Breaking News

मौद्रिक नीति जतिसुकै खुकुलो बनाइएपनि बढ्ने छैन घरजग्गा, गाडी र सेयर कारोबार

रात परेपछि दिन आउँछ । मानिस जन्मिएपछि ढिलो चाँडो मर्नैपर्छ । र, विद्यालय गएपछि धेरथोर शिक्षा हासिल गरिन्छ । यो तीन वटा कुरा जोकोहीले पनि बुझ्नुपर्छ र बुझेका पनि हुन्छन् । अहिले अर्थविद्, विज्ञहरु राष्ट्र बैंकले मौद्रिक नीति खुकुलो ल्याएमा आफैं घरजग्गा, गाडी र सेयर पहिलाको लयमा फर्किन्छ ।

अर्थविद्, विज्ञहरुमा किताबी ज्ञान मात्र देखियो, व्यावहारिकता देखिएन । मानिसले पढेको कुरा व्यवहारमा उतार्नुपर्छ । तर, यहाँ त बजारको अवस्थाबारे अध्ययन नै नगरी विज्ञ, अर्थविद्हरु मनलाग्दी बोलिरहेका छन् । बैंकहरु सर्वसाधारण जनता कर्जा माग्न आएनन् भन्छन् । बैंकले लाखौं ऋणीलाई सडकछाप बनाएको छ ।

करोडको धितो लाखमा पचाएका छन् । अनि को जान्छ बैंकमा ऋण लिन ? जानीजानी कोही कुँवामा हामफाल्न जान्छ र ? अहिले बैंकमा कर्जा लिन जानु भनेको आफुले आफुलाई सकाउनु हो । बैंकले मानिसले उठीबास मात्र लगाएको छैन । कतिपयले वंश नै नाश भएको छ । बैंककै कारण धेरै जनता आत्महत्या गर्न बाध्य भएका छन् ।

उनीहरु आफु त मर्छन् नै सँगै आफ्ना परिवार पनि सिध्याउँछन् । अब राष्ट्र बैंकले घरजग्गा, गाडी र सेयरमा कर्जा प्रवाह जतिसुकै खुकुलो बनाएपनि सर्वसाधारणले लगानी गर्ने छैनन् । हिजो सिधासाधीलाई दलालीहरुले नराम्ररी फसाए । घरजग्गा, गाडी र सेयरमा लगानी गर्दा राम्रो आम्दानी हुन्छ भन्दै दलालीहरुले जनता डुबाए ।

दलालीहरु आफु त उम्किए । अहिले घरजग्गा, गाडी र सेयरमा मन्दी आउँदा बैंकबाट ऋण लिएर यसमा लगानी गर्नेहरु मर्नु कि बाँच्नु अवस्थामा पुगेका छन् । हिजो नै घरजग्गा, गाडी र सेयरमा यसरी मन्दी आउँछ, मूल्य घट्छ भनेर थाहा पाएको भए कसले यसमा लगानी गथ्र्यो र ? सेयरमा ६५ लाख सर्वसाधारणको लगानी छ ।

उनीहरु सबै डुबेका छन् । बैंकले सय रुपैयाँमा निष्काशन गरेको सेयर दलालीले उनीहरुलाई ३५ सयदेखि पाँच हजारमा बेचे । अहिले सय रुपैयाँ कित्तामा समेत सेयर बिक्री हुँदैन । यता, आनाको लाख नपर्ने खेतीयोग्य जमिनलाई करोड हालेर किन्दा पनि त्यत्तिकै डुबिएका छन् । गाडीमा पनि यस्तै छ । एक लाख नपर्ने गाडी बिसौं लाखमा खरिद गर्दा अधिंकाश नराम्ररी फसेका छन् ।

अहिले बजारमा घरजग्गा, गाडी र सेयर बिक्री गर्न चाहने यत्तिकै भेटिन्छन् । तर, किन्ने कोही छैन । मालपोत र यातायात कार्यालयका कर्मचारीहरु सेवाग्राही कोही नआएपछि झिँगा धपाएर बसिरहेका छन् । लेखनदास, कानून व्यवसायीहरुको पनि काम ठप्पै भएको छ । मुलुकभित्र जनता छन् । बाटोमा मानिसको चाप थेगिनसक्नु छ । यद्यपि, घरजग्गा, गाडी र सेयर किन्ने कोही छैन । किनकि एकातिर मानिमसँग पैसा छैन, अर्कोतिर अझै घरजग्गा, गाडी र सेयरको मूल्य घट्ने जोखिम छ ।

मुलुकमा ठुलो आर्थिक मन्दी आउँछ भनेर सबैले थाहा पाइसकेका छन् । अझै पनि अर्थविद्, विज्ञहरु भने राष्ट्र बैंकले मौद्रिक नीति खुकुलो ल्याएमा अर्थतन्त्र चलायमान हुने बताउँछन् । मानिसको उचाई पनि बढ्ने एउटा निश्चित उमेर हुन्छ । सो उमेर कटेपछि मानिस चाहेर पनि बढ्न सक्दैन । त्यसरी नै घरजग्गा, गाडी र सेयरको पनि मूल्य बढ्ने सीमा सकिसकेको छ ।

चार दशकअघि काठमाडौं उपत्यकासहित देशभर जग्गाको मूल्य कति थियो ? सेयरको मूल्य कति थियो ? र, गाडीको मूल्य कति थियो ? यो अर्थविद्, विज्ञहरुले बुझेनन् । के सधैंभरि घरजग्गा, गाडी र सेयरको मूल्य बढिरहन्छ ? ८०–८५ वर्ष उमेरका बुढाबुढीहरु भन्छन्, ‘हामी यँही जन्मिएका हौं । ०३५ सालमा माइतीघरदेखि तीनकुनेसम्म सडककै दायाबायाको जग्गा रोपनीको लाख रुपैयाँ थियो ।’

