काँग्रेसद्धारा संविधान सशोधनको पक्षमा मतदान गर्ने निर्णयका साथै छुट्टै संशोधन दर्ता गर्ने निर्णय पनि

१७ जेठ, काठमाडौं । प्रमुख विपक्षी दल नेपाली कांग्रेसले संविधान संशोधनको पक्षमा मतदान गर्ने निर्णय गरेको छ ।

पार्टी कार्यालय सानेपामा आज शनिबार बसेको कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले लिम्पियाधुरालाई समेटिएको नयाँ नक्साअनुसार निशान छाप परिर्वतन गर्न ल्याइएको संविधान संशोधन विधेयकको पक्षमा मतदान गर्ने निर्णय गरेको हो ।

सुगौली सन्धिले कालीपूर्वको भूभाग हाम्रो भएको प्रष्ट भएको छ । यसलाई अंग बनाउने गरी सरकारले ल्याएको संविधान संशोधन प्रस्ताव उचित छ । यसको पक्षमा मतदान गर्न संसदीय दललाई निर्देशन गर्दछ ।

सरकारले नयाँ नक्साअनुसार निशान छाप परिर्वतन गर्न शुक्रबार संसद सचिवालयमा संविधान संशोधन विधेयक दर्ता गरेको थियो ।

बुधबार संसदमा पेश गर्ने तयारी पनि थियो । तर अघिल्लो दिन बसेको सर्वदलीय बैठकमा कांग्रेसले समय मागेको भन्दै बुधबार संसदको कार्यसूचीमा राखिएको थिएन ।

यसैबीच कांग्रेस बैठकले छुट्टै संविधान संशोधन विधेयक दर्ता गर्ने निर्णय पनि गरेको छ । पार्टी सभापति शेरबहादुर देउवा प्रधानमन्त्री भएको बेला मधेस केन्द्रीय दलहरुको माग सम्बोधन गर्न दर्ता गरेको तर संसदबाट अस्वीकृत भएको विधेयकलाई नै फेरि दर्ता गर्ने निर्णय भएको हो ।