चार नाकाबाट भारतबाट करिब २६ हजार नागरिक भित्रिय

१३ जेठ, धनगढी । सुदूरपश्चिम प्रदेशका चार नाकाबाट दुई सातामा भारतबाट २६ हजार नागरिक भित्रिएका छन् ।

२ जेठयता कैलाली, कञ्चनपुर, बैतडी र दार्चुलाबाट २६ हजार १५० जना नेपाल आएका हुन् । उनीहरुमध्ये धेरै कैलालीको गौरिफन्टा नामाबाट भित्रिएका छन् ।

कैलालीको गौरिफन्टा नाकाबाट मात्रै १९ हजार ४ सय ८३ जना भित्रिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । प्रहरी नायव उपरीक्षक दक्ष बस्नेतकाअनुसार मंगलबार एकैदिन यो नाकाबाट ५०१३ जना नेपाल भित्रिएका हुन् ।

कञ्चनपुरको गड्डाचौकी र दोधरा चादँनीबाट ५ हजार ९७० भित्रिएको जिल्लाप्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक रबिन्द्र पौडेलले बताए । उनले भने, ‘हामीले सम्बन्धित स्थानीय तहमा पठाइरहेका छौं ।

प्रदेशको पहाडि जिल्लाका सीमा नाकाबाट पनि नागरिक नेपालभित्रिरहेका छन् । ‘दार्चलाको नाका हुँदै ७ गते ३१९जना आएका थिए, त्यसपछि आएनन्’ दार्चुलाका प्रहरी प्रमुख पदमबहादुर बिष्टले भने, ‘आएका सबैलाई क्वारेन्टाइनमा राखेका छौं ।

बैतडीकाको झुलाघाट नाकाबाट पनि ३७८ जना आएको प्रहरी प्रमुख डिल्लीनारायण पाण्डेले जानकारी दिएका छन् । ‘हामीले सिमामा पुगेकालाई उद्धार गरिरहेका छौँ’ उनले अनलाइनखबरसँग भने, ‘त्यसपछि कोही आएका छैनन् ।

परीक्षणमा समस्या

प्रदेशका ४ नाकाबाट २६ हजारबढी नेपाल प्रवेश गरेपनि अधिकांशको स्वास्थ्य परीक्षण भएको छैन ।

जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले आडीटी किटको अभावले भारतबाट आउने अधिकांशको स्वास्थ्य परीक्षण हुन नसकेको स्वीकार गरे । ‘सुरुका केहि दिनमा सीमा क्षेत्रमै आरडीटी परीक्षण गरिएको थियो । अहिले किट नहुँदा सीमामै परीक्षण भएको छैन’ उनले भने ‘स्थानीय तहले अनिवार्य स्वास्थ्य परीक्षण गराउने भनेपछि हामीले पठाइरहेका छौं ।