सरकारी अस्तपालमा होस् या निजीमा केही समयअघि उपचार गर्नेहरुको लर्को हुन्थ्यो । बाटोमा पनि आमसर्वसाधारणको चाप निकै हुन्थ्यो । व्यापारिक महल, सुपर मार्केट, बिग मार्ट, भाटभटेनीलगायतमा पनि भीडभीड देखिन्थ्यो । मालपोत, यातायात लगायत विभिन्न सरकारी कार्यालयमा पनि मानिसको चाप थेगिनसक्नु हुन्थ्यो ।
तर, पछिल्लो केही समययता जताततै सुनसान छ । मानिसहरुलाई रोग त लागि नै रहेको छ । यद्यपि, उपचार गर्ने पैसा नहुँदा उनीहरु रोग पालेर बस्न बाध्य छन् । व्यापारिक महल, भाटभटेनी, सुपर मार्केट, बिग मार्टहरु पनि खुल्लै छन् । तर, त्यहाँ गएर सामान किन्न मानिसहरुसँग पैसा छैन । होटल, रेस्टुरेन्टहरु पनि खुलि नै रहेका छन् ।
सर्वसाधारणसँग पैसा नहुँदा यहाँ पनि सुनसान छ । मालपोत, यातायात कार्यालयहरु खुलेका छन् । कर्मचारीहरु पनि छन् । सेवाग्राही भने छैनन् । अहिले मालपोत, यातायात कार्यालयमा महिनौं दिनमा एक–दुई जना सेवाग्राही आउँछन् । कतिपयमा त त्यति पनि आउँदैनन् । बजारमा घरजग्गा र गाडीको किनबेच ठप्प छ ।
सेयर कारोबार गर्ने निकायहरु पनि खुल्लै छन् । यद्यपि, सेयरको किनबेच बढ्न सकिरहेको छैन । न त मूल्य नै बढेको छ । बजारमा सटरहरु सञ्चालनमै छन् । तर, सामान किन्ने चाँहि कोही छैन । बजार कसरी यो अवस्थामा पुग्यो ? कसरी यस्तो समस्या निम्तियो ? भनेर सरकारले अहिलेसम्म अध्ययन गरेके छैन । निजी विद्यालय तथा कलेजम विद्यार्थीहरु घट्दै गएकाछन् ।
होस्टेलहरु पनि धमाधम खाली भइरहेका छन् । बुढोपाकाले भन्थे, ‘जिन्सीभन्दा पनि नगद ठुलो हो ।’ बजारमा पैसाको अभाव छ । सर्वसाधारण, व्यापारीले पैसा लुकाइसके । उनीहरुले कुनै पनि क्षेत्रमा लगानी गरेका छैनन् । घरमै राखेका छन् । पैसा हुने त लुकाइहाले पैसा नहुनेसँग त हिजो पनि थिएन र आज पनि छैन ।
अहिले बैंक तथा वित्तिय संस्थामा आफ्नो निक्षेप निकाल्न बचतकर्ताहरुको लाम लागेको छ । बैंक डुबिसक्यो, टाट पल्टिसक्यो भनेर सर्वसाधारणले थाहा पाइसकेका छन् । बैंकका सञ्चालक, सेयर होल्डरहरु आफ्नो सेयर बेचेर बाहिरिन खोजिरहेका छन् । तर, उनीहरुको सेयर किन्ने कोही छैन । पछिल्लो समय बैंकमा बचत गर्ने कोही छैनन् ।
जोकोही आफ्नो निक्षेप निकाल्न मात्र तातिरहेका छन् । सहकारी, लघुवित्त र फाइनान्सले करोडौं बचतकर्ताको खर्बौ रकम डुबाइदियो । बचतकर्ताहरु मर्नु कि बाँच्नु अवस्थामा पुगेका छन् । अहिले बैंक पनि सहकारीकै अवस्थामा पुगेको बताइन्छ । तर, राष्ट्र बैंकले बैंक ठिकठाक रहेको दाबी गर्दै जनतालाई भ्रममा पारिरहेको छ । राष्ट्र बैंकले बैंक डुबेको छैन भनेर जतिसुकै भनेपनि अब जनता पत्याउने छैनन् ।
