Breaking News

जसपा नेपालको महाधिवेशन : अध्यक्षमा उपेन्द्र नै दोहोरिने, महासचिवमा मनिष सुमन र रामकुमार शर्मा भिड्ने

जनकपुरधाम । जनता समाजवादी पार्टी (जसपा) नेपालको एकताको महाधिवेशनले आज नेतृत्व चयन गर्दैछन् । महाधिवेशनबाट २०१ सदस्यीय केन्द्रीय कमिटी र २० सदस्यीय पदाधिकारी निर्वाचित हुनेछ ।

जसमा अध्यक्ष १, सहअध्यक्ष १, उपाध्यक्ष ५, महासचिव २, उपमहासचिव ३, सचिव ७ र कोषाध्यक्ष १ जना चयन गर्न नेताहरू कसरत थालेका छन् । नेतृत्व चयनका लागि बिहान साढे ८ बजेदेखि उम्मेदवारी दर्ता सुरु भएको महाधिवेशन प्रतिनिधि तथा मधेशका सांसद राजकुमार गुप्ताले बताए । उम्मेदवारी परेपछि सहमतिको प्रयास गरिने नभए निर्वाचन गराउने तयारी रहेको उनको भनाइ छ ।

शर्माद्वारा महासचिवमा उम्मेदवारी घोषणा

नेकपा माओवादी केन्द्र छाडेर जसपा नेपालमा प्रवेश गरेका संविधानसभा सदस्य रामकुमार शर्मा महासचिव पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् । उनलाई अध्यक्ष उपेन्द्र यादवले महासचिव बनाउने आश्वासन दिएर पार्टीमा भित्र्याएको स्रोतको भनाइ छ । यस महाधिवेशनबाट अध्यक्ष दोहोरिने लगभग निश्चित छ । अशोक राईसहितका नेताहरू पार्टी विभाजन गरेर गएपछि यादव अध्यक्षमा दोहोरिने निश्चित जस्तै भएको हो ।

यस्तै, सह–अध्यक्षको दाबेदार राजकिशोर यादव र लालबाबु राउत रहेका छन् । ५ जना उपाध्यक्षमा पनि कडा प्रतिस्पर्धा हुने देखिएको छ भने दुई महासचिवमा शर्मा र मनिष सुमनलाई समेट्ने प्रयास भइरहेको छ ।