालीन सोभियत संघलाई २–१ गोलले हराएको थियो ।

त्यसपछि स्पेनले सन् २००८ मा दोस्रो पटक युरोकपको उपाधि चुमेको थियो । त्यतिबेला स्पेनले फाइनलमा जर्मनीलाई १–० गोलले पराजित गरेको थियो ।

त्यसलगत्तै स्पेनले सन् २०१२ मा पनि युरोकपको उपाधि जितेको थियो । त्यतिबेला स्पेनले फाइनलमा इटालीलाई ४–० गोलले हराएको थियो । स्पेन लगातार दुईपटक युरोकपको उपाधि जित्ने एकमात्र राष्ट्र पनि हो ।

यता इंग्ल्यान्ड भने फेरि एकपटक युरोकपको उपाधि जित्नबाट वञ्चित बनेको छ। इंग्ल्यान्ड युरोकपको साबिक उप–विजेता पनि थियो । इंग्ल्यान्डको टोली सन् २०२० मा सम्पन्न युरोकपको फाइनलमा इटालीसँग पेनाल्टी सुटआउटमा ३–२ गोलले पराजित भएको थियो ।