बैंक तथा वित्तिय संस्थाहरुले उत्पादनमूलक तथा औद्योगिक क्षेत्रमा कर्जा लगानी गरेनन् । सबै लगानी घरजग्गा, गाडी र सेयरमा गरेका छन् । दलालीहरुले बैंकले सय रुपैयाँ कित्तामा निष्काशन गरेको सेयरको मूल्य बढाएर चार हजार पुप्याए । खेतीयोग्य जमिनलाई खण्डीकरण तथा प्लाटिङ गरेर आनाको पाँच हजार पर्ने जमिनलाई ७०/७५ लाखमा बेचे ।
दुई रुपैयाँ किलोमा बिक्री नहुने फलामबाट गाडी बनाएर छिमेकी मुलुक भारतले हामीलाई लाखदेखि करोडौंमा बेच्यो । यीनै क्षेत्रमा सहकारीले घुसको आडमा आँखा चिम्लेर लगानी गर्दा आज मुलुकभरका ३५ हजारभन्दा बढी सहकारीमा करोडौं बचतकर्ताको ३९ खर्ब रकम डुबेको छ । विडम्बना, सरकार अहिले पनि बैंक तथा वित्तिय संस्थामा बत नगर्नुस् भनेर सर्वसाधारणलाई सचेत गराउँदैन ।
सरकार मौन छ । किनकि डुबेपनि जनता त डुब्ने हो आफु होइन भन्ने सरकारलाई लागेको छ । सरकार जनताको अभिभावक हो । हिजो सरकारले नै बैंक, सहकारी, लघुवित्त, फाइनान्स खोल्न लाइसेन्स दियो । यी संस्थाहरुले जनतालाई ठगे, डुबाए । बचतकर्ता र ऋणीलाई घर न घाटको बनाए । अनि अहिले बचतकर्ताहरु डुबेपछि सरकार आफ्नो जिम्मेवारीबाट पन्छिदैं छ ।
सहकारीमा एकै बचतकर्ताको पाँच हजारदेखि पन्ध्र करोडसम्म डुबेको पाइन्छ । घर बेचेर, पुख्र्यौली सम्पत्ति बेचेर, जीवनभर कमाएको वा विदेशमा कमाएको रकम पनि मानिसहरुले सहकारीमा राखेका थिए । अहिले जनताको पैसा डुब्दा सरकारले जिम्मा लिएन । सहरी विभाग, सहकारी मन्त्रालय, अर्थ मन्त्रालय र राष्ट्र बैंक पन्छियो ।
केही दिनअघि मन्त्रिपरिषद् बैठकले सहकारीका सञ्चालकलाई कारबाही गर्न कानून छैन भन्दै नयाँ कानून बनाउने निर्णय
गप्यो । अनि जनताले के को आधारमा सहकारीमा पैसा जम्मा गरेका थिए त ? सहकारीका सञ्चालकहरुले जतिसुकै ठगेपनि उनीहरुलाई कानून नै नलाग्ने ? उनीहरुलाई कारबाही गर्न कानून नै नहुने ?
सरकारले बैंक तथा वित्तिय संस्था खोल्न लाइसेन्स दियो तर यीनीहरुको ठगीधन्दालाई नियन्त्रण गर्न कानून बनाएन । यसबाट त सरकार आफैं जनता डुबाउन लागिपरेको समेत प्रमाणित हुन्छ । सहकारीकै कारण आज करोडौं बचतकर्ताको घरमा रुवाबासी चलेको छ ।
बचतकर्ताहरु सुकुम्बासी अवस्थामा पुगेका छन् । सहकारीकै कारण कतिपयको घरपरिवार लथालिंग बनेको छ । लोग्ने–स्वास्नीको सम्बन्धविच्छेद भएको छ । कतिपय त आत्महत्या गर्नुपर्ने अवस्थामा पुगेका छन् भने कतिपयले गरिपनि सकेका छन् । सरकार दलाली, माफिया, बिचौलियाहरुले चलाएको छ । सरकारलाई जनताको मतलब छैन ।
अर्थमन्त्री, गृहमन्त्री, राष्ट्र बैंकका गर्भनर भन्छन्, ‘बैंक तथा वित्तिय संस्थाको विरोधमा बोलेमा कारबाही गछौं ।’ तर, बचतकर्ताको पैसा खाने बैंक तथा वित्तिय संस्थाका सञ्चालक, अध्यक्षहरुलाई कारबाही गर्छु भन्दैनन् । अहिले जनताको सरकारबाटै विश्वास उठेको छ ।
