Breaking News

जनताको त्यागलाई किचोलिएर काँग्रेस–एमाले गठबन्धन, आगामी निर्वाचनमा के होला यिनको हालत ?

नेपाली काँग्रेसले नेकपा एमालेका अध्यक्ष केपीशर्मा ओलीलाई प्रधानमन्त्री बनाउने निर्णय गरेको छ । पार्टी सभापति शेरबहादुर देउवा र उनकी पत्नीसमेत रहेकी काँग्रेस नेतृ आरजु राणा देउवाले ओलीलाई प्रधानमन्त्री बनाउन लागेका
हुन् । योसँगै काँग्रेसलाई भोट दिएका जनता र कार्यकर्ता निराश भएका छन् ।

जनताले मतदान गरेर काँग्रेसलाई पहिलो पार्टी बनाएको हो । अर्कोतर्फ, देश र जनताको हितका लागि काम गछौं भनेर चुनाव जिति आएको पार्टी पनि । संविधानअनुसार काँग्रेस पहिलो पार्टी भएकोले उसको नेतृत्वमा सरकार गठन गर्नुपर्छ । तर, काँग्रेसले यसो नगरि ओलीलाई प्रधानमन्त्री बनाउन लागेको छ ।

ओली प्रधानमन्त्री बनेपछि आफ्ना पार्टीका नेताहरुलाई मन्त्री बनाएर सरकारमा सहभागी हुने काँग्रेसको योजना छ । २०७२ असोज ३ गते संविधान निर्माण हुँदा सुशिल कोइराला प्रधानमन्त्री थिए । उनले छिमेकी देश भारतले नाकाबन्दी गर्दागर्दै पनि कसैको दबाबमा नपरी देश र जनताका लागि संविधान बनाए र ल्याए पनि ।

यता, सुशिल कोइरालाले संविधान बनाएर घोषणा गरेसँगै ओलीले उनलाई हटाएर आफु प्रधानमन्त्री बने । कोइरालाले संविधान बनाएपछि आफु प्रधानमन्त्री नबन्ने बताएका थिए । आफ्नो नेतृत्वमा संविधान बनेकोले उनी राजनीतिबाट सन्यास नै लिन चाहन्थे । यद्यपि, त्यतिबेला उनी नै काँग्रेसको सभापति वा संसदीय दलको नेता थिए ।

त्यसपछि देउवाले उनलाई जबरजस्ती प्रधानमन्त्रीको उम्मेदवारी दिन लगाए । ओली र कोइरालाले प्रधानमन्त्रीका लागि उम्मेदवारी दिएका थिए । ओलीले बहुमत ल्याउँदा कोइराला हारे । अनि ०७२ माघ २४ गते कोइरालाको मृत्यु भयो । संविधान निर्माणको केही महिनामै उनले संसार त्यागे । काँग्रेस पार्टी बनाउन थुप्रै जनता र नेताको योगदान छ ।

काँग्रेस यत्तिकै बनेको होइन । काँग्रेसको छुट्टै इतिहास र पहिचान छ । बिडम्वना, हिजो जनताको रगत, पसिनामा तयार गरिएको काँग्रेस आज शेरबहादुर देउवा र उनकी पत्नी आरजु राणाले केपी ओलीलाई बुझाएका छन् । ओलीको शरणमा काँग्रेस राखिदिइएको छ । जनताले काँग्रेसलाई विभिन्न समयमा भएको निर्वाचनमा बहुमत दिए ।

काँग्रेसमा लागेर कतिपयले आफ्नो घरखेत नै सिध्याँए । कयौं जनता र कार्यकर्ता शहिद भए । कतिपय नेताहरुले वर्षौ जेल जीवन बिताए । अहिले आरजु नक्कली भुटार्नी शरणार्थी प्रकरणमा मुछिएकी छन् । उनी यो केसमा पक्राउ पर्ने देखिएपछि देउवाले पार्टीको सिद्धान्त, इतिहास, जनता र नेताहरुको त्याग बिर्सिएर एमालेसँग हातेमालो गरेका हुन् । ०७२ सालमा संविधान घोषणा गर्ने समयमा सभामुखमा एमालेका नेता स्वर्गीय सुवास नेम्वाङ थिए ।

