इरानले इजरायलमाथि ड्रोन र क्षेप्यास्त्रद्वारा हमला

काठमाडौं । इरानले इजरायलमाथि ड्रोन र क्षेप्यास्त्रद्वारा हमला गरेको छ । इजरायली सेनाका अनुसार तेहरानले इजरायलतर्फ दुई सयभन्दा क्षेप्यास्त्र र ड्रोन प्रहार गरेको छ । तीमध्य धेरैजसोलाई निस्तेज पारेको इजरायली सेनाले जनाएको छ ।

मानिसहरूले जेरुसेलम र अन्य स्थानहरूका आकाशमा विस्फोटनको आवाज सुनेको बताएको बीबीसीले उल्लेख गरेको छ । इरानको आक्रमणबाट इजरायलको राजधानी जेरुसेलम तनावग्रस्त बनेको बताइएको छ ।

इरानको रिभोल्युशनरी गार्डले विज्ञप्ति जारी गर्दै ती हमलालाई ‘इजरेली अपराध’को जबाफ बताएको बीबीसीले जनाएको छ । जसमा उसले अप्रिलको सुरुमा सिरियास्थिति इरानी कूटनीतिक परिसर ध्वस्त पार्ने गरी भएको हमलालाई समेत उल्लेख गरेको छ ।

इजरेली प्रधानमन्त्री बेन्जमिन नेतन्याहूले इजरेलले दिने जबाफबारे छलफल गर्न ‘वार क्याबिनेट’को बैठक बोलाएका छन् । यसअघि इजराइली डिफेन्स फोर्सेस आईडिएफले ‘तेहरानले अवस्थालाई थप चर्काउन खोजेकाले नतिजा’ झेल्नुपर्ने चेतावनी दिएको थियो ।

इरानले आफूले थप हमलाहरू नगर्ने भन्दै इजरेली जबाफ वा अमेरिकाको अन्य कुनै संलग्नताविरुद्ध चेतावनी दिएको अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरुले बताएका छन् ।