एक रोपनीमा १६ आना जग्गा हुन्छ । तर, अहिले त्यहाँ जग्गा आनाकै करोड पर्छ । ०३९ वर्षसम्म सरकारले अन्य मुलुकलाई खाद्यान्न बेच्थ्यो । कतिपय अवस्थामा खाद्यान्न अनुदानमा समेत दिन्थ्यो । अहिले विदेशीले खाद्यान्न नपठाए हामी नेपाली जनता भोकभोकै मर्नुपर्ने अवस्था छ । देशको खेतीयोग्य जमिन सबै प्लाटिङले सकिएको छ ।

खेतीयोग्य जमिनमा घर र बाटो बनाइएको छ । ०३५ सालमा काठमाडौंमा रोपनीको एक लाखमा किनेको जग्गा तीन वर्षअघि बेचेको भए ९६ करोड आउँन्थ्यो । तर, अहिले त्यो जग्गा सस्तोमा दिन्छु भन्दा समेत बिक्री भइरहेको छैन । घरजग्गा, गाडी र सेयरको मूल्य बढाउनुमा दलालीहरुको हात रहेको थियो । दलालीहरुले यसको मूल्य बढाउँदै लगे जनता फस्दै गए अनि सरकार राजस्व उठाउँदै गयो ।

सरकारले पनि बेलैमा ध्यान दिएन । दलालीहरुलाई जनता ठग्न छुट दियो । आज दलालीहरुकै कारण घरजग्गा, गाडी र सेयरमा लगानी गर्नेसँगै सहकारीमा बचत गरेका सर्वसाधारण समेत डुबेका छन् । अर्थविद्, विज्ञहरुको भनाईमा जनता अझै पनि मुर्ख छन् । र, अब पनि घरजग्गा, गाडी र सेयर किन्छन् ।

त्यसैले, उनीहरु मौद्रिक नीति खुकुलो बनाउन राष्ट्र बैंकलाई दबाब दिइरहेका छन् । हिजो बैंक तथा वित्तिय संस्थाहरुले सर्वसाधारणलाई ठग्नु ठगे, लुट्नु लुटे । करोडको धितो राखेर लाख रुपैयाँ ऋण दिए । चर्को सेवाशुल्क, ब्याज र घुस खाए । अनि तीन किस्ता नतिर्ने बित्तिकै ऋणीको उठीबास लगाए ।

भनिन्छ कि त पढेर सिकिन्छ कि परेर । हो, अहिले पनि कयौं जनता अनपढ छन् । अशिक्षित छन् । तर, उनीहरुले बैंक, वित्तिय संस्थाहरुको असली रुप देखिसकेका छन् । उनीहरुले नपढेर पनि बुझिसकेका छन्, बैंक, वित्तिय संस्थाहरुको ठगीधन्दा । सर्वसाधारण जनता बैंक, वित्तिय संस्थाहरुको ठगीधन्दा बारेले पढेर होइन, परेर बुझे ।

बैंक तथा वित्तिय संस्थाको सबै कर्जा लगानी घरजग्गा, गाडी र सेयरमै छ । फेरि यी तीन क्षेत्रमा अहिले मन्दी छ । अहिले बैंकको आम्दानी घट्दै गएको छ भने खर्च बढ्दो छ । यसैले, सहकारीजसरी बैंक पनि डुब्ने आंशका छ । बैंकले लिलाम गरेको घरजग्गा, गाडी र सेयर किन्ने कोही छैन । बैंकका कर्मचारीहरु होटल, रेस्टुरेन्ट, सार्वजनिक स्थलहरुमा ग्राहक खोजेर हिँडिरहेका छन् ।

बैंकहरुले जनताको विश्वास गुमाइसकेका छन् । जनता यीनीहरु नङ्गिसकेका छन् । बैंककै कर्मचारीहरुले बचतकर्ता रकम हिनामिना गरेको कतिपय घटना बाहिरिएका छन् । यता, करोडौंको धितो लाखमा पचाएर ऋणीलाई धोती न टोपीको बनाइदिएका छन् । ठगहरुले क्षणिक समयमा मात्र ठग्न सक्छन् । किनकि ढिलो चाँडो सत्यको जीत भएरै
छोड्छ, ।

हिजो सञ्चारकर्मीहरुको आँखामा छारो हालेर जनता र सरकारलाई भ्रममा पारेर बैंक तथा वित्तिय संस्थाहरुले ठग्दै आएका थिए । तर, बैंक, वित्तिय संस्थाहरुको ठगीधन्दा एकाएक बाहिरिपछि सर्वसाधारणको पनि आँखा खुलेको छ । त्यसैले, अब राष्ट्र बैंकले जतिसुकै खुकुलो नीति ल्याएपछि बैंक तथा वित्तिय संस्थाबाट ऋण लिएर कसैले पनि घरजग्गा, गाडी र सेयरमा लगानी गर्ने छैनन् ।

एक वर्षमा १२ महिना छ । त्यसमा छ महिना घाम लाग्छ र छ महिना पानी पर्छ । बैंक तथा वित्तिय संस्थाहरुको सधैंभरी यसरी नै ठग्ने सोचाई र घमण्ड थियो । तर, सर्वसाधारणले घरजग्गा, गाडी र सेयर नकिन्दा र बैंकमा ऋण लिन नजाँदा यीनीहरुको ठगीधन्दा पनि बन्द भएको छ । अब यीनीहरुले जनता ठग्न जस्तोसुकै नयाँ पोलिसी वा जुक्ति लगाएपछि सर्वसाधारण फस्ने छैनन् ।

रुषा थापा