२०७७ पुस ५ गते र ०७८ जेठ ८ गते तत्कालिन प्रधानमन्त्री एमालेका अध्यक्ष केपीशर्मा ओलीले दुई पटक संसद विघटन गरे । तर, सर्वोच्च अदालतले संसद विघटन दुवै चोटी उल्टाइदिएको थियो । अहिले पनि सार्वजनिक कार्यक्रममा ओली भन्छन्, ‘मैलें गरेको संसद विघटन ठिक थियो ।’
उनको भनाइअनुसार अदालतले संसद विघटन उल्टाउनु हुन्न थियो । ओलीलाई अझै पनि आफुले गरेको सो कार्यको पक्षताप छैन । उनले गत निर्वाचनको मत परिमाणपछि समेत कसैको बहुमत नआएकोले मध्यावधिमा जानुपर्ने बताएका थिए । ०८० फागुल्न २१ गतेअघिसम्म नेपाली कांग्रेस पनि सरकारमा सामेल थियो । ०७९ मंसिर ४ गतेको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन माओवादी र कांग्रेसले गठबन्धन गरेर गरेको थियो ।
गत फागुल्न उक्त गठबन्धन फुटेपछि ओलीले सार्वजनिक कार्यक्रममै भने, ‘माओवादी र कांग्रेसको गठबन्धन मैलें फुटाएको हो ।’ र, एमाले माओवादीसहितको सरकार गठन भयो । ०७९ सालको निर्वाचनमा जनताले कांग्रेसलाई पहिलो पार्टी बनाए । माओवादीले ३२ सिट जित्यो । मानिस होस् या पार्टी समेत इमान्दार हुन आवश्यक छ ।
निर्वाचनपछि सरकार गठन प्रक्रियामा कांग्रेसले आफुलाई प्रधानमन्त्री दिने नदेखिएपछि पुष्पकमल दाहाल प्रचण्ड कांग्रेससँगको गठबन्धन तोडेर ओलीसँग गठबन्धन गर्न बालकोट पुगे । प्रचण्डले पहिलो पटक विश्वासको मत लिँदा उनलाई कांग्रेसले समेत दिए । २७५ जना सांसदमध्ये २६८ जना सांसदले उनलाई विश्वासको मत दिएका थिए ।
त्यसपछि आक्रोशित एमाले केही समयपछि सरकारबाट बाहिरियो । अनि शुरु भयो कांग्रेस–माओवादी गठबन्धन फुटाउने एमालेको रणनीति । सोहीअनुरुप गत फागुल्न कांग्रेस–माओवादीको निकै लामो समयदेखिको गठबन्धन तोड्न एमाले सफल भयो । गठबन्धन तोडिएपछि कांग्रेस विपक्षमा रह्यो ।
०८० फागुल्न २८ गतेदेखि ०८१ जेठ १५ गतेसम्म कांग्रेसले सहकारी ठगीको छानबिन गर्न संसदीय समिति गठन गर्नुपर्ने माग गर्दै सदन अवरोध गर्यो । संसदीय छानबिन समिति गठन गर्नुहुन्न भनेर ओलीले भने । प्रधानमन्त्री प्रचण्डले पटकपटक समिति गठन खोजेपछि ओलीले दिएनन् ।
यता, गृहमन्त्री रवि लामिछानेले नक्सालस्थित बालमन्दिरको जग्गा हिनामिना प्रकरणमा पक्राउ पूजी जारी भएका २१ जनालाई समात्न खोजे । तर, त्यो पनि ओलीले गर्न दिएनन् । उनले भ्रष्टाचारका पुराना फाइल समेत खोल्न दिएनन् । गृहमन्त्री लामिछानेलाई ओलीले अलमलाएर राखे । यद्यपि, यो कुरा लामिछानेले बुझेनन् । अहिले आएर ओलीले रवि र प्रचण्डलाई घुसमा सुताएर कांग्रेससँग सहमति गरेका छन् ।
