काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा राजनीतिको उपल्लो तहको नेक्सस बताउन सक्ने बेचन झा पक्राउ परेपछि राजनीतिक वृत्तमा तरङ्ग ल्याएको छ ।
नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाउने धन्दा गत वर्ष खुलेको थियो । गत वर्ष नै प्रहरीले गरेको अनुसन्धानले पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, निवर्तमान गृहमन्त्री बालकृष्ण खाँण र सचिव टेकनारायण पाण्डेसम्मलाई जेल पुर्यायाे । गत वर्ष पक्राउ परेका व्यक्तिहरूलाई मुद्दा चलाएर जेल चलान गरिए पनि प्रहरीले फाइल भने बन्द गरेको थिएन ।
दोस्रो चरणको अनुसन्धान थालेको एक वर्षपछि उच्च तहका बिचौलिया मानिएका बेचन झा पक्राउ गर्न प्रहरी सफल
भयो । शुक्रबार भारतबाट पक्राउ गरिएका झालाई आइतबार जिल्ला अदालत काठमाडौँ उपस्थित गराइएको थियो । बेचन झा तिनै हुन्, जसले भुटानी शरणार्थीको आरोपी रामशरण केसीले दुई करोड रुपैयाँ लिएको बयान दिएका थिए ।
उनीविरुद्ध प्रहरीले संगठित अपराध, ठगी, राज्यविरुद्धको अपराध र लिखत किर्ते मुद्दामा अनुसन्धान अघि बढाएको छ । पूर्वगृहमन्त्री खाँण र सचिव पाण्डेलाई ठगी गिरोहसँग उनले नै भेट गराइदिएका थिए । हाल सोही मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका सचिव पाण्डेले लिखित बयानमै यो तथ्य खुलाइसकेका छन् ।
अहिले गृहसचिव एकनारायण अर्याल र प्रहरी महानिरीक्षक (आईजीपी) वसन्तबहादुर कुँवर देशबाहिर छन् । अर्याल र कुँवर नभएका बेला उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले आफूनिकटका डीआईजी मनोज केसीमार्फत झालाई पक्राउ लगाएका हुन् । गृहसचिव अर्याल अहिले प्रहरी आईजीपी कुवारसँगै सशस्त्र प्रहरीका आईजीपी राजु अर्याललाई लिएर अमेरिका पुगेका छन् । डीआईजी केसी तिनै प्रहरी अधिकृत हुन्, जसले उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रमुख हुँदा नक्कली शरणार्थी प्रकरणको फाइल खोलेका थिए ।
तत्कालीन समयमा निवर्तमान गृहमन्त्री खाँणलाई पक्राउ गरेर चर्चामा आएका डीआईजी केसीलाई पछि सरुवा गरिएको थियो । तत्कालीन समयमा कांग्रेस, माओवादी र साना दलको गठबन्धन सरकार थियो । खाँणलाई पक्राउ गरेपछि कांग्रेसका सभापति देउवाकै दबाबमा केसीको सरुवा भएको चर्चा चलेको थियो ।
बेचन झाका बारेमा डीआईजी केसीले अपराध अनुसन्धान कार्यालयमै रहेका बेला राजनीतिक कनेक्सन पत्ता लगाएका थिए । त्यसैले अहिले गृहसचिव र आईजीपी देशबाहिर रहेका मैका छोपेर उनलाई पक्राउ गरिएको हो । त्यसो त प्रहरी अधिकृतको सरुवा–बढुवा र हाइप्रोफाइल व्यक्ति पक्राउ गर्न दिएको निर्देशनबारे आईजीपी कुँवरले अन्य शीर्ष नेतालाई रिपोर्टिङ गर्ने गरेको भन्दै गृहमन्त्री लामिछानेले आइजीपी हटाउने प्रयास गरेका थिए । गृहमन्त्री लामिछाने प्रहरी प्रमुख परिवर्तन गर्न सक्रिय भएपछि प्रधानमन्त्री ‘प्रचण्ड’ले नै सम्भव नरहेको जवाफ दिएका थिए ।
नक्कली शरणार्थी प्रकरणमा अहिले पक्राउ परेका बेचन झा यस्ता व्यक्ति हुन् जसले पूर्वगृहमन्त्री खाँडभन्दा माथिको नेक्सस खुलाउन सक्नेछन् । उनले नै नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने योजना मन्त्रिपरिषद्बाट निर्णय गराउने जिम्मा लिएका थिए ।
अहिलेसम्मको अनुसन्धानबाट, नक्कली शरणार्थी प्रकरणमा यसअघि पनि नाम जोडिएकी आरजु राणा देउवातर्फ शंकाको सुई घुम्न सक्छ । किनभने यसअघि पनि सन्देश शर्मा नाम गरेका अर्का आरोपीले पनि आरजुकै नाम लिएर पैसा असुल गरेको अडियो बाहिर आएको थियो । जुन अडियो प्रयोगशाला परीक्षणबाटै पुष्टि भइसकेको छ ।
बेचन झा पक्राउ परेपछि सत्तारुढ र विपक्षी दलका नेताहरूको घरदेखि सिंहदरबार र बालुवाटारसम्म शीर्ष नेताहरूको भेटघाट पनि बाक्लिएको छ । शनिबार कांग्रेस सभापति देउवा पत्नी आरजुसहित ओलीलाई भेट्न उनकै निवास बालकोट पुगेका थिए । आइतबार मात्रै ओली, प्रचण्ड र रविबीच सिंहदरबारमा छलफल भएको थियो ।
त्यस्तै सोमबार पनि प्रचण्ड र ओलीबीच भेटवार्ता भएको छ । पक्राउ परेका झा आरजु र कांग्रेस नेता कृष्ण सिटौलानिकट मानिन्छन् । आरजुका भाइ भूषण राणासँग बेचनको व्यावसायिक चिनजान थियो । उनीहरू व्यवसायी साझेदारसमेत
हुन् । भूषणमार्फत नै उनी आरजुसँग पनि जोडिएका हुनसक्ने आशङ्का गरिएको छ ।
बेचन झामार्फत दोस्रो चरणको अनुसन्धान अगाडि बढाउन खोज्नुले पनि यो मुद्दामा उच्चस्तरीय राजनीतिक नेक्सस रहेको आशंका देखाउँछ । तर, एक वर्षसम्म प्रमाण नष्ट भएको हुनसक्ने सम्भावना पनि उत्तिकै रहेको देखिन्छ । प्रहरीले बेचनसँग नक्कली शरणार्थी प्रकरणमा राजनीतिक सम्बन्ध कहाँसम्म छ, भन्ने प्रमाणसहित खुलाउन सक्छ कि सक्दैन ? त्यो भने प्रतीक्षाको विषय बनेको छ ।