Breaking News

बाजुरामा आयोडिनयुक्त नुनको अभाव

९ असार, बाजुरा । बाजुरामा आयोडिनयुक्त नुनको अभाव भएको छ । नुनको अभाव भएपछि साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेड बाजुराले हप्तामा एकदिन मात्र वितरण गर्ने गरेको छ ।

जसले गर्दा बाजुराबासीलाई बिक्री केन्द्रमा घण्टौं लाइन बस्दा पनि खाली हात फर्कनुपर्ने अवस्था छ । भीडभाड भएपछि साल्ट ट्रेडिङले प्रहरीको सुरक्षामा नुन बिक्री गरिरहेको छ ।

कोटा कम हुँदा, वर्षात्‌को समयमा नुन ढुवानी गर्न समस्या हुँदा र तस्करीले गर्दा अभाव भएको साल्ट ट्रेडिङ कार्यालय बाजुराका प्रमुख टेकबहादुर बोहोराले बताएका छन् । बाजुरामा गत चैतदेखि नै नुन अभाव छ ।

भारतको सहयोगमा साल्ट ट्रेडिङ कर्पोरेसनमार्फत ढुवानी अनुदानमा बाजुरामा नुन बिक्री वितरण हुने गरेको छ । बाजुरामा चारवटा नुनको डिपो र चार वटा बिक्री केन्द्र छन् ।

अनलाइनखबरबाट

प्रकाश सिंह