संविधानमा स्पष्ट लेखिएको छ कि प्रधानमन्त्रीले विश्वासको मत लिन नसकेमा वा विश्वास गुमाएमा प्रतिनिधिसभाको ठुलो दलको नेतृत्वमा सरकार गठन गर्नुपर्छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले यही असार २८ गते विश्वासको मत लिन सदनमा प्रस्ताव दर्ता गराइसकेका छन् ।

तर, एमाले र काँग्रेसका सांसदहरु अहिले पनि प्रधानमन्त्रीको राजीनामा मागिरहेका छन् । संविधानमा प्रधानमन्त्रीले विश्वासको मत लिन पाउने अधिकार स्पष्ट रुपमा लेखिएको छ । अझ संवैधानिक व्यवस्थाअनुसार त कुनै दलले सरकारलाई दिएको समर्थन फिर्ता लिएमा त्यसको ३० दिनसम्म प्रधानमन्त्रीले विश्वासको मत लिन पाइने प्रावधान छ ।
त्यसो त प्रधानमन्त्रीले साउन १८ गतेसम्म विश्वासको मत लिन पाउँछन् । यद्यपि, उनले यही असार २८ गते नै विश्वासको मत लिन लागेका हुन् । प्रधानमन्त्री प्रचण्डले चाहेको भए उनले विश्वासको मत ढिलो लिएर अझै केही गर्न सक्थे । तर, उनी यस्तो योजनामा छैनन् ।

प्रधानमन्त्रीले विश्वासको मत छिट्टै लिन खोज्दा समेत काँग्रेस र एमालेका सांसदहरु अझै उनको राजीनामा मागिरहेका
छन् । के काँग्रेस र एमालेले संविधानलाई लत्याउन खोजेका हुन् ? कि संविधानमाथि यीनीहरु हुन् ? भनिन्छ कि सर्पलाई बिख र मान्छेलाई इख चाहिन्छ । ०७४ सालमा शेरबहादुर देउवा प्रधानमन्त्री थिए ।

०७४ मंसिर १० र २१ गते पहिलो पटक प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन भयो । देउवाकै नेतृत्वमा चुनाव भएको थियो । त्यतिखेर माओवादी र एमाले गठबन्धन गरी चुनावमा सामेल भयो । र, बहुमत पनि ल्यायो । ०७४ पुसमा देउवानेतृत्वको मन्त्रिपरिषद् बैठकले एउटा निर्णय गरेको थियो ।

ज्येष्ठ नागरिकहरुले ७० वर्ष पुरा भएपछि ७१ वर्षको उमेरमा भत्ता पाउनेमा ६८ वर्षमै भत्ता दिने निर्णय गरिएको थियो । त्यस्तै, मृगौला फेल भएका, मेरुदण्ड भाँचिएका र मानसिक समस्या भएकालाई मासिक रुपमा पाँच हजार रुपैयाँ दिने निर्णय देउवानेतृत्वको सरकारले गरेको थियो । यता, एकल महिला, अपांगको भत्ता बढाउने पनि भनिएको थियो ।

यो निर्णयले आम सर्वसाधारण हर्षित भएका थिए । ०७४ फागुल्न ३ गते केपी ओली प्रधानमन्त्री भएर आए । यस निर्णयले अर्को निर्वाचनमा काँँग्रेस ठुलो पार्टी हुन्छ र आफुहरु हारिन्छ भनेर ओलीले देउवा नेतृत्वको मन्त्रिपरिषद्ले गरेका सबै निर्णय खारेज गरिदिए । एमालेले सर्वसाधारणलाई कतिसम्म भ्रममा पार्यो भनेर भन्नुपर्दा उसले ज्येष्ठ नागरिक भत्ता समेत आफ्नो पार्टीले दिएको दाबी गर्यो ।

