Breaking News

एकीकृत समाजवादीको महाधिवेशनमा भाग लिन एमाले पालाको संगठिन सदस्य हुनुपर्ने

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) ले आसन्न दसौँ राष्ट्रिय महाधिवेशन प्रतिनिधि हुन कम्तीमा ३ वर्ष पार्टी सदस्य भएको हुनुपर्ने योग्यता तोकेको छ । जबकि पार्टी गठन भएको जम्मा ३३ महिना मात्र भएको छ ।

२०७८ साल भदौमा एमालेबाट विद्रोहपछि गठन भएको नेकपा एकीकृत समाजवादीले आगामी असार १६ देखि २० गतेसम्म काठमाडौँमा दसौँ महाधिवेशन गर्दैछ । महाधिवेशनमा भाग लिने प्रतिनिधि छनोटबारे ३ वर्षे पार्टी सदस्यता अनिवार्य गर्नुपर्ने प्रस्ताव सङ्गठन विभाग प्रमुख समेत रहेका उपाध्यक्ष डा. बेदुराम भुसालले प्रस्ताव गरेका हुन् ।
उनको यो प्रस्तावमा सचिवालय बैठकमा छलफल हुँदा एक जना पदाधिकारीले मात्र विरोध गरेका थिए ।
‘विरोध हुँदाहुँदैपनि त्यही प्रस्ताव पास भयो । तर यो सरासर गलत र नयाँ सदस्यमाथिको ठुलो अन्याय हो’, एक सचिवालय सदस्यले बताए । ‘झन्डै एक लाख नयाँ पार्टी सदस्यमाथिको अपमान पनि हो ।’ यो व्यवस्थाअनुसार पार्टीमा हाल रहेका कतिपय नेता कार्यकर्ता एमाले फुटेर आएका हुनाले एमालेकै पार्टी सदस्यता गणना हुनेछ । यदि एमालेबाहेकबाट एकीकृत समाजवादी प्रवेश गरेकाको हकमा पनि पुरानो पार्टीको सदस्यता नै लागू हुने अवस्था देखिएको छ । तर, आधाभन्दा बढी पार्टी सदस्य नयाँ भएको दाबी गरिएकाले उनीहरूको हकमा चाहिँ के हुने भन्नेमा विवाद देखिएको ती नेताको भनाइ छ ।