आम सर्वसाधारण भन्छन्, ‘ओली फेरि प्रधानमन्त्री बने, उनले फेरि संसद विघटन गर्छन् ।’ ०७४ सालको निर्वाचनमा एमाले राष्ट्रिय पार्टी बनेको थियो । जनताले पाँच वर्ष सरकार चलाउन भनेर बहुमत दिएका थिए । तर, ओली प्रधानमन्त्री हुँदा कहिले बालुवाटारमा बासुरी बजाएर बस्ने त कहिले जनताले तिरेको करमा तिजको भोज लगाउने ।
यता, पार्टीदेखि मन्त्रिपरिषद्को बैठक समेत बालुवाटारसमेत राख्थे उनी । यतिसम्म कि आफ्नो जन्मदिनमा समेत देशको नक्साललाई केक बनाएर काटेर खाए । ओली प्रधानमन्त्री हुँदा बिरामी मात्र भइरहे । उनको उपचारमा मात्रै जनताले तिरेको करोडौं कर सकियो । हिजो आफ्नो बहुमतको सरकार त विघटन गरेका उनले अब प्रधानमन्त्री बनेमा फेरि संसद विघटन नगर्नेमा कुनै आशंका छैन ।
अहिले बजारमा बहस चलिसक्यो, प्रचण्डसँग नैतिकता छ भने शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाएर माओवादी पनि सरकारमा रहनुपर्छ । यदि माओवादीले अहिले इमान्दारिता नदेखाए अर्को निर्वाचनमा जिरो हुने बताइन्छ । अब बल माओवादीसँग छ । प्रचण्डले दिमागसँगै इमान्दारिता देखाउनुपर्छ । कांग्रेसलाई दिएको धोका पुर्नुपर्छ ।
अहिले कांग्रेसले बाध्यताले एमालेसँग गठबन्धन गर्न लागेको हो । तर, अहिले पनि केही बिग्रिएको छैन । प्रचण्डले कांग्रेसलाई प्रधानमन्त्री दिएर पुनः सरकार गठनको योजना बनाउनुपर्छ । राजनीति भन्नेबित्तिकै फोहोरी खेल र झुट्टा कुरा मात्र गर्नुहुन्न । कतिपय अवस्थामा इमान्दार पनि हुनुपर्छ ।
स्वर्गीय गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री हुँदा माओवादीलाई शान्ति वार्तामा ल्याएका थिए । ०६४ चैत २८ गते पहिलो पटक मुलुकमा संविधानसभाको निर्वाचन भयो । पहिलो पार्टी माओवादी बन्यो । एक सय २१ क्षेत्रमा प्रत्यक्ष निर्वाचन जित्यो माओवादीले । माओवादी त्यतिखेर धेरै क्षेत्रमा थोरै भोटले हारेको थियो ।
सो निर्वाचनमा कांग्रेसले थोरै सिट मात्र जितेको थियो । त्यतिखेर कांग्रेसले चुनाव हारे पनि देशमा शान्ति ल्याउनमा सफल भयो । माओवादी जनयुद्धमा थियो । जनयुद्धको क्रममा हजारौं सर्वसाधारणले आफ्नो ज्यान गुमाए । यदि माओवादी शान्ति प्रक्रियामा नआएको भए अहिले लाखौं सर्वसाधारणको ज्यान गइसकेको हुन्थ्यो । तर, कांग्रेसका तत्कालिन प्रधानमन्त्री गिरिजाले माओवादीलाई शान्ति वार्तामा ल्याए । र, हत्या हिंसा रोके । त्यसपछि निर्वाचनमा कम सिट ल्याएपनि कांग्रेस मुलुकमा शान्ति स्थापना गर्न भने सफल भएको थियो । ०६५ जेठ १५ गते देशबाट राजतन्त्र हट्यो र लोकतन्त्र गणतन्त्र आयो ।
