Breaking News

म भन्छु नमिलौं, मिल्नु पर्दैन। आफ्ना विचारका आधारमा उभिऔं, १० वर्ष हेरौं, को कति उभिन सक्दो रहेछ

नेपाल समाजवादी पार्टी (नेसपा) ले पार्टी स्थापना दिवसमा बुधबार दिउँसो काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा कार्यक्रम गर्‍यो।

नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), राप्रपा, जसपा नेपाल, जसपा, लोसपा लगायत दललाई निम्तो नगरी नयाँ पार्टीहरूलाई कार्यक्रममा निम्तो गरिएको थियो।

अध्यक्ष बाबुराम भट्टराई, रास्वपा सभापति रवि लामिछाने, जनमतका अध्यक्ष सिके राउत, आम जनता पार्टीका अध्यक्ष प्रभु शाह, विवेकशील साझाकी अध्यक्ष समीक्षा बास्कोटा, नाउपाका सल्लाहकार रेशम चौधरीलगायत कार्यक्रममा सहभागी रहे।

नेसपाले आफूलाई वैकल्पिक शक्तिको दाबी गर्दै आएको छ। त्यसैले उसले वैकल्पिक शक्तिका रूपमा २०७९ को चुनावबाट उदायका शक्तिहरूलाई कार्यक्रममा निम्त्याएको थियो।

नेसपाले वैकल्पिक शक्तिहरू मिलेर मोर्चा बनाएर जानुपर्ने मत राख्दै पनि आएको छ।

कार्यक्रममा शुभकामना मन्तव्य दिँदै गृहमन्त्रीसमेत रहेका रास्वपा सभापति रवि लामिछानेले भने मिलेर जाने विषयमा फरक मत राखे।

‘आज पनि हामी नयाँ शक्ति, यहाँ मिल्नुपर्छ, त्यहाँ मिल्नुपर्छ,’ उनले भने, ‘म भन्छु नमिलौं, मिल्नु पर्दैन। आफ्ना विचारका आधारमा उभिऔं, १० वर्ष हेरौं, को कति उभिन सक्ने रहेछ!’

उनले विचार समान हुनेहरू र सत्कर्म गर्नेहरू कुनै एक विन्दुमा पुगेर नमिली सुखै नहुने धारणा पनि राखेका थिए। ‘हाम्रा  राजनीतिक आस्था र विश्वास आ-आफ्नै छन्। तर समाजले भोगेको दु:ख अर्कै छ,’ उनले भने।

लामिछानेले नेसपाको कार्यक्रममा भएको जमघटमा ‘राता साथीहरू’ भएको ठाउँमा आफू अलि ‘निलो मानिस’ आइपुगेको पनि बताएका थिए। ल लिडर नामक टेलिभिजन कार्यक्रम सुरू गर्नका लागि भट्टराईलाई निर्णायक बनाउन खोजिएको बेलादेखि आफ्नो सम्बन्ध रहेको र त्यही कारण आफू कार्यक्रममा आइपुगेको उनको भनाइ थियो।

साथै उनले पुरानै दलहरूको विधानमा केही हेरफेर गरेर नयाँ दल खोले त्यसबाट ठूलो अपेक्षा गर्न नहुने पनि बताएका थिए। आफ्नो दलले भ्रातृ संस्थाहरू नबनाएको र विज्ञहरूलाई समावेश गरेर पार्टी बनाएको तथा समानुपातिक सांसदमा पनि योग्यता र क्षमता भएकाहरूलाई पठाएको दाबी उनको थियो।