१३ जेठ, काठमाडौं । सरकारले नेपालको सम्पूर्ण भूभाग समेटिएको राजनीतिक तथा प्रशासनिक नक्सा सार्वजनिक गरेसँगै सङ्घीय संसद्को प्रतीकचिह्न परिवर्तन गरिएको छ ।
लिम्पियाधुरा, लिपुलेक र कालापानीको भू–भाग समेटिएको नक्सासहितको लोगो परिवर्तन गरिएको हो । सङ्घीय संसद्का दुवै सदनको कार्यव्यवस्था परामर्श समितिको केही दिनअघिको बैठकले सङ्घीय संसद्को लोगो र सांसदले प्रयोग गर्ने लोगोमा नेपालको अद्यावधिक नक्सा राख्ने निर्णय गरेको थियो ।
सरकारले यही जेठ ७ गते भारतले अतिक्रमण गरेको लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र समेटेर नयाँ राजनीतिक तथा प्रशासनिक नक्सा सार्वजनिक गरेको थियो । नयाँ नक्सा सार्वजनिक भएसँगै सरकारले संविधानको अनूसूची–३ मा रहेको नेपालको निसान छाप परिवर्तन गर्न संविधान संशोधन प्रस्ताव संसद्मा दर्ता गरिसकेको छ ।
रासस