Breaking News

मन्त्रिपरिषद् बैठक बस्द्र ११ राजदूत नियुक्ति गर्ने तयारी

काठमाडौँ । आज अपराह्न चार बजे मन्त्रिपरिषद् बैठक बस्ने भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा चार बजे मन्त्रिपरिषद्को नियमित बैठक बस्न लागेको एक मन्त्रीले जानकारी दिए । मन्त्रिपरिषद्को बैठक सामान्यतया साताको सोमबार र बिहीबार बस्ने गर्दछ । यो साता सोमबार नबसेको बैठक शुक्रबार बस्न लागेको हो ।

स्रोतका अनुसार आजको बैठकले रिक्त ११ देशका राजदूत नियुक्तिका लागि सिफारिस गर्ने तयारी छ । बिहीबार बेलुका प्रधानमन्त्री प्रचण्डसहित एमाले अध्यक्ष केपी शर्मा ओली र उपप्रधानमन्त्री समेत रहेका रास्वपाका सभापति रवि लामिछानेले राजदूत भागबन्डा टुग्यएका थिए ।
जसअनुसार एमालेले ८, रास्वपाले २ र माओवादीले एक राजदूत पाउने बताइएको छ । अघिल्लो मन्त्रिपरिषद् बैठकले भारत, अमेरिका, बेलायत, साउदी अरेबिया, दक्षिण कोरिया, मलेसिया, स्पेन, डेनमार्क, इजरायल, कतार र पोर्चुगल गरी ११ देशको राजदूत फिर्ता बोलाएपछि ती स्थानमा राजदूत नियुक्तिका लागि सिफारिस गर्न लागेको हो ।
एमालेबाट राजदूतका लागि चर्चाका नाम 
एमाले स्रोतका अनुसार एमालेले युवराज खतिवडा, लोकदर्शन रेग्मी, दावाफुटी शेर्पा,नारायण सङ्ग्रौला, उदयराज पाण्डे, शर्मिला पराजुली, निर्मल विश्वकर्मालगायतलाई राजदूत बनाउने तयारी छ । उनीहरू यसअघि गठबन्धन फेरिएसँगै फिर्ता भएका थिए ।

‘केही नयाँ र केही पहिला फिर्ता भएकाहरूलाई पठाउने तयारी छ तर ठ्याक्कै नाम आइसकेको छैन’, एमालेका एक नेताले भने, ‘सम्भावित नामहरू तिनै भएपनि अध्यक्ष ओलीको निर्णयमा भर पर्छ ।’

एमालेले १० बराबर १ को सूत्र लागु गरेर राजदूत नियुक्ति गर्ने जनाएको छ । यसअघि मन्त्री बनाउँदा पनि एमालेले यही सूत्र लागु गरेको थियो । यो भनेको १० सांसद बराबर एक मन्त्री वा राजदूत भन्ने हो ।