Breaking News

एभरेस्ट इन्टरनेशनल मोडेल युनाइटेड नेशन्स (EIMUN) २०२४ काठमाडौंमा

२०८१ असार , काठमाडौं- एभरेस्ट इन्टरनेशनल मोडेल युनाइटेड नेशन्स (EIMUN) २०२४ को नवौं संस्करण काठमाडौंमा सुरु भएको छ। यस सम्मेलनमा १० देशका २०० भन्दा बढी युवा प्रतिनिधिहरू सहभागी भएका छन्।

युथ थिंकरस् सोसाइटी (YTS) द्वारा नेपालस्थित अमेरिकी दूतावासको सहकार्यमा आयोजित यो पाँच दिने सम्मेलनले युवाहरूलाई मानवीय सुरक्षा संकट र साइबर खतराहरू, राजनीतिक क्षेत्रमा महिलाको सहभागिता, डिजिटल गलत सूचना, कृषि जैविक विविधता संरक्षण, दिगो ऊर्जा र पानी व्यवस्थापन जस्ता विश्वव्यापी समस्याहरूको सामना र समाधान गर्न सशक्त बनाउने उद्देश्य राखेको छ।

“बौद्धिक गरिबी हाम्रो महादेशलाई पिरोलिरहेको मुख्य समस्या हो, र यस किसिमका कार्यक्रमहरू मार्फत युवामा लगानी गर्नु अति आवश्यक छ”, युवा चिन्तक समाजका सह-संस्थापक श्री चेवन राईले भने।

EIMUN दक्षिण र मध्य एशियाली क्षेत्रको सबैभन्दा प्रतिष्ठित मोडेल UN सम्मेलनहरूमध्ये एक मानिन्छ। यो सम्मेलनले विभिन्न सांस्कृतिक पृष्ठभूमिका युवाहरूलाई गहन बहस र वार्तामा संलग्न गराएर उनीहरूको कूटनीतिक क्षमतालाई सुदृढ बनाउने अवसर प्रदान गर्दछ।

सोमबार आयोजित उद्घाटन समारोहमा नेपाल सरकारको परराष्ट्र मन्त्रालयका संयुक्त सचिव अमृत बहादुर राई, नेपालका लागि अमेरिकी राजदूत डिन आर. थोम्पसन, र UN Women नेपालको लागी प्रतिनिधि पेट्रीसिया फर्नान्डेज-पाचेको लगायतका गणमान्य व्यक्तिहरूको उपस्थिति रहेको थियो।

उद्घाटन समारोहका वक्ताहरूले विश्व मामिलामा युवाहरूको संलग्नताको महत्त्वलाई जोड दिएका थिए। आयोजकहरूका अनुसार, EIMUN ले सांस्कृतिक समझदारीलाई प्रोत्साहन गरी र कूटनीतिक सीपहरूलाई प्रखर बनाई सहभागीहरूलाई भविष्यमा राम्रो र दिगो समाज निर्माण गर्न आवश्यक उपकरणहरू प्रदान गर्न लक्ष्य लिएको छ।

यस पाँच दिने सम्मेलनमा बंगलादेश, भारत, जापान, सुडान, कजाकिस्तान, किर्गिस्तान, नेपाल, म्यानमार, पाकिस्तान, र श्रीलङ्का जस्ता देशका युवा नेताहरूको सहभागिता रहेको छ।