पार्टीमा अझै २० वर्ष कसैले आस नर्गदा हुन्छ

अध्यक्ष केपी शर्मा ओली

पोखरा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पोखरामा कास्की जिल्ला कमिटीको उद्घाटन गर्दै भने, पार्टीमा अझै २० वर्ष कसैलाई आस नगर्न भनेका छन् । अध्यक्ष ओलीले निर्वाचितहरुलाई शपथ कार्यक्रमलाई सम्बोधन गर्दै यसो भनेका हुन् ।

अध्यक्ष ओलीले भने, कसैले एमालेबिनाको नेपाल भने । कसैले केपी ओलीबिनाको एमाले भने, दया लागेर आउँछ । केपी ओली नभइदिएको भए यसो गर्छु, उसो गर्छु भन्ने लाग्या होला,’ पोहोर परार मेरो सबै कपाल झरेको थियो । अहिले कपाल पलाउन थालेको छ। रोपेको होइन आफै पलाउन थालेको छ । २० वर्ष जति अरू कसैले आस नगरे पनि हुन्छ ।’

उनले कांग्रेस–माओवादी गठबन्धन आफैँले तोडेको बताए । विदेशीको इसारामा गठबन्धन तोडिएको आरोप लागिरहेका बेला उनले देशभित्रैबाट गठबन्धन तोडेको बताएका हुन् । ‘हामी मिसन ८४ भनेर अघि बढिरहेका छौँ । एउटा गठबन्धन तोड्दियौँ,’ उनले भने, ‘गठबन्धन विदेशीले होइन हामीले फुटाएका हौँ । यो समीकरण बनाउन हामी सक्थ्यौँ, हामीले नै बनाएका हौँ ।’

अघिल्लो गठबन्धन निकम्मा र भ्रष्ट भएको आरोप उनले लगाए । ‘दक्षिणपन्थी, निकम्मा, भ्रष्ट गठबन्धन देशका लागि दुर्भाग्य थियो । एमालेको सरकार ढालेपछि देश ओरालो लागेको लागै थियो, त्यस सरकारलाई हटाउनै पर्ने भयो ।

उनले गण्डकी एमालेको किल्ला र कास्की किल्लाको राजधानी भएको दाबी गरे । ‘एमालेका लागि गण्डकी लाल किल्ला हो । कास्की लाल किल्लाको राजधानी हो । कास्की आउँदा आफ्नै घर आएजस्तो लाग्छ,’ उनले भने ।

ओलीले अधिवेशनपछि पार्टीमा एकता बढ्दै गएको भन्दै अप्ठ्यारा चिर्दै अघि बढ्न नेता कार्यकर्तालाई सुझाए । कास्कीको आगामी २ वर्षको नेतृत्व वैनबहादुर अधिकारीले पाएका छन् ।

निकटतम प्रतिस्पर्धी माधव बास्तोलालाई हराएर उनको प्यानल नै निर्वाचित भएको छ ।