आज देशभर १७० जना कोरोना भाइरसका संक्रमित थपिदा जम्मा संख्या १२१२ पुग्यो

१६ जेठ, काठमाडौ । कोरोना भाइरसका संक्रमित भटाभट थपिने क्रममा आज नेपालभर थप १७० जनामा पुष्टि भएको छ ।

भारतबाट फर्किँदै गर्दा सीमा क्षेत्रमा ज्यान गुमाएका अर्घाखाँचीको भूमिकास्थान नगरपालिका –९ कामा पनि संक्रमण भएको पुष्टि भएको मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बताए ।

कहाँ कति थपिए संक्रमित ?

मन्त्रालयका अनुसार रौतहटमा मात्र ५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

संक्रमित हुनेमा २ जना बालिका छन् भने २२ देखि ७० वर्ष उमेरका ५४ जना पुरुष छन् । उनीहरुको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकुमा परीक्षण गरिएको थियो ।

यस्तै कपिलवस्तुमा ५१ जना संक्रमित थपिएका छन् ।

टेकुमा गरिएको परीक्षणमा भृकुटी माविको क्वारेन्टाइनमा रहेका २३ जनामा संक्रमण पुष्टि भएको हो । संक्रमित हुनेमा ७ वर्षीय बालकदेखि ५२ वर्षका पुरुषसम्म छन् ।

यस्तै गौतमबुद्ध मावि क्वारेन्टाइनमा रहेका १५ जनामा संक्रमण पुष्टि भएको छ । उनीहरुको रुपन्देहीस्थित प्रादेशिक प्रयोगशालामा परीक्षण गरिएको थियो ।

दाङमा गरिएको परीक्षणमा कपिलवस्तु विजयनगरमा ९ जनामा संक्रमण पुष्टि भएको छ । उनीहरु १७ देखि ५२ वर्षका छन् । भरतपुर, चितवनमा गरिएको परीक्षणमा कपिलवस्तु नगरपालिकाका चार जनाको रिपोर्ट पनि पोजेटिभ आएको छ ।

यसैगरी झापामा २८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

उनीहरु मध्ये २४ जना कचनाकवल गाउँपालिकाका छन् । र १८ देखि ४१ वर्ष उमेरका छन् । कोशी अस्पताल, विराटनगरमा गरिएको परीक्षण तयारी भिट्टाका २४ देखि ५४ वर्ष उमेर समूका तीन जनामा संक्रमण पुष्टि भएको छ ।

यस्तै धरानमा गरिएको परीक्षणमा भद्रपुरका ३४ वर्षीय पुरुषको रिपोर्ट पोजेटिभ आएको छ ।

यस्तै बाँकेका १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । डुडुवाका उनीहरु १७ देखि ४१ वर्ष उमेरका पुरुष छन् ।

पर्सामा ५ र बारामा ४ जना संक्रमित थपिएका छन् ।

पर्साको पोखरियाका २१ देखि ४२ वर्ष उमेरका चार जना र जिरा भवानीका ३४ वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको हो भने बाराको पीपरपाती माविमा रहेका चार जनाको रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

सर्लाहीमा ५ संक्रमित थपिए । टेकुमा परीक्षणको परीक्षणमा मलंगवाका चार जनाको रिपोर्ट पोजेटिभ आएको छ । उनीहरु १९ देखि ३० वर्षका छन् । पाटन अस्पतालमा रहेका सर्लाहीका ३१ वर्षीया महिलामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै सप्तरीका चार जनामा पनि संक्रमण पुष्टि भएको छ । उनीहरु २० देखि २६ वर्षका छन् ।

नवलपरासी बर्दघाट सुस्ता पूर्वका २ जना १९ र २१ वर्षीय पुरुषको रिपोर्ट पनि पोजेटिभ आएको छ ।

दाङको गढवाका २ जनाको रिपोर्ट पोजेटिभ आएको छ । उनीहरु २८ र ४१ वर्षका पुरुष हुन् ।

रुपन्देहीको सैनामैनाका २७ वर्षीय पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै पोखरामा गरिएको परीक्षणमा म्याग्दी मालिकाका ३० वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको छ ।

यससँगै कुल संक्रमितको संख्या १२१२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यसभित्रमा ६ जनाको मृत्यु भएको छ भने २०६ जना निको भएर घर गएका छन् ।