बैंक तथा वित्तिय संस्थाका कारण पीडित बनेका सर्वसाधारण भन्छन्, ‘अहिलेसम्म सञ्चारकर्मीहरुले हामीलाई साथ दिएका छन् । हाम्रो लागि उनीहरु नै सरकार बनेका छन् । तर, उनीहरुले पनि कतिन्जेल हामीलाई साथ दिइरहने होला र ।’ बैक, सहकारी, लघुवित्त र फाइनान्सका सञ्चालक, अध्यक्ष र कर्मचारीहरुले घुसको आडमा जथाभावी कर्जा लगानी गरे ।
बैंकले दश करोडको धितो राखेर मेडिकल व्यवसायी दुर्गा प्रसाईलाई एक अर्बभन्दा बढी ऋण दिएको बताइन्छ । यता, भाटभटेनीका साहु मीनबहादुर गुरुङले त सरकारी जग्गा नै धितो राखेर बैंकबाट अर्बौ ऋण लिएको खुलासा भएको छ । यीनीहरु त उदाहरण मात्र हुन् । बैंकले ठुल्ला व्यापारी तथा व्यक्तिलाई बिनाधितो समेत अर्बौ ऋण दिएको सुनिन्छ ।
अझै पनि सर्वसाधारणको आँखा खुलेको छैन । बैंक डुबिसकेको छ । कुन दिन र कसरी भाग्छ भनेर ठेगान छैन । घरजग्गा, गाडी र सेयर दलालीहरुको भागाभाग चलिसकेको छ । सबै क्षेत्रमा मन्दी छ । बजारमा न त घरजग्गा, गाडी र सेयर किन्ने छन् न त व्यापार व्यवासयमा लगानी गर्ने । सटरहरु धमाधम खाली भइरहेका छन् ।
मानिसहरु कोठा छोडेर गाउँ फर्किएका छन् । विदेशिनेहरु पनि उत्तिकै छन् । ०८० सालमा धेरै घटनाहरु भए । तीमध्ये सहकारी डुब्नु र बचतकर्ताहरुको कन्तबिजोग हुनु मुख्य घटना पनि हो । अहिले ०८१ सालमा बैंक डुब्छ भनेर व्यापक चर्चा छ । त्यसैले, वैशाख लागेसँगै बैंकमा पैसा निकाल्नेहरुको चाप बढ्दै गएको छ । अहिले कि त एयरपोर्टमा भीड देखिन्छ कि त बैंकमा । जनताको सरकार र बैंक, वित्तिय संस्थाबाट विश्वास गुमिसकेको छ । शिवशिखर बहुउद्देश्यीय सहकारीले बचतकर्ताको १६ अर्ब रकम हिनामिना गरेको प्रहरीकै अनुसन्धानबाट खुलेको छ ।
यो त एउटा उदाहरण मात्र हो । शिवशिखरजस्तै थुप्रै सहकारीले बचतकर्ताको खर्बौ रकम पचाएका छन् । सरकारले केही दिनअघि दुई दिने लगानी सम्मेलन गप्यो । सम्मेलनमा विदेशी लगानीकर्ताहरुले जम्मा छ अर्ब लगानी गर्ने सम्झौता गरे । तर, भोलि त्यो पनि गर्छन् कि गर्दैनन् ? केही ठेगान छैन ।
राज्यको ढुकुटीमा राजस्व उठ्न छोडिसकेको छ । सरकारले विदेशीसँग २७ खर्ब ऋण लिइसकेको छ । नेपाल विदेशी ऋणले फसिसक्यो र नेपालको अर्थतन्त्र नाजुक अवस्थामा पुगिसक्यो भनेर विश्वले थाहा पाइसकेको छ । अब मुलुकको अर्थतन्त्र सुध्रिन्छ र घरजग्गा, गाडी र सेयरको मूल्य बढ्छ भनेर कसैले विश्वास गर्नै छैनन् ।
किनकि अब मुलुकको अर्थतन्त्र झन्झन् नाजुक अवस्थामा पुग्ने छ । सरकारीबाहेक अन्य निजी बैंकमा रकम जम्मा गरेका बचतकर्ताहरुको निन्द्रा र भोक नै हराएको छ । यी कतिखेर बैंक भाग्छ ? भनेर न सरकारलाई थाहा छ न बचतकर्तालाई ।
त्यसैले, अब बैंकका बचतकर्ताहरुले सहकारीका बचतकर्ताबाट पाठ सिक्नुपर्छ । विकसित मुलुकमा समेत बैंक डुबेको घटना छ । अनि नेपालमा डुब्दैंन भनेर कसरी भन्न सकिन्छ । अब जनता सचेत हुनुपर्छ । आफ्नो पैसाको सुरक्षा आफैंले गर्नुपर्छ ।
जनरक्षा डटकमबाट साभार