Breaking News

आरजुलाई जोगाउन आफ्नो सिद्धान्त नै कुल्चेर एमालेसँग सहमति गर्यो काँग्रेसले

उपत्यकाभित्र काठमाडौं, ललितपुर र भक्तपुर गरी तीन जिल्ला पर्दछन् । तर, यहाँ देशभरका अन्य ७४ जिल्लाका मानिसहरु पनि बसोबास गर्छन् । कोहीले जग्गा किनेर घर नै बनाएका छन् त कोही कोठा, फ्ल्याट भाडामा लिएर बस्दै आएका छन् । चैत, वैशाखमा यहाँ गर्मी र प्रदूषणले उपत्यकामा बस्दै सकिँदैन । झन् असार, साउनमा त यहाँ डुबान
हुन्छ । खोलाको बाँयादाँयाको जग्गामा अतिक्रमण गरेर घर, टहरा बनाइएको छ । सुकुम्बासीको नाममा त्यस्तो सरकारी जग्गा कब्जा गरिएको छ । आकाशबाट परेको पानी जाने ठाउँ छैन । किनकि जताततै घर बनेको छ । सडक पनि पिच गरिएको छ ।

उपत्यकामा अहिले पनि बर्खाको समयमा धारामा पानी आउँदैन । हिउँदमा त पानी देख्नै मुस्किल पर्छ । यहाँ भएका ताल, पोखरी, ढुंगे धारा सबै अतिक्रमण गरेर घर बनाइसकेको छ । जग्गा दलाली, भूमाफियाहरुले यहाँका खेतीयोग्य जमिन सबै प्लाटिङ गरेर सिध्याँए । एक रोपनी जग्गामा १६ आना हुन्छ । तर, दलालीहरुले किसानसँग रोपनीको लाखमा किनेर खण्डीकरण गरी आनाकै ६०–७० लाखमा बेचिदिए । बाहिरी जिल्लाका मानिसहरुले यहाँ आएर जग्गा किनेर घर बनाए । आफ्नो जन्मथलोको सम्पत्ति बेचेर, विदेश गएर कमाएको वा जागिर, व्यापार व्यवसाय गरेर कमाएको पैसा यहीँ उपत्यकामै लगानी गरे ।

फेरि सबैले घरजग्गामै लगानी गरे । उनीहरुको सोच थियो कि घर बनाएपछि महंगोमा भाडामा लगाएर आम्दानी गरिन्छ । एउटै कोठाको पाँच हजारदेखि बीस हजार, एक फ्ल्याटको ३० हजारदेखि दुई लाख र एउटा सटरको ५० हजारदेखि १८ लाखसम्म असुल्ने उनीहरुको सोच थियो । यता, खाली सटरको त २० लाखदेखि ५० लाख आउँछ भनेर मख्ख नै परे । अहिले उपत्यकाभित्रका खोला सबै अतिक्रमण गरिएको छ । जथाभावी बस्ती निर्माण भएको छ । यसले गर्दा मानिसको ज्यानै समेत जोखिममा परेको छ । २०७९ मंसिर १२ गते काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) नेतृत्वको महानगरीय प्रहरी टोली थापाथलीस्थित बागमती किनारामा रहेको सुकुम्बासी हटाउन पुगेको थियो ।

तर, सुकुम्बासीका नाममा त्यहाँ वर्षौदेखि सरकारी जग्गा कब्जा गरेर बसेकाहरु लडाइँमै उत्र्रिए । महानगर प्रहरीमाथि ढुगामुंढा गरे । कयौं प्रहरी त घाइते समेत भए । त्यसपछि टोली सुकुम्बासी नहटाई फर्किएको थियो । त्यसको केही दिनपछि गैरीगाउँमा रहेको सुकुम्बासी बस्ती हटाउन पनि महानगरको टोली पुगेको थियो । यद्यपि, पहिल्यै सुराकी पाएका उनीहरु सम्पूर्ण तयारीका साथ बसेका थिए । यो पटक पनि महानगर टोली यसै फर्कियो । यो सबैमा नेकपा एमालेका अध्यक्ष केपीशर्मा ओलीको ठुलो हात समेत छ । किनकि उनले नै सुकुम्बासी बस्तीलाई उचालेका थिए । उनले महानगर टोली आएमा खुकुरी लिएर बस्न वा लडाईँमा उत्र्रिन आदेश दिएका थिए । केही दिनअघि न्युरोडमा महानगरले पार्किङ्ग हटाएर फुटपाथ बनाउन थालेको थियो ।

