बझाङमा प्रदेश सभा क्षेत्र नम्बर १ (१) को पछिल्लो मतगणनाअनुसार नेपाली कांग्रेसका अभिषेक सिंहले अग्रता गरेका छन्।
हिजोराती सम्म एमालेका दमन भण्डारीले अग्रता लिएको भएपनि आज बिहानबाट काँग्रेसले अग्रता लिएको हो ।
एमाले उम्मेदवार दमनले कांग्रेसका सिंह भन्दा २६४ मतले पछि छन्।
निर्वाचन आयोगका अनुसार अहिलेसम्मको मतगणनामा कांग्रेसका सिंहले सात हजार ४ सय ९२ मत ल्याएका छन्। उनलाई एमाले उम्मेदवार भण्डारीले सात हजार २ सय २८ मत प्राप्त गरेर पछ्याइरहेका छन्।
त्यस्तै, माओवादीका जनकबहादुर बुढाले २ हजार ८ सय १५ मत ल्याएर तेस्रो स्थानमा छन् भने चौथो स्थानमा रहेका एकीकृत समाजवादीका दिलबहादुर सिंहले २ हजार १ सय २ मत पाएका छन्।
अहिलेसम्म जयपृथ्वी नगरपालिका, खप्तडछान्ना गाउँपालिका, छबिसपाथिभेरा गापा, थलारा गाउँपालिका ९ र सुर्मा गाउँपालिको मत गणना भएको छ।
अब तल्कोट, साइपाल र मष्टा गाउँपालिकामा मात्रै मतगणना गर्न बाँकी छ। मष्टाको मतगणना सुरू भएको छ।
यहाँ शनिबार भएको मतदानमा ३० हजार ३ सय २८ जनाले मतदान गरेका थिए।
२०७९ मा भएको निर्वाचनमा कांग्रेसका पृथ्वीबहादुर सिंहले १७ हजार ११२ मत ल्याएर जितेका थिए। यहाँ एमालेका उम्मेदवार अफिलाल ओखेडाले १३ हजार ३३६ मत ल्याएका थिए।त्यस बेला यहाँ तत्कालीन सत्ता गठबन्धनबाट कांग्रेसका सिंह साझा उम्मेदवार थिए।