Breaking News

कलाकार सामाजिक विकृतिविरुद्ध कृयाशिल हुनुपर्नेमा जोड

काठमाडौँ, ३० जेठ। आदर्श समाज निर्माणका लागि कलाकार सामाजिक विकृतिविरुद्ध कृयाशिल हुनुपर्नेमा जोड दिइएको छ।

नेपाल चलचित्र कलाकार संघद्धारा आयोजित अन्तरक्रिया कार्यक्रममा सहभागी बक्ताहरुले सामाजिक रुपान्तरणमा सशक्त माध्यम भएकाले उनीहरू सार्वजनिक स्थलमा धुम्रपान, मद्यपानका साथै बहुविवाहलगायत सामाजिक विकृतिमा संलग्न हुन नहुनेमा जोड दिनुभयो।
नेपाल चलचित्र कलाकार संघका अध्यक्ष मोहन निरौलाले सभ्य र सुसंस्कृत समाज निर्माणका लागि सचेतना फैलाउने कलाकारहरु जातीय, धार्मिक वा अन्य असामाजिक कार्यलाई निरुत्साहित गर्नुपर्ने बताउनुभयो।
आर्थिक तथा यौनशोषण जस्ता अपराधिक क्रियाकलापबिरुद्व कलाकार एकतावद्ध हुनुपर्ने
सुझाव दिँदै उहाँले चलचित्र क्षेत्रमा देखिएका विविध समस्या र विवादको समाधानका लागि यस क्षेत्रका सबै पेशागत संघ संस्थाले चासो राख्नुपर्ने र  विचार व्यक्त गर्नुभयो।
चलचित्र समालोचक एवं कलाकर्मी डटकमका सम्पादक कृष्ण भट्टराईले कलाकारले पेशागत मर्यादा, व्यक्तिगत आचरण तथा सामाजिक दायित्वलाई निर्वाह गर्ने कुरामा चनाखो भई समाजमा पार्ने प्रभावको आँकलन गर्नुपर्ने सुझाव दिनुभयो। ज्ञान नभएको विषयमा उनीहरूले जथाभावी बोल्ने र अन्तर्वार्ता दिन नहुने उहाँको भनाई थियो।
चलचित्र निर्देशक राजेन्द्र शलभले नेपालमा चलचित्रको विकास तथा प्रभावबारे जानकारी दिँदै राज्यको शान्ति सुरक्षामा आँच आउने फिल्ममा अभिनय नगर्न, लोकप्रियताको दुरुपयोग गरी नाजायज आर्थिक लाभ नलिन कलाकार संवेदनशील हुनुपर्ने प्रष्ट पार्नुभयो।
संचारकर्मी एंव सिने निर्देशक दिनेश डिसीले कलाकारको गीत/सङ्गीत र कलाकारिता क्षेत्रले सामाजिक चेतना फैलाउने कार्यमा कलाकारिता सशक्त माध्यम भएको बताउँदै कलाकारले देशको मान प्रतिष्ठा बढाउन विशेष योगदान गर्न सक्ने हुँदा उनीहरू राष्ट्रका गौरव भएको स्पष्ट पार्नुभयो । उहाँले समाजका विकृतिहरू तथा खराब परम्परा बदल्न समाज रूपान्तरण र परिवर्तनका लागि गीत/सङ्गीत, अभिनयले नेपाली समाजमा ठुलो अस्त्रका रूपमा काम गर्ने विश्वास व्यक्त गर्नुभयो।  कलाकारितालाई मर्यादित बनाउने भन्दै नेपाल चलचित्र कलाकार संघले आचारसंहिता जारी गरेको छ।