Breaking News

राजदूतको भागबण्डामा सहमति : एमालेले ८, माओवादी केन्द्रले १ र रास्वपाले २ राजदूत पाउने

६ असार, काठमाडौं । आज बसेको सत्तारुढ प्रमुख तीन दलको बैठकले राजदूतको भागबण्डा टुंगो लगाएका छन् ।

आज साँझ सिंहदरबारमा बसेको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, एमाले अध्यक्ष केपी ओली र गृहमन्त्री रवि लामिछानेबीचको छलफलले हाल खाली रहेको ११ देशको राजदूतमा भागबण्डा टुंग्याएको हो ।

२४ जेठमा मन्त्रिपरिषद बैठकले भारत, अमेरिका, बेलायत, साउदी अरेबिया, दक्षिण कोरिया, मलेसिया, स्पेन, डेनमार्क, इजरायल, कतार र पोर्चुगल गरी ११ देशको राजदूत फिर्ता बोलाएको थियो ।

साँझ ६ बजेदेखि ८ बजेसम्म तीन नेताबीचको छलफलमा एमालेले आठ देशको राजदूत पाउने समझदारी भएको छ । त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीले दुई र माओवादी केन्द्रले एक देशको राजदूत पाउने शीर्ष नेता निकट स्रोतले बताएको छ ।

राजदूत फिर्ता बोलाउँदा माओवादी केन्द्रको कोटामा राजदूत बनेकाहरु फिर्ता नबोलाएका कारण अहिले एक जना मात्र दिइएको स्रोतको भनाइ छ ।

रास्वपाले महत्वपूर्ण मानिएका देश भारत, अमेरिकाका राजदूतमध्ये एक आफूलाई दिन माग गरे पनि प्रचण्ड र ओली तयार भएनन् ।

बैठकमा सहमतिबाट बजेट पास गर्ने, शीर्ष नेताबीच उत्पन्न भएका मनोमालिन्य छलफल गरेर टुंग्याउने, गठबन्धन अझै कसिलो बनाउँदै जानेबारे छलफल भएको बालुवाटार स्रोतले बतायो ।