Breaking News

शरीरमा भूत चढेको भन्दै स्कुलमै छात्रले छात्रामाथि झारफुक प्रधानाध्यापक र शिक्षक रमिते

सुदूरपश्चिमको एक स्कुलमा प्रधानाध्यापकदेखि शिक्षकसम्मले झारफुक गरेर बिरामी निको पार्ने अन्धविश्वासलाई प्रोत्साहित गरेको पाइएको छ। झारफुकका नाममा स्कुलभित्रै एक बालिकालाई टाउकोमा हिर्काउने, कपाल तान्ने, पानी छ्याप्ने जस्ता गतिविधि गरिएको छ।

सामाजिक सञ्जालमा सार्वजनिक एउटा भिडिओले यो घटना बाहिर ल्याएको हो।

उक्त भिडिओमा तीन जना विद्यार्थी स्कुलको एक कोठाको भुइँमा बसेर कामिरहेका छन्। स्कुलको पोसाकमा रहेका दुई बालक र एक बालिकालाई दुई व्यक्तिले निर्देशन दिइरहेका छन्।

दुई बालक काम्दै बालिकाको टाउकोमा पटक/पटक हिर्काउने, कपाल तान्ने, पानी छ्याप्ने र चामलले हान्ने गरिरहेका छन्।

उनीहरूका अगाडि उभिएकामध्ये एक व्यक्तिले ‘दूधको दूध, पानीको पानी छुट्ट्याउनु पर्‍यो’ भन्दै कराइरहेका देखिन्छ।

उभिएका व्यक्तिले दुई बालकलाई अर्की बालिकामा आएको ‘भूत भगाइदिन’ भनिरहेका छन्।

‘शरीर कमाएर, देउता आएर मात्र हुँदैन, सञ्चो बनाउनुपर्छ’ भन्दै उनी यताउता घुमिरहेको देखिन्छ।

यो भिडिओ अछामको ढकारी गाउँपालिका वडा नम्बर १ मा रहेको विश्वज्योति आधारभूत विद्यालयभित्रको हो। यसमा ती व्यक्तिको निर्देशनमा दुई बालकले एक बालिकाको झारफुक गरिरहेको देखिन्छ।

भिडिओमा उभिएका व्यक्तिले ‘भूतले के मागिरहेको छ, के दियो भने छोड्छ, जसरी हुन्छ भूत भगाइदिनुपर्‍यो’ भनिरहेका छन्।

उनीहरूका अगाडि अरू व्यक्ति पनि छन्। उनीहरूले ‘दिनहुँ भूत लागेर सताउन थाल्दा स्कुलको बेइज्जत भइसक्यो’ भनेको सुनिन्छ। केही व्यक्ति हाँसिरहेका पनि छन्।

स्कुलमा, त्यसमाथि बालबालिकालाई प्रयोग गरेर झारफुक गराउँदै गरेको भिडिओ सार्वजनिक भएपछि यसको आलोचना भइरहेको छ। धेरैले स्कुलमै यसरी अन्धविश्वासका गतिविधि गरेर भ्रम छर्दा विद्यार्थीमा कस्तो असर पर्छ भनेर प्रश्न गरेका छन्। अनि एक बालिका विद्यार्थीलाई भूत चढेको भन्दै अर्का विद्यार्थी प्रयोग गरेर हिर्काउन, कपाल तान्न, अक्षता र पानी छर्किन लगाएर दुर्व्यवहार गर्नेमाथि कारबाही हुनुपर्ने पनि उनीहरूले बताएका छन्।

हामीले यसबारे उक्त स्कुलका प्रधानाध्यापक बद्रिप्रसाद रिमाललाई सोध्यौं।

उनका अनुसार कक्षा ६ मा पढ्ने ती बालिका बिहीबार बिहान १० बजे एक्कासि बेहोस भइन्। त्यस्तै बेला बेला काम्ने, कपाल तान्ने गर्न थालिन्।