ज्येष्ठ नागरिकलाई भत्ता दिने निर्णय एमालेले गरेपनि जनताले तिरेको करबाट भत्ता दिइएको हो । तर, एमालेले ज्येष्ठ नागरिकलाई आफुहरुले भत्ता दिएको भ्रम फिजाँएर सर्वसाधारणलाई भोट बैंकको रुपमा प्रयोग गर्यो । अहिले ओली र देउवाबीच केही सम्झौता भएको छ । ओलीलाई प्रधानमन्त्री बनाउन संविधान संशोधन गर्न दुवै लागिपरेका छन् ।

संविधान संशोधन गर्न दुई तिहाई आवश्यक पर्छ । तर, काँग्रेस–एमाले मिलेपछि दुई तिहाई पुग्दैन । काँग्रेस र एमाले मिल्दा १६७ हुन्छ । यद्यपि, संविधान संशोधन गर्दा दुई तिहाई अनिवार्य चाहिन्छ । यदि, संविधान नै संशोधन गरेर ओलीलाई प्रधानमन्त्री बनाएपनि देश विकास हुने छैन न त जनताले केही पाउने छन् ।

ओली आफु झापाको गिरिबन्धु टु स्टेट र आरजु नक्कली भुटानी शरणार्थी प्रकरणमा जोगिन यो सबै खेल खेलिएको हो । यस्तो खेल चलिरहँदा काँग्रेसका विद्वान नेता शंशक कोइराला र डा.शेखर कोइराला मौन छ । उनीहरुले अहिलेसम्म यसको विरोध गरेका छैनन् । यता, काँग्रेसका लोकप्रिय नेता स्वर्गीय गिरिजाप्रसाद कोइरालाकी छोरी सुजता कोइराला ओली–देउवाको सहमतिविरुद्ध उभिएकी छैनन् ।

केही दिनअघि सदनमा काँग्रेसका सांसद रामहरि खतिवडाले पहिरोले सडक अवरोध गरेमा डोजरले पन्छाएजसरी अब सदनले प्रचण्डलाई फ्यालेर ओली प्रधानमन्त्री बन्ने बताए । तर, ०८४ सालको निर्वाचनमा काँग्रेस कहाँ पुग्छ भनेर अहिले काँग्रेसका नेताहरुलाई केही पनि ज्ञान छैन । रवि लामिछानले गृहमन्त्री हुनासाथ सुन काण्डमा माओवादीका नेता कृष्णबहादुर महरालाई समातेका थिए ।

प्रधानमन्त्री माओवादीकै अध्यक्ष प्रचण्ड थिए । अर्कोतर्फ, महरा पटकपटक सांसद र सभामुख भइसकेका व्यक्ति पनि हुन् । जनयुद्धका साथी समेत रहेका महरा सुन काण्डमा पक्राउ पर्ने थाहा पाएपनि प्रचण्डले उनलाई जोगाएनन् । यता, रवि लामिछाने गृहमन्त्री हुनासाथ नक्कली भुटानी शरणार्थीमा पक्राउ पर्ने डरमा आरजु उपचारका लागि भन्दै भारत
भागिन् ।

अहिले आरजुलाई बचाउन काँग्रेसका नेता र सांसदहरु ज्यान फ्यालेर लागिपरेका छन् । आफ्नो पार्टीको सिद्धान्त, जनताको त्याग सबै बिर्सिएका छन् । त्यसैले, आगामी निर्वाचनमा काँग्रेस नराम्ररी पछारिनेछ । किनकि काँग्रेस भ्रष्टाचारीलाई समात्न सक्ँदैन । उल्टै बचाउन खोज्छ । हजारौं जनता शहिद भएर र करोडौं जनताको विश्वास बोकेको काँग्रेस पार्टी आज एक जनालाई बचाउन खोज्दा जनताको आशा, भरोसा सबै गुमेको छ । अब काँग्रेसका नेताहरु जनतामाझ कुन मुख लिएर जान्छन् ?

रुषा थापा