वागमती प्रदेशको मुख्यमन्त्रीमा आलोपालो सहमति

१९ चैत, काठमाडौं । सत्तारुढ दलहरुबीच वागमती प्रदेशको मुख्यमन्त्रीमा आलोपालो गर्ने सहमति भएको छ । यससँगै मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले विश्वासको मत पाउने भएका छन् ।

एकीकृत समाजवादी संसदीय दलको आइतबार बसेको बैठकले सरकारको नेतृत्वमा आलोपालो नभए विश्वासको मत नदिने अडान लिएपछि मुख्यमन्त्री जम्मकट्टेल दबावमा परेका थिए । किनकी आज सोमबार १ बजे प्रदेशसभामा उनले विश्वासको मत लिने कार्यसूचि थियो ।

प्रदेश सरकार अठ्यारोमा परेपछि सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा सत्ता गठबन्धनका नेताहरुबीच छलफल भयो । त्यहाँ आलोपालोमा एकीकृत समाजवादीले पनि मुख्यमन्त्री लिने सहमति भएको एक नेताले जानकारी दिए । आलोपालोमा एकीकृत समाजवादीलाई पनि समेट्ने भन्ने भएको छ । अहिले माओवादी नेतृत्वको सरकारले निरन्तरता पाउने छ ।

नेताहरुका अनुसार सुदूरपश्चिममा पनि एकीकृत समाजवादीले मुख्यमन्त्रीमा पालो पाउनेछ । यो सहमतिअनुसार एमाले, माओवादी र एकीकृत समाजवादीमध्ये पहिलो पालो एकीकृत समाजवादीले पाउनेछ । तर तीन दलको मात्र बहुमत नपुग्ने भएकाले नेताहरुले नागरिक उन्मुक्ति पार्टी (नाउपा) को समेत समर्थन खोजेका छन् । त्यसका लागि पहिलो पालोमा मुख्यमन्त्री दिने सत्ता गठबन्धनको प्रस्ताव छ ।

तर नाउपाभित्र विवाद छ । अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीले नयाँ गठबन्धनको पक्षमा निर्णय गरेकी छन्, तर ७ प्रदेश सांसद भएको नाउपाका ५ जना कांग्रेस नेतृत्वको अहिलेको सरकारमा सहभागी छन् ।