उनमा ‘भूत चढेको’ भन्दै कम गर्न ‘देउता चढेका’ बालकहरूलाई सोधपुछ गर्न लगाइएको प्रधानाध्यापक रिमालले बताए।

‘बालिकामा भूत चढेको थियो। त्यसैले देउता चढेकाहरूलाई भनेर भूत किन आएको हो, सोध्न लगाएका हौं,’ उनले भने।

प्रधानाध्यापक पदमा बसेका रिमालले बालबालिकालाई अन्धविश्वासको गतिविधिमा प्रयोग गरेको घटनाको बचाउ समेत गरे।

‘सुदूरपश्चिमतिर देउता चढेका व्यक्तिले भूत चढेको अर्को व्यक्तिलाई सोधपुछ गर्छ। उनीहरूले मागे अनुसारको गर्नुपर्छ। पानी मागिएको थियो, त्यसैले छ्यापिएको हो। अक्षता र टाउकोमा हान्ने चलन पनि छ। त्यसरी हाने भूत झर्छ,’ रिमालले भने, ‘बालिकालाई उनीहरूले देउता बोलाएर सोधेको आधा घन्टापछि निको भएको छिन्। बेहोस भएर ढल्दा वा काम्ने गरेमा त्यसरी नै अर्का व्यक्तिलाई देउता बोलाएर निको बनाइन्छ। स्कुलमा भने पहिलोपटक यस्तो गरेको हो।’

स्कुलमा दिनहुँ मुर्छा परेर ढल्न र काम्न थालेपछि समस्याबारे सरकारको ध्यान जाओस् भनेर भिडिओ सामाजिक सञ्जालमा हालेको उनको भनाइ छ।

‘यस्तो के कारणले भयो भन्ने कुरा थाहा छैन, हामी त्यसको विज्ञ होइनौं,’ उनले भने, ‘देउता बोलाउँदा निको हुन्छ भनेपछि गरेका हौं।’

विद्यालय व्यवस्थापन समितिका सदस्य खगेन्द्रप्रसाद बुढाजैसीले पनि गाउँघरमा भूतप्रेतसँगै देउताप्रति एकदम धेरै विश्वास गरिने भएकाले त्यस्तो गरिएको बताए। उनले आफूलाई गाउँघरमा पुजारी भनेर चिन्ने पनि बताए।

‘बालकहरूलाई हामीले काम्न भनेको होइन। देउता चढेकाले कामेका हुन्,’ उनले भने, ‘एक्कासि शरीर काम्नुलाई यता देउता चढेको भनिन्छ। देउता चढेका व्यक्तिले हातले कुटपिट गरेर भूत झार्ने चलन छ। त्यसैले बालकले बालिकाको टाउकोमा हानेका हुन्।’‍

त्यही पढाउने शिक्षक पूर्ण उपाध्यायले समेत चलन भन्दै घटनाको बचाउ गरे। देउता बोलाएपछि बालिका निको भएको भन्दै उनले यो घटनामा कुनै आपत्ति नभएको बताए।

यसरी स्कुलका प्रधानाध्यापकदेखि शिक्षकसम्मले स्कुल हातामै विद्यार्थीहरूलाई झारफुक गर्न प्रोत्साहन गरेको घटनाबारे हामीले जनप्रतिनिधिलाई पनि सोध्यौं।

वडा सचिव कमलप्रसाद भण्डारीले भिडिओ हेरे पनि के भएको हो भनेर प्रस्ट भन्न नसक्ने बताए।

‘घटनाबारे थाहा नभएकाले के भएको हो म अहिल्यै भन्न सक्दिनँ,’ उनले भने, ‘किन त्यस्तो गरिएको भन्ने थाहा भएपछि मात्र सही र गलत भन्न सकिन्छ।’

जिल्ला प्रहरी कार्यालय, अछामका प्रहरी निरीक्षक अर्जुनसिंह साउदले पनि भिडिओ देखेको तर स्कुलसँग कुराकानी हुन नसकेकाले तत्काल यसबारे केही भन्न नसक्ने बताए।

सेतोपाटीबाट साभार