एन्फा उपाध्यक्ष दावा लामा पक्राउ

काठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा) का उपाध्यक्ष दावा लामा पक्राउ परेका छन् । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी सोमेन्द्रसिंह राठौरका अनुसार लामा बुधबार काठमाडौँबाट पक्राउ परेका हुन् ।

लागु औषध खैरो हिरोइनको कारोबारको सम्बन्धमा तत्कालीन पुनरावेदन अदालत पाटनले २०६४ साल जेठ २० गते फैसला सुनाउँदै लामाले लागु औषधको कारोबार गरेको ठहर गरी उनलाई ५ वर्ष कैद र ५ हजार रुपैयाँ जरिवानाको फैसला सुनाएको थियो ।

पुनरावेदन अदालत पाटनको उक्त निणर्यविरुद्ध दावा पुनरावेदन लिएर सर्वोच्च अदालत गएका थिएनन् । सर्वोच्च अदालतले गत माघ १२ गते काठमाडौँ जिल्ला अदालतलाई लेखेको पत्रमा उच्च अदालत पाटनको फैसला अन्तिम भई बसेको र लामाले सर्वोच्चमा पुनरावेदनको निवेदन नदिएको उल्लेख गरेको थियो । यससँगै लामा उच्च अदालतको फैसला कार्यान्वयनका लागि जेल जानुपर्ने निश्चित भएको थियो । यससम्बन्धी समाचार रातोपाटीमा प्रकाशित भएको थियो ।