Breaking News

नेकपा एकीकृत समाजवादीको अध्यक्ष पुन: माधव नेपाल नै हुने पक्का

काठमाडौं । नेकपा एकीकृत समाजवादीको अध्यक्ष पुन: माधव नेपाल नै हुने पक्का जस्तै भएको छ । नेताहरूबीच भएको लामो छलफलपछि नेपाललाई सर्वसम्मत अध्यक्ष बनाउने सहमति जुटेको बताइएको छ ।

अध्यक्षको प्रतिस्पर्धी रहेका घनश्याम भुसाललाई महासचिव बनाएर माधवलाई अध्यक्ष सर्वसम्मत बनाउने प्रयास भएको थियो । महाधिवेशन प्रतिनिधिको संख्या नेपालको पक्षमा बढी देखिएपछि भुसालले वरिष्ठ उपाध्यक्ष दाबी गरेका थिए । तर, वरिष्ठ उपाध्यक्षमा राजेन्द्र पाण्डेको दाबी रहेकाले उनलाई कार्यकारी अधिकारसहितको महासचिव बनाउन लागिएको बताइएकाे छ ।

तर, भुसालले अध्यक्ष माधव र सम्मानित नेता झलनाथ खनालपछिको तेस्रो वरियतासहितको कार्यकारी पद दाबी गरेको एक नेताले बताए । महासचिव नै भएपनि वरियतामा सम्मानित नेताभन्दा पछि रहने अवस्थामा भुसालले माधव नेपाललाई समर्थन जनाउने बताएका छन् ।

पदाधिकारी सर्वसम्मति भएपछि केन्द्रीय सदस्यका लागि मनोनयनपत्र दर्ता गराएर नेतृत्वले सर्वसम्मत गराउने एकीकृत समाजवादीको तयारी छ ।