Breaking News

गण्डकी प्रदेशका सांसद तथा ऊर्जा मन्त्री फणिन्द्र देवकोटा पदमुक्त

गण्डकी प्रदेशका सांसद तथा ऊर्जा मन्त्री फणिन्द्र देवकोटा पदमुक्त भएका छन्।

नेकपा (माओवादी (केन्द्र) संसदीय दलको ह्विप उल्लंघन गरेर मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई विश्वास मत दिएको भन्दै माओवादीले सांसद देवकोटालाई शुक्रबार कारबाही गरेको हो।

माओवादीले सांसद देवकोटालाई कारबाही गरेको सूचना प्रदेश सभामा पठाएको थियो।

सभामुख कृष्ण धितालले शुक्रबारको प्रदेश सभा बैठकमा सांसद देवकोटा पदमुक्त भएको घोषणा गरेका छन्।

मुख्यमन्त्री पाण्डेलाई गत जेठ २८ गते देवकोटाले विश्वास मत दिएका थिए। देवकोटालाई मुख्यमन्त्री पाण्डेले ऊर्जामन्त्री नियुक्त गरेका थिए।

सांसद पद गएसँगै उनको मन्त्री पद पनि गएको छ।

२०७९ मंसिरमा भएको चुनावमा नेपाल समाजवादी पार्टीका नेता देवकोटाले नेकपा (माओवादी केन्द्र) को चुनाव चिह्नमा निर्वाचन जितेका थिए।

देवकोटाले भने आफू नेपाल समाजवादी पार्टीको सांसद भएकोले पार्टी केन्द्रको निर्णयअनुसार आफूले मुख्यमन्त्रीलाई विश्वासको मत दिएको बताउँदै आएका छन्।