नेपाली क्रिकेट टिमले भारतको स्टेट टिम गुजरातलाई ८ विकेटले पराजित

आइसिसी टी-२० विश्वकप २०२४ को तयारीका लागि भारतमा रहेको नेपाली क्रिकेट टिमले भारतको स्टेट टिम गुजरातलाई ८ विकेटले पराजित गरेको छ।

आज भएको खेलमा गुजरातले दिएको ९९ रनको लक्ष्य नेपालले १५.२ ओभरमा २ विकेट गुमाएर पार गर्‍यो।

नेपालका ओपनरद्वय कुशल भुर्तेल १७ रन र आसिफ शेख १६ रन जोडेर आउट भएका थिए।

अनिलकुमार साहले नटआउट ३२ रन र कप्तान रोहितकुमार पौडेलले नटआउट ३३ रन बनाए। अनिलले ३५ बलमा ३ चौका र १ छक्का तथा रोहितले २६ बलमा ३ चौका प्रहार गरे।

गुजरातमा सुरु सिरिजमा नेपालले गुजरात र बरोडासँग दुई दुई वटा टी-२० खेल खेल्नेछ।

एसएमएस फ्रेन्डसिप कप २०२४ नाम दिइएको प्रतियोगिताको शीर्ष दुई टिमबीच उपाधि भिडन्त हुनेछ।

नेपाली टिम भारतमा तयारी गरेपछि उतैबाट एसिसी प्रिमियर कप खेल्नका लागि ओमान जाने कार्यक्रम छ।

टी-२० विश्वकप आगामी जेठ दोस्रो सातादेखि अमेरिका र वेस्ट इन्डिजमा हुँदैछ।