Breaking News

कांग्रेस र एमाले आफैं मिलेको नभई कसैले मिलाइदिएको हो

२८ असार, काठमाडौं । प्रधानमन्त्री प्रचण्ड संसदमा विश्वासको मत लिन क्रममा संसदमा बोल्ने क्रममा कांग्रेस र एमाले आफैं मिलेको नभई कसैले मिलाइदिएको दाबी गरेका छन् ।

प्रधानमन्त्री प्रचण्डले कांग्रेस र एमालेबीच भएको सहमतिमाथि प्रश्न उठाए । पछिल्लो पटक नयाँ गठबन्धन बनेको बेला दुई दलका नेताहरुको अभिव्यक्ति सुनेपछि आफूले मिल्न मन छ भने मिल्नुस् भनेको उनले सम्झिए । ‘आज त्यही दिन
आयो । अनौठो केही मानेको छैन ।

तर कांग्रेस र एमाले आफैं मिलेको नभई अरुले मिलाइदिएको उनको दाबी छ । ‘तपाईंहरुलाई कसैले मिलाएको हो । किन मिलाएको हो ? घाम जत्तिकै छर्लङ्ग छ ।’

हिजोसम्म कानुनमाथि नै शासन गरेका समूहहरु आफ्नो सरकारसँग डराएर सरकार नै फेर्न लागेको उनले बताए । ‘त्रिभुवन विश्वविद्यालयको जग्गा खोज्न थालियो, एउटा समूह डरायो । ललिता निवासको विस्तृत अनुसन्धान र जग्गा फिर्ता थालियो, अर्को समूह डरायो । भुटानी शरणार्थी प्रकरणको विस्तृत अनुसन्धान सुरु भयो, अर्को ठूलै समूह डरायो,’ उनले भने, ‘बाँसबारीदेखि बालमन्दिरको जमिन खोजी हुन थालेपछि यो देशको शक्ति सन्तुलन नै खलबलिन थाल्यो ।’

त्यही वर्गले देशको पहिलो र दोस्रो दल मिलायो । यसरी त्यो वर्गले आफ्नो शक्ति देखायो ।’

उनले जनता जागेर आफ्नो शक्ति देखाउने बेला आएको बताए । माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री प्रचण्डले भने, ‘जनताले आफ्नो शक्ति देखाउनु भएन भने देशको शासन फेरि माफियाहरुकै अधिनमा जाने खतरा छ ।’

प्रधानमन्त्री प्रचण्ड