त्यसमा पनि ओलीले आफ्नो कार्यकर्ता वा वडाध्यक्षलाई उचालेर फुटपाथ बनाउन दिएनन् । जग्गा प्लाटिङ्ग गर्ने सबै रााजनीतिक दलकै कार्यकर्ता हुन् । बैंकले सय रुपैयाँ किस्तामा निष्काशन गरेको सेयर चार हजार कित्ता पुर्याउने पनि दलकै कार्यकर्ता हुन् । उता, भारतमा एक लाखमा पाइने सवारीसाधन यहाँ ल्याएर ३५ लाखमा बेच्ने पनि यीनीहरु नै हुन् ।
अनि लघुवित्त, सहकारी, फाइनान्स, बैंक, मिन पावर, एनजीओ, निजी विद्यालय तथा अस्पताल खोल्ने पनि राजनीतिक दलकै नेता तथा कार्यकर्ता हुन् । साथै, सरकारी, सार्वजनिक जग्गा वा सम्पत्ति कब्जा, दोहन गर्ने पनि यीनीहरु नै हुन् । अहिले उपत्यका अस्तव्यस्त बनेको छ ।

सडककै बाँयादाँया पेट्रोल पम्प सञ्चालन भएका छन् । कबाडी, पार्टी प्यालेन्स, ड्राइभिङ सेन्टर, भाटभटेनी, सुपरमार्केट, वर्कशपहरु सबै सडककै छेउछाउमा सञ्चालन भएका छन् । ओली न आफु काम गर्छन् न अरुलाई नै गर्न दिन्छन् । भनिन्छ नि बाँदरले न आफ्नो घर बनाउँछ न अरुलाई नै बनाउन दिन्छ । अझै पनि आफु प्रधानमन्त्री बन्न पाउँछु भनेर ओली काँग्रेसलाई फकाईरहेका छन् । अहिले काँग्रेसमा राम्रो नेता भनेर चन्द्र भण्डारीलाई मात्र जनता चिन्छन् । यता, गगन थापा, प्रदीप पौडेल र डा.शेखर कोइरालाले त ओलीलाई प्रधानमन्त्री बनाउन आफुहरु तयार रहेको बताइसकेका छन् ।

शेरबहादुर देउवाले नक्कली भुटानी शरणार्थी प्रकरणमा आफ्नी पत्नी आरजु राणा जेल जाने भएपछि काँग्रेसको सिद्धान्त, विचार र जनताले दिएको जिम्मेवारी ओलीलाई दिएर बुझाए । अहिलेसम्म काँग्रेसका कुनै पनि सांसदले ओलीलाई प्रधानमन्त्री दिनुहुन्न, हामीलाई जनताले पहिलो पार्टी बनाएको हो र हाम्रै नेतृत्वमा सरकार गठन हुनुपर्छ भनेर बोलेका छैनन् । चन्द्र भण्डारीले समेत यसबारे केही बोलेका छैनन् । यदि अहिले काँग्रेसले ओलीलाई प्रधानमन्त्री बनाएमा आगामी निर्वाचनमा काँग्रेस पतानसाप हुनेछ ।

देउवाले आफ्नी पत्नीलाई बचाउन खोज्दा समग्र काँग्रेस नै सकिने देखिएको छ । काँग्रेसका लाखौं कार्यकर्ता अहिले निराश छन् । जनताले पनि काँग्रेसलाई अब भोट दिनुहुन्न भनेर भन्न थालिसकेका छन् । रवि लामिछानेले गृहमन्त्री हुनासाथ भ्रष्टाचारका फाइल खोल्नुपथ्र्यो । आरजुलाई समात्नु पथ्र्यो ।

तर, उनले बोले मात्रै, केही गरेनन् । ओलीको निर्देशन मान्दा आज रवि र उनको पार्टी नै सकिने अवस्थामा पुगेको छ । अहिले सर्वसाधारण भन्छन्, ‘आरजुको नक्कली भुटानी शरणार्थी र ओलीको गिरिबन्धु टु स्टेटको काण्ड लुकाउन एमाले–काँग्रेसबीच मिलेर सरकार गठन गर्ने सहमति भएको हो ।’

काँग्रेसका सांसदहरुसँग अझै पनि मौका छ, जनताको जिम्मेवारी पूरा गर्ने । ओलीलाई प्रधानमन्त्री दिनुहुन्न भनेर काँग्रेसका सांसद, नेता तथा कार्यकर्ताहरुले ओली र देउवाबीचको सहमति तोडाउनुपर्छ । यसो नगरे आगामी निर्वाचन काँग्रेस शून्य हुनेछ । अहिले पनि देशभरका जनताको मुखमा बालेनकै नाम छ ।

