सर्वोच्च अदालतले पशुपति क्षेत्रभित्र इन्जिनबाट चल्ने सवारी साधनमा रोक

१६ चैत, काठमाडौं । सर्वोच्च अदालतले पशुपति क्षेत्रभित्र इन्जिनबाट चल्ने सवारी साधनमा रोक लगाउन सरकारका नाममा आदेश जारी गरेको छ ।

पशुपति क्षेत्र पूरातात्विक महत्वका साथै धार्मिक, सांस्कृतिक सम्पदा भएको भन्दै सर्वोच्चले पशुपति क्षेत्रभित्र सवारीसाधन चल्ने कुनैपनि बाटो नखोल्न पनि आदेश दिएको छ ।

त्यस्तै खोलिसकेको भए बाटो बन्द गर्न र त्यस्तो बाटोमा इञ्जिनबाट चल्ने सवारीसाधन नचल्ने सुनिश्चितता गर्न पनि आदेश दिएको छ ।

न्यायाधीश ईश्वरप्रसाद खतिवडा र नहकुल सुवेदीको इजलासले गत ७ माघमा गरेको फैसलाको पूर्णपाठ बिहीबार सार्वजनिक भएको छ ।

आदेशमा भनिएको छ, ‘वनकाली, मृगस्थली, श्लेषमान्तक वन क्षेत्रभित्र पर्नेगरी तिलगंगा–गोठाटार (ताम्रगंगा) जाने भनिएको बाटो लगायत पाशुपत क्षेत्रभित्रको अन्य स्थानमा समेत इन्जिनबाट चल्ने कुनै पनि प्रकारको सवारी साधन सञ्चालन हुन सक्ने गरी बाटो निर्माण नगर्न ।’

श्लेषमान्तक वनको केही भागमा व्यक्तिहरुले शव गाड्ने परम्परा छ । सर्वोच्च अदालतले एक वर्षभित्र शव गाड्ने वैकल्पिक स्थानको पहिचान गर्न पनि आदेश दिएको छ । उसले एक वर्षपछि श्लेषमान्तक वनमा शव गाड्न र फाल्न नपाउने व्यवस्था गर्न आदेश दिएको छ ।

पशुपति क्षेत्रमा पुरातात्विक महत्वका सम्पदा, वन बुट्यान, जीवजन्तु, चराचुरुङ्गीको बासस्थान रहेको र तिनको संरक्षण गर्नुपर्ने भन्दै सर्वोच्चले वनकाली, मृगस्थली, श्लेषमान्तक लगायतका वनक्षेत्रमा सर्वसाधारणको प्रवेशलाई समेत रोक लगाउन आदेश दिएको छ ।

फैसलाको पूर्णपाठमा भनिएको छ, ‘लास गाड्ने वैकल्पिक उपयुक्त स्थानको पहिचान गरी एक बर्ष पछिदेखि श्लेषमान्तक वनक्षेत्रमा लास गाड्न, फाल्न नपाउने व्यवस्था मिलाउनू । पाशुपत क्षेत्रभित्र कुनैपनि प्रकारको फोहोरमैला जम्मा हुन नदिई तत्काल सफाइ गर्ने भरपर्दो व्यवस्था मिलाउनू ।’

ती क्षेत्रमा भक्तालु र पर्यटकको आवतजावतका लागि पैदल हिँड्ने बाटो बनाउन आदेश दिदै सर्वोच्च अदालतले सर्वसाधारणलाई वन बाटिकामा प्रवेश गर्न नदिन आदेश दिएको छ ।