Breaking News

जलजलामा कक्षा ८ को नतिजा निराशाजनक : सहभागी २३० जना विद्यार्थी परीक्षामा ७४ जना मात्र उत्तीर्ण

बेनी, बैशाख १९ । पर्वतको जलजला गाउँपालिकामा सामुदायिक तथा संस्थागत विद्यालयहरुको नतिजा निराशाजनक देखिएको छ । गाउँपालिका आफैले कक्षा ८ को परीक्षा संचालन गरी उत्तरपुस्तिका जाँच समेत गरेर नतिजा प्रकाशित गरेको छ ।

गाउँपालिकाभित्र आधारभूत र माध्यमिक गरी १२ सामुदायिक र दुई संस्थागत गरी १४ विद्यालयका कक्षा ८ मा अध्ययनरत दुईसय ३० जना विद्यार्थी परीक्षामा सहभागी भएका मध्य ७४ जना मात्र उत्तीर्ण भएका छन् । ती मध्य दुईवटा विद्यालयको नतिजा शून्य रहेको छ ।

गाउँपालिकाको शिक्षा शाखाले सार्वजनिक गरेको नतिजा अनुसार अधिकांश विद्यालयको उत्तीर्ण संख्या न्यून छ । परीक्षा दिएका मध्य एकसय ५६ जना विद्यार्थी कक्षा ८ अनुत्तीर्ण भएको शिक्षा शाखाका अधिकृत यज्ञप्रसाद लामिछानेले जानकारी दिए ।

परीक्षा संचालनका लागि गाउँपालिकाले परीक्षा केन्द्र तोकेर केन्द्राध्यक्षको समेत व्यवस्था गरी अनुगमन गर्ने व्यवस्था मिलाएर परीक्षाको सबै प्रक्रिया पुरा गरेकाले वास्तविक नतिजा आएको उनले बताए ।

सबै उत्तरपुस्तिकालाई गाउँपालिका केन्द्रमा संकलन पश्चात कोर्डिङ गरेर विषय विशेषज्ञ शिक्षकबाट उत्तरपुस्तिकाको जाँचेर नतिजा सार्वजनिक गरिएकाले अघिल्लो वर्ष भन्दा यस वर्षको नतिजा फरक आएको उनको भनाई छ ।

गाउँपालिकाले दिएको जानकारी अनुसार शालिजा माध्यमिक विद्यालयबाट १४ जना विद्यार्थी परीक्षामा सहभागी भएकामा सबै फेल भएका छन् । यस्तै ९ जना विद्यार्थी सहभागी भएको ज्योती माविका सबै विद्यार्थी फेल भए ।

यस्तै विद्याज्योती माविबाट ३९ जना विद्यार्थी परीक्षामा सहभागी भएका मध्य एकजना मात्र उत्तीर्ण भए । कृष्ण भवन धर्म माविमा १२ जनाले परीक्षा दिएकोमा एकजना मात्र उत्तीर्ण भएको शिक्षा अधिकृत लामिछानेले बताए। बनौं माविमा १५ जना सहभागी भएकोमा तीन जना मात्र उत्तीर्ण, शिव माविमा १३ जनाले परीक्षा दिएकोमा तीन जना मात्र उत्तीर्ण, शान्ति आधारभूत विद्यालयमा ६ जनाले परीक्षा दिएकोमा दुईजना मात्र पास भए ।

फर्से धाईरिङ माविमा १३ जनाले परीक्षा दिएकोमा तीन जना मात्र उत्तीर्ण, ज्योती मण्डल माविमा १३ जनामा ८ जना विद्यार्थी पास भएका छन् । यसैगरी लुङ्दी आधारभूत विद्यालयमा १३ विद्यार्थी परीक्षामा सहभागी भएको मध्य तीन जना मात्र उत्तीर्ण भए । जनकल्याण माविमा २५ जनाले परीक्षा दिएकोमा १५ जना उत्तीर्ण भएका छन् । ग्राम प्रकाश माविमा २२ जना विद्यार्थी परीक्षामा सहभागी भएकामा ८ जना मात्र उत्तीर्ण गरेको शिक्षा शाखाले जनाएको छ ।

यस्तै संस्थागत विद्यालयको नतिजा पनि सन्तोषजनक देखिएको छैन । न्यू होराइजन माविमा २३ जनाले परीक्षा दिएकोमा १३ जना पास भए । अमृत आदर्श माविमा २१ जनामा १८ विद्यार्थी पास भए ।

कक्षा ८ को नतिजालाई मुल्याङ्कन गर्दा अत्यन्त निराशाजनक स्थित देखिएको गाउँपालिकाका अध्यक्ष राजुप्रसाद आचार्यले
बताए । उनले भने, कक्षा ८ को नतिजालाई गम्भिर रुपमा लिएका छौं । नतिजाले शिक्षा क्षेत्रमा राज्यले गरेको लगानी बालुवामा पानी जस्तै भएको छ । गाउँपालिकाले शैक्षिक गुणस्तर सुधारका लागि ठोस कदम चाल्नुपर्ने बाध्यता सिर्जना गरेको छ । उनका अनुसार अन्य कक्षाहरुको नतिजा पनि राम्रो नदेखिएको बताए ।

यसपाली गाउँपालिका आफैले उत्तरपुस्तिका जाँचेको थियो र नतिजा वास्तविक आएको हो। यो नतिजाले सबैलाई झस्काइदिएको पनि छ । आगमी दिनमा सुधार गर्ने ठोस योजना बनाउन आवश्यक छ । कोभिड–१९ को प्रभाव र अघिल्ला वर्षहरुमा स्वतः पास हुने प्रचलनका कारण विद्यार्थीहरुमा पठन संस्कृति हस हुँदै जानुले नतिजा निराशाजनक देखिएको शिक्षा अधिकृत लामिछानेले बताए ।

कक्षा ८ को परीक्षा नतिजा निराशाजनक देखिएपछि गाउँपालिकाले आज वार्षिक परीक्षाको नतिजाको विश्लेषण र आगामी शैक्षिक कार्ययोजनाका बारेमा सरोकारवाला हरुकाबीच बृहत शैक्षिक अन्तरक्रिया कार्यक्रमको आयोजना समेत गरेको पालिका प्रमुख प्रशासकीय अधिकृत फणीन्द्र प्रसाद आचार्यले बताए ।

लेखक : कृष्णबहादुर कार्की