राजा ज्ञानेन्द्र शाहले दरबार छोडे । उनी नागार्जुनमा गएर बसे । गिरिजा नलागेको भए राजतन्त्र हट्दैन्थ्यो । आज पनि मुलुकमा राजतन्त्र नै हुन्थ्यो । त्यतिबेला पनि प्रचण्डले गिरिजालाई भनेका थिए, ‘राजतन्त्र हटेमा पहिलो राष्ट्रपति तपाईँलाई बनाउँछु ।’ गिरिजाले प्रचण्डको विश्वास गरे र राजतन्त्र हटाउन तयार भए । तर, प्रचण्डले उनीसँग पनि विश्वासघात गरे । गिरिजालाई राष्ट्रपति बनाउन माओवादी तयार भएन । र, आफ्रनै उम्मेदवार उठायो । पछि कांग्रेसले नै उठाएको उम्मेदवार रामवरण यादव राष्ट्रपति बने । यसरी माओवादीले दिएको धोकाका कारण पहिलो पटकको निर्वाचनबाट संविधान बने ।
अनि ०७० सालमा निर्वाचन भयो । पहिलो निर्वाचनमा पहिलो पार्टी बनेको माओवादी यो चुनावमा तेस्रो बन्न पुग्यो । यसमा कांग्रेस भने पहिलो पार्टी बन्यो । त्यसपछि कांग्रेसबाट सुशील कोइराला प्रधानमन्त्री बने । उनले ०७२ असोस ३ गते संविधान जारी गरे । ०७० सालको निर्वाचनपछि माओवादीले अब जनताले हामीलाई विश्वास गर्दैनन् भनेर थाहा पायो ।
त्यसपछि शुरु भयो माओवादीको कहिले कांग्रेस त कहिले एमालेसँग टाँसिने प्रक्रिया । ०७४ सालको निर्वाचनमा माओवादी एमालेसँग टाँसिन पुग्यो । ०७९ सालको निर्वाचनमा कांग्रेससँग टाँसियो । अब ०८४ सालको निर्वाचनमा त माओवादी शून्य नै हुनेछ । आगामी निर्वाचनमा माओवादीले एक सिट पनि जित्ने छैन ।
अहिले पनि कांग्रेस ठुलो वा पहिलो पार्टी हो । माओवादीका अध्यक्ष प्रचण्ड प्रधानमन्त्री भएको झण्डै १९ महिना भयो । यो अवधिमा मुलुकको अर्थतन्त्र झनै नाजुक अवस्थामा पुगेको छ । यता, कांग्रेस पहिलो पार्टी भएपनि १९ महिनासम्म तेस्रो पार्टीले सरकार चलाएको हेरेर बसिरह्यो ।
माओवादीको पोलिसी पहिल्यैदेखि ढाँट सुम्सुमाएर टाउकोमा हिर्काउने हो । अनि यस्तो झुट्टो खेतीले कहिलेसम्म चल्छ
र ? अब प्रचण्डको फोहोरी राजनीति चल्दैन । माओवादी र प्रचण्डसँग अलिकति पनि इमान्दारिता छ भने कांग्रेसलाई प्रधानमन्त्री दिएर सरकार गठन गर्नुपर्छ । ओलीलाई प्रधानमन्त्री बनाउनुहुन्न भनेर बजारमा आवाज उठिसक्यो । किनकि ओली प्रधानमन्त्री बने फेरि संसद विघटन गर्छन् । र, चुनाव गराउन राज्यसँग पैसा छैन । यो भएमा देश झन् दलदलमा जानेछ । अब देशलाई दलदलबाट जानबाट समेत जोगाउन कांग्रेसलाई प्रधानमन्त्री दिनुपर्छ । अब सानो दलहरुले समेत कांग्रेसलाई प्रधानमन्त्री बनाएर देश जोगाउनुपर्छ । सानो दलहरुले अब सत्ताको पार्किङ मात्र गर्ने होइन । देश र जनताको लागि पनि सोच्नुपर्छ ।