८ माघ, काठमाडौं । डोनाल्ड ट्रम्पले ४७ औं अमेरिकी राष्ट्रपतिको रूपमा शपथ ग्रहण गरेका छन् । एक भव्य समारोहलाई सम्बोधन गर्दै उनले अमेरिकाको स्वर्णयुग सुरु भएको बताए ।
‘यो नयाँ युग अमेरिकाको आर्थिक र सामाजिक सुधारसँगै राजनीतिक क्षेत्रको नयाँ दिशा तय गर्ने समय हो,’ उनले भने, ‘यस समारोहले अमेरिकी लोकतन्त्रको महत्वलाई पुनः प्रमाणित गर्दै, देशको आगामी यात्रा र नेतृत्वको एक नयाँ अध्यायको शुरुआत गरेको छ ।’
अमेरिकालाई एक शक्तिशाली र समृद्ध राष्ट्रको रूपमा पुनः उभ्याउने भन्दै उनले अमेरिकाको प्रगतिका लागि कडा प्रयास गर्ने र नयाँ उचाइमा पुर्याउने प्रतिबद्धता व्यक्त गरे । त्यसका लागि सबै अमेरिकी नागरिकलाई एकताबद्ध भएर काम गर्न उनले आह्वान गरे ।
राजधानी वाशिङ्टन डीसीमा रहेको संसद भवन यूएस क्यापिटलमा आयोजित शपथग्रहण समारोहमा पूर्वराष्ट्रपतिहरु, मन्त्रिपरिषदका सदस्य, विभिन्न देशका राष्ट्र प्रमुख वा प्रतिनिधि, व्यापारी लगायतको उपस्थिति थियो ।
डोनाल्ड ट्रम्पको भाषण :
१. अमेरिका–मेक्सिको सीमामा नेशनल इमरजेन्सी
डोनाल्ड ट्रम्पले अमेरिकामा अवैध रुपमा आप्रवासी प्रवेशलाई रोक्न मेक्सिकोसँग जोडिएको सीमा क्षेत्रमा राष्ट्रिय आपतकाल घोषणा गर्ने बताए । उनले यस सम्बन्धमा कार्यकारी आदेश जारी गर्ने बताए ।
साथै उनले लाखौं अवैध आप्रवासीलाई उनीहरुकै देश फर्काउने प्रक्रिया सुरु गर्ने बताए ।
साथै उनले ‘गल्फ अफ मेक्सिको’को नाम बदलेर ‘गल्फ अफ अमेरिका’ राख्ने पनि बताए ।
२. पनामा नहरलाई लिएर चीनमाथि आरोप
ट्रम्पले पनामा नहरलाई एक मूर्खतापूर्ण उपहारको संज्ञा दिए । उनले पनामा नहरलाई चीनले चलाइरहेको आरोपसमेत लगाए । ‘हामीले पनामा नहर चीनलाई दिएका होइनौं, हामीले त्यसलाई फर्काउने छौं,’ ट्रम्पले भने ।
ट्रम्पले यो भाषण गर्दा समर्थकहरुले ताली बजाएका थिए । तर निवर्तमान राष्ट्रपति जो बाइडन र कमला ह्यारिस भने कुनै प्रतिक्रिया नजनाई शान्त बसे ।
३. अमेरिकी अन्तरिक्ष यात्री मंगल ग्रहमा जानेछन्
ट्रम्पले आफ्नो भाषणमा अमेरिकालाई नयाँ उचाइमा र ठूलो सफलतासम्म पुर्याउने बताए । अमेरिकाको सम्पत्ति बढाउने, आफ्नो क्षेत्र बिस्तार गर्ने र मंगल ग्रहमा पनि अमेरिकी झण्डा फहराउने उनले बताए ।
‘हामी तारातर्फ अघि बढ्ने छौं र मंगल ग्रहमा अमेरिकी झण्डा फहराउने छौं,’ ट्रम्पले भने ।
४. मध्यपूर्वमा शान्ति स्थापना गर्ने प्रतिबद्धता
ट्रम्पले मध्यपूर्वमा शान्ति स्थापना गर्ने प्रतिबद्धता पनि जनाए । त्यसका लागि सबैलाई जोड्न नेतृत्व गर्ने उनको भनाइ छ ।
ट्रम्पले नेतृत्व गरेपछि रुस–युक्रेन युद्ध र इजरायल–हमास युद्ध रोकिने अनुमान कतिपयले गरिरहेका छन् ।
अमेरिका पूरै विश्वका लागि प्रेरणा र प्रशंसाको केन्द्र बन्ने बताउँदै ट्रम्पले भने, ‘अमेरिका आफ्नो सही स्थान हासिल गर्दै सबैभन्दा महान, शक्तिशाली र सम्मानित देश बन्ने छ ।’
५. ‘पुरुष र महिला दुई लिङ्ग मात्र हुनेछन्’
ट्रम्पले सार्वजनिक र निजी जीवनका हरेक पक्षमा जाति र लिङ्गलाई समावेश गर्ने हालको नीति अन्त्य गर्ने बताए । अब केबल महिला र पुरुष गरी दुई मात्र लिङ्ग हुने बताउँदै उनले आजैबाट अमेरिकाको आधिकारिक नीति हुने घोषणा उनले गरे ।
कूटनीतिक मामिलाका बीबीसी सम्वाददाता पोल एडम्सले ट्रम्पको यो भाषणलाई विश्वका लागि ट्रम्पको कडा सन्देश भएको बताउँछन् ।
६. कर बढाउने, तेल र ग्याँस उत्खनन गर्ने
ट्रम्पले अमेरिकालाई समृद्ध बनाउने क्रममा विदेशबाट आयात हुने सामग्रीमा कर र शुल्क बढाउने समेत बताए ।
साथै उनले मन्त्रिपरिषदबाट महँगी नियन्त्रणका लागि हरसम्भव कोसिस गर्ने र बढ्दो ऊर्जाको आवश्यकता पूर्ति गर्ने बताए । त्यसका लागि मन्त्रिपरिषदका प्रत्येक सदस्यलाई काम गर्न निर्देशन दिने उनले बताए ।
ऊर्जाको आवश्यकता पूर्ति गर्ने क्रममा ‘नेशनल इनर्जी इमर्जेन्सी’ घोषणा गर्ने बताए । साथै उनले अमेरिकामा तेल र ग्याँस उत्खनन बढाउने प्रतिबद्धता दोहोर्याए ।
अमेरिका फेरि पनि उत्पादक देश बन्ने बताउँदै उनले भने, ‘हामीसँग विश्वकै धैरै प्राकृतिक ग्याँस र तेल छ । हामीले यसको पूर्ण उपयोग गर्ने छौं ।’ त्यसक्रममा ट्रम्पले ‘ड्रिल बेबी ड्रिल’को नारा पनि लगाए ।
जलवायु परिवर्तनको असरका कारण नवीकरणीय ऊर्जाको आवश्यकतामा बहस भइरहेका बेला ट्रम्पले भने जीवाष्म इन्धनको प्रयोगमा जोड दिँदै आएका छन् । ट्रम्पले जलवायु परिवर्तनसँग सम्बन्धित पेरिस सम्झौता खारेज गर्ने समेत बताउँदै आएका छन् ।