काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले ‘उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगको प्रतिवेदन, २०७५’ सार्वजनिक गरेको छ । जेठ १ गते प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उक्त प्रतिवेदन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठलाई हस्तान्तरण गरेका थिए ।
बिहीबार शिक्षामन्त्री श्रेष्ठले आयोजना गरेको उच्च स्तरीय राष्ट्रिय शिक्षा आयोगका अध्यक्ष, तत्कालीन शिक्षा मन्त्री गिरिराजमणि पोख्रेल, आयोगका १६ सदस्यको उपस्थितिमा भएको छलफलमा प्रतिवेदनलाई मन्त्रालयको वेबसाइटमा सार्वजनिक गर्न सुझाव दिएका थिए ।
प्रतिवेदन सार्वजनिक भएपछि प्रतिक्रिया दिँदै मन्त्री श्रेष्ठले प्रतिवेदनका सकारात्मक र सान्दर्भिक पक्ष कार्यान्वयनमा लैजाने बताइन् ।
‘प्रधानमन्त्रीज्यूले गम्भीरतापूर्वक यो प्रतिवेदन खोजेर शिक्षा मन्त्रालयलाई प्रदान गर्नुभएको हो । उहाँकै नेतृत्वमा सरकारले प्रतिवेदनका सान्दर्भिक र सकारात्मक सिफारिसहरू कार्यान्वयनमा लैजानेछ,’ उनले भनिन् ।