Breaking News

तनहुँको आँबुखैरेनी–मुग्लिन सडकखण्ड आज र भोलि दैनिक ३ घन्टा बन्द हुने

२७ जेठ, काठमाडौं । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी–मुग्लिन सडकखण्ड आज आइतबार र भोलि सोमबार दैनिक ३ घन्टा बन्द हुने भएको छ । सडक डिभिजन कार्यालय तनहुँका अनुसार आज बिहान १० बजेदेखि १ बजेसम्मका लागि राजमार्ग पूर्ण रुपमा बन्द गर्न लागिएको हो ।

आँबुखैरेनी गाउँपालिका–४ मा पर्ने सडकखण्डमा माथिबाट ढुंगा झर्ने जोखिम रहेको ढुंगा झार्नुपर्ने भएकाले बाटो बन्द गर्न लागेको सडक डिभिजन कार्यालय तनहुँका प्रमुख पशुपति ज्ञवालीले जानकारी दिए ।

केही दिनअघि आएको हावाहुरीले समेत ढुंगा झरेर सडक नै अवरुद्ध बनाएपछि सडकका माथिल्लो भागमा रहेका जोखिमपूर्ण ढुंगा हटाउन लागिएको ज्ञवालीले बताए । ‘अस्ति खसेको ढुंगाले बाटो नै बन्द भयो । मेसिनले हटायौं । तर, अझै ढुंगा खस्ने सम्भावना छ’, उनले भने, ‘सम्भावित जोखिम हटाउन पहिले नै क्लियर गर्न लागेका हौं ।’

पृथ्वीराजमार्गअन्तर्गत पर्ने उक्त सडकखण्ड साँघुरो र जोखिमपूर्ण पनि छ । ‘सवारी चल्दा चल्दै ढुंगा खस्यो भने ठूलो दुर्घटना हुने सम्भावना छ । सडक साँघुरो भएकाले डाइभर्ट गर्न पनि मिल्दैन ।

२ दिनभित्र सबै ढुंगाहटाएर बाटो नियमित खुलाउने तयारी भइरहेको छ।