Breaking News

बलात्कार आरोपमा पक्राउ परेका प्रहरी निरीक्षक बिदुर शिवाकोटी जेल चलान

काठमाडौं । बलात्कार आरोपमा पक्राउ परेका प्रहरी निरीक्षक बिदुर शिवाकोटी जेल चलान भएका छन् । काठमाडौँ जिल्ला अदालतले बुधबार इन्सपेक्टर शिवाकोटीलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको हो ।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयमा कार्यरत सिवाकोटीमाथि स्वयम्भूस्थित आफ्नै घरमा काम गर्न राखिएकी १३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोप लागेको छ ।

बालिकाको उजुरीपछि प्रहरीले गएको जेठ २३ गते उनलाई पक्राउ गरेर अनुसन्धान अघि बढाएको थियो । पीडित बालिकाले आफूलाई शिवाकोटीले विगत तीन वर्षदेखि पटक–पटक जबरजस्ती करणी गर्दै आएको आरोप लगाएकी
छिन् ।

उनी ६ वर्षको उमेरदेखि शिवाकोटीको घरमा काम गर्न बसेको पाइएको छ । बालिकाले काठमाडौँ जिल्ला अदालतमा शिवाकोटीले १० वर्षको उमेरदेखि १३ वर्षको उमेरसम्म आफूलाई पटक–पटक जबरजस्ती करणी गरेको बयान दिएकी छन् ।

शिवाकोटीको अत्याचार सहन नसकेपछि बालिकाले गएको जेठ २३ गते काठमाडौँ महानगरपालिकाको महानगर बाल अधिकार समितिका एक सदस्यलाई फोन गरेर उद्धारका लागि आग्रह गरेकी थिइन् ।

बालिकाको सूचना अनुसार महानगरको टोलीले सोही दिन शिवाकोटीको घरमा पुगेर बालिकाको उद्धार गरेको थियो ।
शिवाकोटीले श्रीमती नभएको बेलामा आफूलाई जबर्जस्ती करणी गर्ने गरेको बालिकाको आरोप छ ।

स्वास्थ्य परीक्षणमा पनि शिवाकोटीले बालिकामाथि जबरजस्ती करणी गरेको पुष्टि हुने आधार भेटिएको प्रहरीले जनाएको छ ।मुलुकी अपराध संहिताअनुसार आरोप पुष्टि भए शिवाकोटीलाई १८ देखि २० वर्षसम्म कैद सजाय हुनेछ ।