सानो होस् या ठुलो जोकोहीको मुखमा बालेनकै नाम छ । बालेनले काम गरे त सबैको मुखमा उनको नाम छ । तर, उनले पनि काम गर्न नसकेको भए आज उनलाई कसैले चिन्दैन्थ्यो । त्यसैले, अब काँग्रेसले पनि काम गर्न नसक्ने ओलीलाई प्रधानमन्त्री बनाउनुहुन्न । किनकि विगतमै सर्वसाधारणले ओली प्रधानमन्त्री हुँदा गरेको काम राम्ररी देखेका छन् ।

काँग्रेसको इतिहास छुट्टै छ । गिरिजाप्रसाद कोइरालाले माओवादीलाई जनयुद्धबाट शान्ति वार्तामा ल्याए । मुलुकमा हत्या, हिंसा रोके । त्यस्तै, सुशिल कोइरालाले संविधान निर्माण गरे । देश र जनताको हितमा पहिलो पटक संविधान ल्याउ । तर, अहिले देउवाले आफ्नी पत्नी पक्राउ पर्ने भएपछि काँग्रेसको सिद्धान्त, विचार सबै ओलीलाई जिम्मा लगाएका छन् ।
अब काँग्रेसमा कोही असल नेता छन् भने यसको विरोध गर्नुपर्छ । ओली–देउवाको सहमति तोडाउनुपर्छ । जनताले घाम, पानी नभनी घण्टौंको लामो बाटो हिँडेर मतदान काँग्रेसलाई ८९ सिट जिताए । विडम्बना, जनताको त्यागलाई नदेखेर नेतृत्व आफ्नो स्वार्थमा रमाएपछिआज जनता काँग्रेसबाट निराश भएका छन् ।

काँग्रेसमा देशर जनताको लागि काम गर्न सक्ने कोही पनि रहेनछ भनेर जनताले बुझिसकेका छन् । अहिले आरजु जोगाउन भएको सहमतिको क्षति ०८४ सालको निर्वाचनमा एमाले र काँग्रेसले नै भोग्नुपर्छ । ०७९ वैशाख ३० गते देशभर स्थानीय चुनाव भएको थियो ।

काठमाडौं महानगरपालिकाको मेयरमा ५० औं वर्षदेखि कि काँग्रेस कि एमालेले जित्दै आएको थियो । राजनीतिक दलबाट चुनाव जितेका मेयरले सिन्को नभाँच्ने, उल्टै सरकारबाट हानिनोक्सानी हुने निर्णय गर्ने गरेका थिए । काठमाडौंमा पढेलेखका जनता छन् । यहाँका जनता पैसामा बिक्दैनन् ।

त्यसैले, उनीहरुले राजनीतिक दलका उम्मेदवारलाई हराएर बालेनलाई जिताए । अहिले बालेनको कामले काठमाडौंका जनताको शिर ठाडो भएको छ । देश, विदेशमा बालेनकै चर्चा छ । यो चर्चा बालेनको मात्र होइन, उनलाई मतदान गर्ने जनताको पनि हो । अहिले  जनतालाई राजनीतिक दलबाट घृणा लाग्न थालेको छ ।

किनकि राजनीतिक दलहरु अपराधीलाई लुकाउने राजनीति गरिरहेका छन् । यतिबेला काँग्रेसआरजुलाई जोगाउन लागेको छ । तर, काँग्रेसले आरजु जोगाउने होइन देश र जनताको हितका लागि निर्णय गर्ने हो । अझै पनि केही बिग्रिएको छैन । काँग्रेसका नेता, कार्यकर्ताहरु आरजुलाई जोगाउन पार्टीको सिद्धान्त नै कुचेर ओलीसँग सहमति गर्नुहुन्न भनेर आवाज उठाउनुपर्छ ।

अहिले गृहमन्त्री रवि लामिछाने भन्छन्, ‘मैलें भ्रष्टाचार फाइल खोलेर एमाले–काँग्रेस मिलेका हुन् ।’ लामिछाने देशको गृहमन्त्री हुन् । उनले भनेको कुरा ख्याल ठट्टामा लिन सकिँदैन त्यसैले, अब समयमै काँग्रेसले उचित निर्णय नलिए भोलि काँग्रेस र एमालेलाई नै यसले ठुलो नोक्सानी पुर्याउनेछ ।

रुषा थापा